२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

दस लाख युवालाई रोजगारी दिने योजना मेरो हो : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रममा आफ्नो मेहनत रहेको दाबी गरेका छन् । उनले आफ्नो टिमले दिएको अध्ययनको निष्कर्षका आधारमा सरकारले यो वर्षको बजेटबाट प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रम घोषणा भएको र दस वर्षमा कम्तीमा दस लाख युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय उपभोग दशक घोषणा भएको बताए । 

दस लाख युवालाई रोजगारी दिने योजना मेरो हो : थापा

‘यो देशमा आज सबैभन्दा ठूलो समस्या, मुद्दा भनेको नेपाली युवालाई स्वदेशमै रोजगार बनाउने कुरा हो । मलाई गौरव छ, गएको पाँच वर्षसम्म लगातार काम गरेर हामीले दिएको निष्कर्षमा आधारित भएर सरकारले प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रम घोषणा गरेको छ,’ नेता थापाले शुक्रबार चाबहिलमा आयोजित एक कार्यक्रममा भने ।

उनले टेक्स्टायल, जुत्ता, कन्स्ट्रक्सन, औषधि र एग्रिकल्चरमा मात्रै आगामी दस वर्षभित्र कम्तीमा दस लाख युवालाई रोजगारी दिलाउन सकिने कार्यक्रमको उद्देश्य रहेको बताए । ‘मेरो टिमले लामो समयसम्म अध्ययन गरेर यो निष्कर्षमा पुगेको हो कि टेक्स्टायल, जुत्ता, कन्स्ट्रक्सन, औषधि र एग्रिकल्चरमा हामीले आज जुन उत्पादन गरिरहेका छौँ, त्यसलाई बजारको प्रबन्ध मात्रै हुने हो भने ठूलो संख्यामा स्वरोजगारीको व्यवस्था हुन्छ,’ उनले भने ।

उनले त्यसका लागि कानुनी र नीतिगत आधारहरू तयार भएको र अब त्यसको कार्यान्वयन हुनु आवश्यक रहेको बताए ।

उनले नेपालमा कानुन र नीतिगत व्यवस्था भएपनि कार्यान्वयन नहुने समस्या झन् ठूलो रहेको बताए । ‘हामीले राम्रो कानुन बनाउछाौ, तर त्यसको कार्यान्वयन हुदैन, त्यो नै ठूलो समस्याकोरुपमा छ,’ उनले भने, ‘विगतमा मैले स्वास्थ्यमन्त्री हुँदा जुन कानुन बनाएा । त्यसको अक्षरश: कार्यान्वयन मात्रै भएको भए अहिले डेंगीको बेलामा यो गराौ, त्यो गरौँ भनेर हल्ला गर्नुपर्ने थिएन, त्यो संरचनाले आफैं काम गर्ने थियो । तर हामीले कानुन बनाएर छोड्यौँ, त्योसँगै कार्यान्वयनको कुरा पनि छोडियो । पछिल्ला सरकारले त्यसअनुसार काम गरेनन् ।’

उनले स्वास्थ्य बीमासम्बन्धी आफूले बनाएको कानुन कार्यान्वयन भए मकै बेचेर खाने मान्छेले पनि उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने दाबी गरे ।

प्रकाशित : आश्विन १४, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?