कहाँ पुग्यो एमाले-लोसपा चुनावी गठबन्धन प्रयास ?

मणि दाहाल

काठमाडौँ — सत्तारुढ गठबन्धनभित्र मधेस प्रदेशमा सीट बाँडफाँटको गाँठो परिरहेको समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेलका लागि वार्ता सुरु भएको छ । सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने लोसपाको प्रयास असफल भएपछि एमालेसहितका दलहरुसँग वार्ता गर्नका लागि राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।

कहाँ पुग्यो एमाले-लोसपा चुनावी गठबन्धन प्रयास ?

समितिका सदस्य जितेन्द्र सोनलले एमालेसँग दुई चरणमा वार्ता भइसकेको र छलफल सकारात्मक रहेको बताए । 'एमालेसँग दुई चरणको वार्ता भइसक्यो । छलफल सकारात्मक रहेको छ । हामी मंसिरमा हुने चुनावमा तालमेल गरेर जाने विषयमा सैद्धान्तिकरुपमा सहमत छौं,' सोनालले भने, 'सीटसहितको विषयमा छलफल भइरहेको छ । तर अन्तिम रुप प्राप्त गरेको पनि सार्वजनिक गर्ने छौं ।'

समितिको सदस्यमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोन्ल छन् । सोनलले वार्तामा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल संलग्न छन् । लोसपासँग भइरहेको छलफलको विषयमा जानकार रहेका नेकपा एमालेका नेताहरुले लोसपासँग सीट बाँडफाँटको तहसम्म पुगिनसकेको बताएका छन् । 'लोसपासँग अहिल्यै तालमेल भैहाल्छ भन्ने अवस्था छैन । दुई पटक छलफल भएको हो । मिलेर जाने भन्ने हो,' ती नेताले भने ।

७ देखि ९ सिटमा लोपसाले माने गठबन्धन हुनसक्ने संभावना रहेको एमाले नेताहरु बताउँछन् । 'लोसपाले ७ देखि ९ स्थान चित्त बुझाउँछ भने सहमति बन्न सक्छ,' मधेसका पोलिटब्युरो सदस्यले भने, 'जनमत पार्टीसँग छलफल चलिरहेको छ । कुरा मिले सो दलका अध्यक्ष सिके राउतले एक सीट प्राप्त गर्ने छ ।'

चुनावी तालमेलको विषयमा लोसपा चल्दै गर्दा लोसपाको कमजोर हुँदै गएको विषयलाई पनि चासोका साथ हेरिएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजन भएर १४ महिनाअघि गठन भएको लोसपाले अझै सबैतिर जिल्ला तहको संरचना निर्माण गर्न पनि सकेको छैन । अर्कोतर्फ लोसपाका नेता महतोले एमालेको उम्मेदवार जुली महतोलाई सघाउने भन्दै धनुषा ३ नभई सर्लाही २ बाट उम्मेदवार बन्ने घोषणा गरेको समाचारहरु आएका छन् ।

२०७४ सालमा मधेसमा दुई वटा मधेसवादी दलबीच चुनावी तालमेल भएको थियो । हालको जनता समाजवादी पार्टी (जसपा), तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेल भएको थियो । ३२ स्थान रहेको मधेस प्रदेशमा राजपाले १० र फोरमले ९ स्थान गरी १९ सीटमा जीत हासिल गरेको थियो । संविधान जारी हुनेबित्तिकै मधेसमा फोरम र राजपाले आन्दोलन चर्काए थिए । देशभरका दुई तिहाइ स्थान र सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा सरकार बनाउने गरी चुनावी परिणाम ल्याएको एमाले र मा‌ओवादी केन्द्रको गठबन्धनले ७ स्थानमा मात्रै जित्न सफल भएको थियो । प्रदेशसभामा पनि राजपा र फोरमको बहुमत आएको थियो ।

स्थानीय तह चुनावमा दोस्रो बनेको एमाले र लोसपासँग सहकार्य गरेर मधेसमा पाँच दलीय गठबन्धनलाई टक्कर दिन खोजेको छ । १ सय ३६ स्थानीय तहमध्ये एमालेले ३० स्थानीय तह जितेको थियो । कांग्रेस ४८ स्थानीय तह प्रमुख जित्दै पहिलो बनेको थियो । त्यसैगरी लोसपाले १४ स्थानीय तह जितेको थियो ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धन कायम रहेको अवस्थामा एमाले तथा लोसपाको एक स्थानमा पनि बढी मत हुने देखिँदैन । सबै दलहरुले प्रतिनिधिसभाको चुनाव एक्लाएक्लै लड्दा भने एमालेको ६ निर्वाचन क्षेत्रमा बढी मत देखिन्छ ।

पाँच दलीय गठबन्धनभित्र सीटको बाँडफाँटका लागि गाँठो मधेस प्रदेशमै परेको देखिन्छ । कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको सबैको दाबी सो प्रदेशमा रहेको छ । एमालेले भने मधेसमा मधेसवादीसहित विभिन्न राजनीतिक दलका प्रभावशाली नेता तथा कार्यकर्तालाई भित्र्याउने र सिट तथा मत दुवै बढाउने रणनीति लिएको देखिन्छ ।

प्रकाशित : आश्विन १४, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?