जसपाद्वारा सत्तारुढ दलसँग मित्रवत् प्रतिस्पर्धा र अरु दलसँग मिल्ने निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँगै मित्रवत् प्रतिस्पर्धा तथा अरु दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । 

जसपाद्वारा सत्तारुढ दलसँग मित्रवत् प्रतिस्पर्धा र अरु दलसँग मिल्ने निर्णय

जसपाको शनिबार बसेको केन्द्रीय कार्यकारिणीको बैठकले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ । जसपाका प्रवक्ता मनीषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै पार्टी एक्लै चुनावमा जानेसम्मका निर्णय गरिएको जानकारी दिएका छन् ।

'हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको,' जसपाको बैठकको निर्णयमा भनिएको छ, 'यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ । सो पनि हुन नसकेको अवस्थामा जसपा, नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।'

सत्तारुढ गठबन्धनमा रहेका अन्य दलहरूले जसपालाई मागेअनुसारको सिट संख्या नदिएकाले उक्त निर्णय लिनुपरेको नेताहरूले बताएका छन् । 'हामीलाई दिने भनेको सिट संख्या न्यून देखिएको विषयमा कार्यकारिणी बैठकमा चर्चा भयो । त्यसो भए अरु दलहरूसँग गठबन्धन गर्ने वा एक्लै लड्ने निर्णय भएको हो,' कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादवले भने, 'सहमति हुन नसकेको निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने समझदारी गठबन्धनका दलहरूमा यसअघि नै भएको छ ।'

सत्तारुढ गठबन्धनका दलहरूले जसपालाई मागेजति सिट दिन नसक्ने भनेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव पछिल्लो समय असन्तुष्ट थिए । यसैबीच उनले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएर यस्तो निर्णय लिएका हुन् । स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच सहमति हुन नसकेको क्षेत्रमा प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित : आश्विन १५, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?