काठमाडौंमै भिसा कार्यालय खोल्न क्यानडालाई नेपालको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमै भिसा कार्यालय खोल्न क्यानडालाई नेपालको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले क्यानडालाई काठमाडौंमै भिसा कार्यालय खोल्नका लागि आग्रह गरेको छ । नेपाल र क्यानडाबीच बिहीबार ओटावा भएको तेस्रो नेपाल–क्यानडा द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा नेपालले उक्त प्रस्ताव राखेको हो ।

नेपाली टोलीको नेतृत्व गर्दै उक्त संयन्त्रको बैंठकमा भाग लिन पुगेका परराष्ट्र सचिव भरतराज पौड्यालले क्यानडामा नेपाली डायस्पोराको संख्या बढिरहेको तथा दुई मुलुकबीच जनता–जनता बीचको सम्बन्ध पनि बढिरहेको उल्लेख गर्दै क्यानडालाई अब काठमाडौंमै भिसा कार्यालय खोल्नका लागि आग्रह गरेका हुन् ।

नेपालीहरूले अहिले क्यानडाको भिसाका लागि भारतको राजधानी नयाँ दिल्लीमा आवेदन पठाउनु पर्छ । जसले गर्दा आर्थिक र समयका हिसाबले नेपालीहरूले समस्या झेल्नु परेको छन् ।

पौड्याल संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग लिएर क्यानडा गएका हुन् । नेपाली टोलीमा क्यानडाका राजदूत भृगु ढुंगानासहित अन्य सदस्य थिए । संयन्त्रमा क्यानडाको तर्फबाट सहायक उपमन्त्री ग्लोबल अफियर्स पल थोपिलको नेतृत्वमा टोली थियो ।

नेपाली राजदूतावास क्यानडाका अनुसार उक्त संयन्त्रको बैठकमा दुवै पक्षले द्वीपक्षीय चासोका विषयहरू विकास सहकार्य, व्यापार र लगानी, शिक्षा, संस्कृति, पर्यटन, जलवायु परिवर्तनसहित अन्य विषयमा छलफल गरेका थिए ।

प्रकाशित : आश्विन १४, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्

रुसमा गाभिए युक्रेनका चार क्षेत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरे ।

पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्तो निर्णय गरेको बताए । 'परिणाम सबैलाई राम्रोसँग जानकारी छ,' पुटिनले भने, 'जनताले आफ्नो चाहना व्यक्त गरेका छन् ।' रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।

'संघीय संसद्‍ले यी चारवटा नयाँ क्षेत्रलाई रुसी महासंघको नयाँ विषय भएकोमा समर्थन गर्नेमा निश्चित छु, किनभने यो दसौं लाख मानिसको चाहना हो,' पुटिनले भने । पुटिनले मतपरिणाम दिनेहरूको प्राकृतिक अधिकार भएको पनि बताए । साथै इतिहासमा पुस्तौंदेखि रुसीहरूले यो भूभागका लागि लडेको दाबी गरेका छन् ।

कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका ४ जना अधिकारीहरूले विलय सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । तर रुसी राष्ट्रपति पुटिनले सोभियत संघलाई पुनर्स्थापित गर्न नखोजेको बताएका छन् । सन् १९९१ मा सोभियत संघ विघटनपछि युक्रेन देशको रुपमा उदाएको थियो ।

प्रकाशित : आश्विन १४, २०७९ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×