त्रुटि सच्याएर समानुपातिक बन्दसूचीको अन्तिम नामावली बुझायौं : महासचिव गुरुङ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रुटि सच्याएर समानुपातिक बन्दसूचीको अन्तिम नामावली बुझायौं : महासचिव गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार सुरुको बन्दसूचीमा रहेका प्राविधिक त्रुटि सच्याएर अन्तिम नामावली बुझाएको हो । 

समानुपातिकतर्फको अन्तिम नामावली बुझाउने अन्तिम दिन आइतबार सबै राजनीतिक दलहरूले आ-आफ्नो समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगलाई बुझाइरहेका छन् । 'पहिले बुझाएको नामहरूमा खासै संशोधन थिएन । विभिन्न खालका प्राविधिक त्रुटिहरू मिलाउने, उम्मेदवारका कागजात बुझाउनुपर्ने थियो; त्यो गरिएको छ,' उनले भने ।

माओवादीको समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभातर्फ उपाध्यक्ष कृष्णबहादुर महरालगायत नेताहरू रहेका छन् । बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबाट माओवादीको समानुपातिक बन्दसूचीमा गंगानारायण श्रेष्ठलगायत पाँच नेताको नाम प्राथमिकतामा राखिएको छ ।

प्रकाशित : आश्विन १६, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले आयोगमा बुझायो संशोधित समानुपातिक बन्दसूची

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिएका छन् । 

पौडेलका अनुसार पार्टीभित्र प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको उनको भनाइ छ ।

'समानुपातिकको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छौं,' उनले भने, 'कांग्रेसभित्र देखिएको पछिल्लो विवाद पनि समाधान गरेर संशोधनसहित समानुपातिक बन्दसूची बुझाइसकेका छौं ।'

कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाँण, प्रवक्ता प्रकाशशरण महत, पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधी, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनील रुंगाटालगायतको नाम थियो ।

महिलातर्फ राणा पहिलो नम्बरमा थिइन् । समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई प्राथमिकतामा नराखेको भन्दै शेखर कोइराला समूह विरोधमा उत्रिएको थियो ।

प्रकाशित : आश्विन १६, २०७९ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×