१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गोरखा दरबारबाट हनुमानढोका दसैंघरमा फूलपाती पठाइयो

हरिराम उप्रेती

गोरखा — काठमाडौंस्थित हनुमाढोका दसैंघरमा भित्राउन फूलपाती गोरखाबाट पठाइएको छ । हनुमानढोका फूलपाती पठाउन आइतबार बिहान गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फूल र पाति संकलन गरेका थिए ।

गोरखा दरबारबाट हनुमानढोका दसैंघरमा फूलपाती पठाइयो

वर्षौंदेखिको परम्परलाई निरन्तरता दिँदै गोरखा दरबारबाट फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।

गोरखा दरबारको फूलपाती हनुमानढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत मोटरबाटो भएर फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको हो । सडक सञ्जाल नखुल्दासम्म एकीकरण पदमार्ग अन्तर्गत गोरखाबाट धादिङको केबलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । पृथ्वीनारायण शाहले राज्य विस्तारसँगै राजधानी सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको अग्रजहरु बताउँछन् ।

आइतबार बिहान धिमेवाजा, फूलपातीको डोली लावालस्करसहित हर्षोल्लासका साथ गोरखाबाट फूलपाती पठाइएको छ । वर्षौंदेखिको फूलपाती काठमाडौं पठाउने परम्पराको निरन्तरताले धार्मिक, संस्कृतिको संरक्षण सँगै पर्यटकीय प्रवर्द्धनमा पनि सघाउ पुर्‍याउने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए । ‘गोरखा दरबार र काठमाडौंको दरबारसँग जोड्ने यो ऐतिहासिक र इतिहास पनि सम्बन्धित छ,’ उनले भने ।

दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज हिन्दु धर्मालम्वीहरुले घर–घरमा फूलपाती भित्राउँछन् । केरा, हलेदो, दारीम, अशोक, जयन्ती, माने, वेल, उखु, धानको वाला वा अन्य नयाँ पालुवासमेत फूलपातीको रुपमा शुभसाइतको प्रतीक मानी दसैंघर वा पूजाकोठामा भित्राउने प्रचलन छ ।

प्रकाशित : आश्विन १६, २०७९ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?