कहाँ पुग्यो एमाले-लोसपा चुनावी गठबन्धन प्रयास ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँ पुग्यो एमाले-लोसपा चुनावी गठबन्धन प्रयास ?

मणि दाहाल

काठमाडौँ — सत्तारुढ गठबन्धनभित्र मधेस प्रदेशमा सीट बाँडफाँटको गाँठो परिरहेको समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेलका लागि वार्ता सुरु भएको छ । सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने लोसपाको प्रयास असफल भएपछि एमालेसहितका दलहरुसँग वार्ता गर्नका लागि राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।

समितिका सदस्य जितेन्द्र सोनलले एमालेसँग दुई चरणमा वार्ता भइसकेको र छलफल सकारात्मक रहेको बताए । 'एमालेसँग दुई चरणको वार्ता भइसक्यो । छलफल सकारात्मक रहेको छ । हामी मंसिरमा हुने चुनावमा तालमेल गरेर जाने विषयमा सैद्धान्तिकरुपमा सहमत छौं,' सोनालले भने, 'सीटसहितको विषयमा छलफल भइरहेको छ । तर अन्तिम रुप प्राप्त गरेको पनि सार्वजनिक गर्ने छौं ।'

समितिको सदस्यमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोन्ल छन् । सोनलले वार्तामा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल संलग्न छन् । लोसपासँग भइरहेको छलफलको विषयमा जानकार रहेका नेकपा एमालेका नेताहरुले लोसपासँग सीट बाँडफाँटको तहसम्म पुगिनसकेको बताएका छन् । 'लोसपासँग अहिल्यै तालमेल भैहाल्छ भन्ने अवस्था छैन । दुई पटक छलफल भएको हो । मिलेर जाने भन्ने हो,' ती नेताले भने ।

७ देखि ९ सिटमा लोपसाले माने गठबन्धन हुनसक्ने संभावना रहेको एमाले नेताहरु बताउँछन् । 'लोसपाले ७ देखि ९ स्थान चित्त बुझाउँछ भने सहमति बन्न सक्छ,' मधेसका पोलिटब्युरो सदस्यले भने, 'जनमत पार्टीसँग छलफल चलिरहेको छ । कुरा मिले सो दलका अध्यक्ष सिके राउतले एक सीट प्राप्त गर्ने छ ।'

चुनावी तालमेलको विषयमा लोसपा चल्दै गर्दा लोसपाको कमजोर हुँदै गएको विषयलाई पनि चासोका साथ हेरिएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजन भएर १४ महिनाअघि गठन भएको लोसपाले अझै सबैतिर जिल्ला तहको संरचना निर्माण गर्न पनि सकेको छैन । अर्कोतर्फ लोसपाका नेता महतोले एमालेको उम्मेदवार जुली महतोलाई सघाउने भन्दै धनुषा ३ नभई सर्लाही २ बाट उम्मेदवार बन्ने घोषणा गरेको समाचारहरु आएका छन् ।

२०७४ सालमा मधेसमा दुई वटा मधेसवादी दलबीच चुनावी तालमेल भएको थियो । हालको जनता समाजवादी पार्टी (जसपा), तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेल भएको थियो । ३२ स्थान रहेको मधेस प्रदेशमा राजपाले १० र फोरमले ९ स्थान गरी १९ सीटमा जीत हासिल गरेको थियो । संविधान जारी हुनेबित्तिकै मधेसमा फोरम र राजपाले आन्दोलन चर्काए थिए । देशभरका दुई तिहाइ स्थान र सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा सरकार बनाउने गरी चुनावी परिणाम ल्याएको एमाले र मा‌ओवादी केन्द्रको गठबन्धनले ७ स्थानमा मात्रै जित्न सफल भएको थियो । प्रदेशसभामा पनि राजपा र फोरमको बहुमत आएको थियो ।

स्थानीय तह चुनावमा दोस्रो बनेको एमाले र लोसपासँग सहकार्य गरेर मधेसमा पाँच दलीय गठबन्धनलाई टक्कर दिन खोजेको छ । १ सय ३६ स्थानीय तहमध्ये एमालेले ३० स्थानीय तह जितेको थियो । कांग्रेस ४८ स्थानीय तह प्रमुख जित्दै पहिलो बनेको थियो । त्यसैगरी लोसपाले १४ स्थानीय तह जितेको थियो ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धन कायम रहेको अवस्थामा एमाले तथा लोसपाको एक स्थानमा पनि बढी मत हुने देखिँदैन । सबै दलहरुले प्रतिनिधिसभाको चुनाव एक्लाएक्लै लड्दा भने एमालेको ६ निर्वाचन क्षेत्रमा बढी मत देखिन्छ ।

पाँच दलीय गठबन्धनभित्र सीटको बाँडफाँटका लागि गाँठो मधेस प्रदेशमै परेको देखिन्छ । कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको सबैको दाबी सो प्रदेशमा रहेको छ । एमालेले भने मधेसमा मधेसवादीसहित विभिन्न राजनीतिक दलका प्रभावशाली नेता तथा कार्यकर्तालाई भित्र्याउने र सिट तथा मत दुवै बढाउने रणनीति लिएको देखिन्छ ।

प्रकाशित : आश्विन १४, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्

चाडबाडका बेला शोकमा जलबाङ गाउँ

विप्लव महर्जन

सल्यान — हिन्दुहरूको महान पर्व दसैं-तिहारका बेला गाउँ र सहरमा चहलपहल बढेको छ । कतै घर रंगाइरहेका छन् त कतै पिङ राख्दै छन् । कतै दसैं महोत्सव पनि सञ्चालन भइरहेका छन् । सल्यानको कपुरकोट गाउँपालिका ५ जलबाङ गाउँ भने यतिबेला सुनसान देखिएको छ ।

दुई दिनअघि मात्र विवाहमा भोज खाएर फर्केने क्रममा कपुरकोट गाउँपालिकाको मुलपानी नजिकै रा १ ज ५६३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एकै गाउँका नौ जनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

शोकका कारण गाउँका सबैले चाडबाड लगायत उल्लासमय सांस्कृतिक कार्य रोकेका छन् । उनीहरूले आफ्नो घरमा दसैं समेत भित्र्याउन सकिरहेका छैनन् । घरमा रंग लगाउन थालेकाले त्यत्तिकै छाडेका छन् भने अन्य मनोरन्जनका कार्यक्रम रोकिएका छन् । गाउँमा चहलपहल घटेको छ । एकै गाउँका नौ जनाले ज्यान गुमाएपछि चाडपर्वको बेला कोही खुसी छैनन् । पीडितका परिवार बाहेक अन्य स्थानीयहरू पनि दसैं मनाउनेबारे अन्योलमा छन् ।

दुर्घटनामा परेर एकै गाउँका धेरैले दसैंको मुखैमा अकालमा ज्यान गुमाएपछि बढी पीडा दिएको स्थानीय दलबहादुर पुनले बताए । पीडाकै कारण यसपटक दसैं हर्षोल्लास नहुने उनले बताए ।

‘बस्तीका नौ जनाको दुर्घटनामा मृत्यु भएको छ । पीडित परिवारका आँशु रोकिएका छैनन् । सबैको मनमा पीडा भरिएको छ । पीडित परिवारलाई देखाएर हामीले मात्रै कसरी मनाउन सक्छौं दसैं,’उनले भने ‘मैले दसैंमा पूजाआजा गरे पनि घरमै सीमित गर्ने निर्णय गरेको छु ।’ पूरै बस्ती शोकमा भएकाले अधिकांशले दसैंको तयारी गर्न नसकेको पुन बताउँछन् ।

कपुरकोट गाउँपालिका ६ कै वडाअध्यक्ष श्याम बोहराले दुर्घटनापछि मृत्यु भएकाको सामूहिक रुपमा गरिएको अन्तेष्टिले झन् धेरैले पीडा दिएको बताए । शोक मनाउन गाउँलेहरू मात्रै नभएर पालिका र वडाले पनि मनोरञ्जनात्मक कार्यक्रम रोकेको बोहराले बताए । पीडित परिवारका आँशु नथामिएपछि घरमै गएर सान्त्वना दिने काम गरिरहेको उनले बताए ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले यसपटक पीडित बाहेकका परिवारले दसैं पर्व मनाए पनि हर्षोल्लास नहुने बताए । बोलेरो जिप दुर्घटनामा एकै बस्तीका नौ जनाले ज्यान गुमाएपछि दुर्घटनाबारे अनुसन्धान भइरहे पनि कसको लापरबाहीका कारण दुर्घटना भयो भनेर छुट्याउन गाह्रो भएको अध्यक्ष पुनले बताए ।

प्रकाशित : आश्विन १४, २०७९ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×