व्यवस्था नै खतरामा छ : महासचिव गुरुङ  - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवस्था नै खतरामा छ : महासचिव गुरुङ  

प्रतीक्षा काफ्ले

कास्की — नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था खतरामा रहेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको दाबी गर्दै प्रणालीमा चित्त नबुझे बहस गर्नुपर्ने तर अराजकता र अस्थिरता निम्त्याउने काम गर्न नहुने बताए । उनले व्यवस्था र संविधान जोगाउन वामलोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।

माओवादी केन्द्र पोखरा महानगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा महासचिव गुरुङले यतिबेला मुलुक नै संकटमा परेको बताएका हुन् । नजिकिँदै गरेको निर्वाचनमा केन्द्रित रहदै उनले अहिले टिकट लिने क्रममा आ–आफ्नो पार्टीभित्र संघर्ष भए पनि टिकट पाएपछि वामलोकतान्त्रिक गठबन्धन नै एकताबद्ध भएर अगाडि बढ्ने बताए । ‘हाम्रो पाँच दलीय गठबन्धन अहिलेको व्यवस्था र संविधान रक्षाको लागि हो,’ उनले भने, ‘प्रतिगमनहरूको गठबन्धन संघीयता र कानुनका विरोधीहरूको हो ।’

निर्वाचनलाई आन्दोलनका रूपमा लिनुपर्ने पनि गुरुङको भनाइ थियो । नेपालको इतिहास, विकासको गति र भविष्यमा समाजवादको गति लिन निर्वाचन आवश्यक रहेको बताए । आगामी निर्वाचनमा प्राप्त मतले संघीयताको पक्ष र विपक्षमा को-को छन् भन्ने पनि प्रष्ट पार्ने उनको भनाई थियो । एमालेतिर लक्षित गर्दै उनले दुई पटक संसद् विघटन गर्नु, ९ महिना संसद् अवरोध गर्नु पनि गलत चिन्तन रहेको बताए ।

महासचिव गुरुङले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुले पनि व्यवस्थामाथि खतराको संकेत गरेको बताए । ‘सबै कुरा राष्ट्रपतिले रोक्दै जाने हो भने व्यवस्था सफल कसरी हुन्छ ?,’ उनले प्रश्न गरे, ‘यसरी सरकारले चाहेर पनि केही काम गर्न सक्दैन । अब निर्वाचन आउँदै छ । निर्वाचित शपथको लागि राष्ट्रपतिसमक्ष पुग्दा यो निर्वाचन प्रणली नै गलत छ, म शपथ खुवाउन सक्दिनँ भने के हुन्छ ?’

प्रकाशित : आश्विन १५, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

राजदूत होउ यान्छी अर्को महिना चीन फर्किँदै

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् ।

राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागिएको उच्चस्तरीय कूटनीतिक स्रोतले जानकारी दिएको छ । राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे निर्णय भइनसकेको कूटनीतिक स्रोतले जनाएको छ । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा होउ नेपाल आएकी थिइन् ।

शुक्रबार नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएसँगै चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी आइतबार स्वदेश फर्कँदै छन् ।

प्रकाशित : आश्विन १५, २०७९ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×