१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ठेक्का टुंगिएन, चामल आएन

हरिराम उप्रेती

गोरखा — टेन्डर प्रक्रिया नटुंगिँदा यस वर्ष दसैं लाग्दासम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले उत्तरी गोरखामा चामल ढुवानी सुरु गरेको छैन । चालु आर्थिक वर्ष सिर्दिबासका लागि ३५ सय र माछाखोलाका लागि ५ सय क्विन्टल कोटा स्विकृत भएको छ । तर ठेक्काको टुंगो नलाग्दा चालु वर्षको दुई महिनासम्म चामल ढुवानी हुन सकेको छैन । ठेक्काका सबै प्रक्रिया सकेर कात्तिक दोस्रो सातापछि चामल ढुवानी हुने कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।

चालु आवमा गोरखा शाखाबाट चामल ढुवानीका लागि प्रगति निर्माण सेवाले ठेक्का पारेको छ । ‘ठेकेदारसँग सम्झौता बाँकी छ, असोज २५ भित्र ठेक्का सम्झौताका लागि समय दिएका छौं,’ सुनारले भने, ‘सम्झौतापछि बल्ल चामल ढुवानी सुरु हुने भएकाले थोरै ढिला भयो, अब सबै प्रक्रिया सकेर कात्तिक आधाआधीतिर चामल ढुवानी सुरु हुन्छ ।’

सिर्दिबास डिपोमा गत वर्ष ढुवानी भएको करिब १ सय २० क्विन्टल चामल मौज्दात रहे पनि माछाखोला डिपोमा चामल रित्तिएको छ । सिर्दिबास डिपोमा गत आवमा ढुवानी भएर मौज्दात रहेको ५ सय क्विन्टल चामल यसअघि तीन पटक बिक्री गरिएको सुनारले बताए । यस वर्ष सिर्दिबास डिपोमा २ हजार क्विन्टल गोरखा शाखा र १५ सय क्विन्टल तनहुँस्थित विमलनगरबाट ढुवानी हुने उनले बताए । धानखेती नहुने उत्तरी गोरखाका बासिन्दालाई सहजताका लागि सरकारले ढुवानी अनुदानमा स्थानमा चामल बिक्री गर्दै आएको छ । अघिल्लो वर्ष २०७८/७९ मा पनि कम्पनीले ३ पटक लगाएर ठेक्का गरेको थियो । गतवर्ष भने सिर्दिबास डिपोमा कोटा अनुसारको सबै चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।

सिर्दिबास डिपोबाट छेकम्पार, चुम्चेत, सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँका स्थानीयका लागि चामल बिक्री हुने गरेको छ । यहाँका बासिन्दाले अहिले खच्चडबाट ढुवानी भएको बजारको चामल उपभोग गर्दै आएका छन् । व्यापारीले खच्चडको ढुवानी भाडाको समेत मूल्य जोडेर बिक्री गर्दा खाद्यको भन्दा बजारको चामलको मूल्य बढी पर्न जाने स्थानीय बताउँछन् ।

लोक्पा पहिरोका कारण छेकम्पार र चुम्चेतमा बजारको चामल पनि पुग्न सकेको छैन । दुई महिनाअघि लोक्पामा झरेको पहिरोले खच्चड कट्न नसकेपछि भण्डारण गरिएको चामलको भर रहेको छेकम्पारका तेन्जिङ लामाले बताए । दुई वडामा ‘स्टक’ चामल पनि सकिँदै जान थालेको उनले बताए । नेपाली सेनाले लार्के जोड्ने सडकको ट्रयाक खुलेसँगै माछाखोलासम्म गाडी चल्न थालेपछि खाद्यको गोदामबाट बिक्री घटेको छ । माछाखोलामा अघिल्ला वर्षको तुलनामा कोटा पनि घटेको छ । माछाखोला डिपोबाट धार्चे गाउँपालिकाका बासिन्दालाई खाद्यान्न बिक्री हुँदै आएको छ । स्थानीय तहका जनप्रतिनिधिको सिफारिसमा उक्त क्षेत्रका बासिन्दालाई चामल उपलब्ध गराउने प्रावधान छ ।

यसैबीच, कम्पनीले दसैं, तिहार, छठ पर्वलाई लक्ष्य गरेर सञ्चालन गरेको सहुलियत पसलबाट जिरोमसिनो ११८ क्विन्टल र सोना मन्सुली चामल ११ क्विन्टल बिक्री गरेको छ । कम्पनीको शाखा कार्यालय गोरखाबाट चामल खरिद गर्दा प्रतिकलो सात रुपैयाँ छुट दिइएको सुनारले जानकारी दिए । ‘सहुलियत पसलबाट प्रतिकिलो ५२ रुपैयाँ रहेको सोना मन्सुली चामल ४५ र ६७ रुपैयाँ प्रतिकिलो रहेको स्टिम जिरा मसिनो ६७ रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने । शाखाको गोदाममा सोना मन्सुली चामल २६१ क्विन्टल र स्टिम जिरा मसिनो चामल १०० क्विन्टल मौज्दात चामल बिक्री गरिएको हो । सहुलियत मूल्यको चामल एक बोराका दरले मात्र उपलब्ध गराइएको पनि उनले बताए । असोज १ मा सुरु भएको सहुलियत मूल्यको पसल कात्तिक १५ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : आश्विन १६, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?