१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत होउले नेपालमा के-के गरे ?

अमेरिकी राजदूत बेरीपछि चिनियाँ राजदूत होउ पनि फर्किँदै
जगदीश्वर पाण्डे

काठमाडौँ — आफ्नो झन्डै चार वर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत र्‍यान्डी बेरी नेपालबाट आइतबार स्वदेश फर्किँदै छन् । उनी नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस भएसँगै नेपालबाट अमेरिका फर्किन लागेका हुन् । नेपालबाट अमेरिकी राजदूत बेरी स्वदेश फर्किएको समाचार आउँदै गर्दा नेपालको उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छी पनि आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी छन् ।

अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत होउले नेपालमा के-के गरे ?

राजदूत होउ अब दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूत हुन लागेकी हुन् ।

उच्च कूटनीतिक स्रोतका अनुसार आफू नेपालबाट फर्किने भएपछि राजदूत होउले अन्तिम उच्चस्तरीय बिदाइ भेटवार्ता गर्नेछिन् । बिदाइ भेटवार्ताका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय, सभामुखको कार्यालय र अन्य प्रमुख राजनीतिक दलका प्रमुखहरूलाई पत्राचार गरेको छ । ‘राजदूतले बिदाइ भेटवार्ताका लागि हामीलाई आग्रह गर्नुभएको छ,’ सम्बन्धित कार्यालयका एक अधिकारीले कान्तिपुरसँग भने ।

अमेरिकाबाट नेपालमा नयाँ राजदूतको रुपमा डिन थम्प्सन आउने निर्णय भइसके पनि चीनबाट आउने नयाँ राजदूतको घोषणा बेइजिङले गरिसकेको छैन । नयाँ अमेरिकी राजदूत थम्प्सनले शुक्रबार वासिङ्टन डीसीमा पदको शपथग्रहण गरिसकेका छन् । उनी केहि दिनभित्रमै नेपाल आउने स्रोतले जनाएको छ ।

होउ सन् २०१८ को डिसेम्बरमा नेपाल आएकी थिइन् । उनको चारवर्षे कार्यकालमा २३ वर्षपछि पहिलोपल्ट चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको थियो । सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए । होउको कार्यकालमै चिनियाँ राष्ट्रिय कंग्रेसका अध्यक्ष ली चान्सुको पनि नेपाल भ्रमण भएको थियो । गत महिना भएको उक्त भ्रमणमा नेपालको प्रतिनिधिसभा र चिनियाँ जनकंग्रेसबीच अन्तर-संसदीय सहकार्य गर्ने सहमति भएको थियो ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीको चारवर्षे कार्यकालको सबैभन्दा ठूलो सफलता भनेकै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसद्‌बाट अनुमोदन हुनु हो । नेपालको संसद्‌ले गत वर्षको फागुन १५ मा १२ बुँदे व्याख्यात्मक घोषणासहित उक्त सम्झौता अनुमोदन गरेको थियो । तर बेरीकै कार्यकालमा यहि असार ६ गते नेपाल सरकारले अमेरिकी सैन्य सहकार्य परियोजना स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अघि नबढाउने घोषणा गरिदियो । अमेरिकी अनुदान एमसीसीलाई लिएर चिनियाँ पक्षले नेपाल र बेइजिङबाट पटक-पटक टिप्पणी पनि गरेको थियो ।

चिनियाँ राजदूत होउको कार्यकालमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अघि बढ्न सकेन । केपी ओली नेतृत्वको अघिल्लो सरकार र अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले बीआरआईलाई अघि बढाउन चाहेको देखिएन । चीनले नेपालले ऋण लिएर बीआरआईको परियोजना अघि बढाओस् भन्ने चाह्यो भने नेपालले चीनबाट सहुलियत ऋण वा अनुदानमात्र लिन खोज्यो‚ जसले गर्दा नेपालमा बीआरआई परियोजना अघि बढ्न सकेन । चिनियाँ राजदूत होउले नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपालाई फुट्नबाट जोगाउन सकिनन् । उनले उक्त पार्टीलाई फुट्न नदिनका लागि ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेतासँग सम्पर्क गरिरहिन् तर नेकपा फुटेर पहिलेकै अवस्थामा आइपुग्यो । राजदूत होउले आफ्नो कार्यकालमा कोभिड-१९ का कारण नेपालका उत्तरी सीमा नाकाहरू बन्द भएपछि आलोचना पनि बेहोर्नुपर्‍यो ।

दुवै राजदूतको कार्यकालमा नेपालमा उच्च भ्रमणहरू प्रशस्त भए । अमेरिकाले सन् २०१९ मा इन्डो प्यासिफिक रणनीति दस्तावेज बाहिर ल्याएपछि चीनले नेपालमा पहिलेको भन्दा थप चासो दिन थाल्यो । चीनबाट एकपछि अर्को उच्च भ्रमण भए भने अमेरिकाबाट पनि पटक–पटक भ्रमणहरू भइरह्यो ।

चिनियाँ राजदूत होउ र अमेरिकी राजदूत बेरीले नेपालमा कोभिड-१९ का कारण समस्या पर्दा सुरुवातमा स्वास्थ्य सामग्री र त्यसपछि खोप लगातार रुपमा सहयोग गरिरहे । यी दुवै राजदूतकै नेपाल बसाइको क्रममा नेपालमा अमेरिका र चीनबीच थप भूराजनीतिक जटिलता बढेको छ ।

प्रकाशित : आश्विन १५, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?