कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मिश्रको 'विचारभन्दा माथि देश' दस्तावेज घातक ‍भन्दै विवेकशील साझाद्वारा खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको 'विचारभन्दा माथि देश' दस्तावेजलाई 'घातक' भन्दै खारेज गरेको छ । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

मिश्रको 'विचारभन्दा माथि देश' दस्तावेज घातक ‍भन्दै विवेकशील साझाद्वारा खारेज

विवेकशील साझाको शुक्रबार अध्यक्ष समीक्षा बाँस्कोटाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले तत्कालीन अध्यक्ष मिश्रले अघि सारेको उक्त दस्तावेजकै कारण 'पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको' निष्कर्ष निकालेको छ । उक्त निष्कर्षसँगै मिश्रको दस्तावेज खारेज गरिएको हो ।

मिश्रले दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय भएको पनि परियारले जानकारी दिए ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिमा रहेर पार्टी हित विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको परियारले जानकारी दिए । उनीहरूमाथि आवश्यक कदम चाल्ने पनि विवेकशील साझाले निर्णय गरेको छ ।

तत्कालीन अध्यक्ष मिश्रसँग असन्तुष्ट रहेर पार्टीबाट राजीनामा दिई स्वतन्त्र बसेका नेताहरूलाई पुनः सक्रिय हुन पनि विवेकशील साझा पार्टीले आग्रह गरेको छ । 'बैठकले पार्टीभित्र देखा परेको वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्क्रिय रहेका र वैचारिक संघर्षमा सम्मिलित सम्पूर्ण नेता तथा सदस्यहरूलाई विवादास्पद र घातक दस्तावेज 'विचारभन्दा माथि देश' खारेज गरिसकिएकाले पार्टीमा पुन: सक्रिय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपिल गरेको छ,' परियारले भने ।

मिश्रले विवेकशील साझा छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनी राप्रपामा वरिष्ठ उपाध्यक्ष भएका हुन् । राप्रपा प्रवेश गर्नका लागि गत सोमबार पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए । उनी बुधबार राप्रपा प्रवेश गरेका थिए । मिश्र राप्रपा प्रवेश गरेपछि उनले विवेकशील साझामा प्रवेश गराएको 'विचारभन्दा माथि देश' खारेज भएको हो ।

प्रकाशित : आश्विन १५, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?