मलेठ घटनाको साढे ५ वर्षपछि ओली सप्तरी आउँदै

संविधान निर्माणका क्रममा आफ्ना अभिव्यक्तिका कारण मधेसमा आलोचित ओली नागरिकता विधेयक प्रमाणीकरण नभएपछि जनता समाजवादी पार्टी आन्दोलित रहेका बेला सप्तरी आउन लागेका हुन् ।
अवधेशकुमार झा

राजविराज — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साढे ५ वर्षपछि आज सप्तरी आउँदै छन् । ०७३ फागुन २३ गते सप्तरीको मलेठमा पाँच जनाको ज्यान जानेगरी भएको घटनापछि ओली मधेसका अन्य विभिन्न जिल्ला गए पनि सप्तरी आएका थिएनन् ।

मलेठ घटनाको साढे ५ वर्षपछि ओली सप्तरी आउँदै

सप्तरीको राजविराजमा निर्माण हुने रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास तात्कालीन प्रधानमन्त्री ओलीले नै गर्ने कार्यक्रम भए पनि उनी सप्तरी आएनन् । ०७८ असार २२ गते उक्त शिलान्यास ओलीले काठमाडौंमै रहेर भर्चुअल माध्यमबाट गरेका थिए ।

ओलीले सम्बोधन गर्ने कार्यक्रम सप्तरीमा पूर्व-पश्चिम राजमार्ग छेउमा राखिएको छ । एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीका अनुसार पार्टी प्रवेश र सभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा अध्यक्ष ओली आउन लागेका हुन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालदेखि पश्चिम रहेको खुल्ला मैदानमा ओली सम्मिलत कार्यक्रम तोकिएको हो ।

संविधान निर्माणका क्रममा आफ्ना अभिव्यक्तिका कारण मधेसमा आलोचित ओली नागरिकता विधेयक प्रमाणीकरण नभएपछि जनता समाजवादी पार्टी आन्दोलित रहेका बेला सप्तरी आउन लागेका हुन् । संसद्‌बाट दुईपटक पारित भएर गएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्ययेक प्रमाणीकरण नगरेपछि जसपा कार्यकर्ताहरु राष्ट्रपतिविरुद्ध आन्दोलित छ । राष्ट्रपतिविरुद्ध आन्दोलित रहे पनि एमालेकै कारण राष्ट्रपतिले नागरिकता विद्ययेक प्रमाणीकरण नगरेको जसपा कार्यकर्ताको बुझाइ छ । एमाले वा ओलीविरुद्ध आफ्नो पार्टीको कुनै विरोध कार्यक्रम नरहेको जसपा सप्तरीका अध्यक्ष केदार यादवले बताए ।

अघिल्लो पटक एमालेले आयोजना गरेको मेची-महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजबाट ५ किलोमिटर उत्तर मलेठस्थित औधोगिक क्षेत्रमा ०७३ फागुन २३ गते ओलीले सभा गर्न आउँदा तत्कालीन मधेसी मोर्चाका कार्यकर्ताहरुले विरोध गरेका थिए । मलेठको सभामा ओलीको सम्बोधन सुरु हुनासाथ मोर्चाका कार्यकर्ताले उग्र प्रर्दशन चर्काएपछि प्रहरीले गोली चलाउँदा सञ्जन मेहता, वीरेन्द्र महतो, पिताम्बर मण्डल, आनन्द साह र इनर यादव गरी पाँच जनाको मृत्यु भएको थियो ।

मेची-महाकाली अभियानअन्तर्गत ०७३ फागुनमा एमालेले राजविराजको राज रंगशालामा सभा गर्न खोजेका थिए । तर संविधान निर्माणका क्रममा आफ्ना अधिकार कुण्ठित गरिएको भन्दै आन्दोलनमा रहेको तत्कालीन मधेसी मोर्चाले सोको कारक एमाले भएको आरोप लगाउँदै राजविराजमा सभा गर्न नदिने अडान लिएको थियो । मोर्चाको अडानपछि एमालेले राजविराजबाट ५ किलोमिटर उत्तर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सभा गर्ने तयारी गरेको थियो ।

तर मोर्चा कार्यकर्ताहरुले ०७३ फागुन २३ गते मलेठस्थित औद्योगिक क्षेत्र वरपर पनि विरोध प्रर्दशन चर्काएपछि स्थिति तनावपूर्ण भएको थियो । मोर्चाले एमालेको सभा हुन नदिने अडान र एमालेले मलेठमा सभा गर्ने अडान लिएपछि स्थिति थप तनावपूर्ण भई प्रहरीले गोली चलाउँदा पाँच जनाको ज्यान गएको थियो ।

प्रकाशित : आश्विन १५, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?