३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपालको प्राथमिकतामा परेन आबेको अन्त्येष्टि

जगदीश्वर पाण्डे

काठमाडौँ — जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि समारोहमा विश्वभरका चर्चित नेता बुधबार टोकियो पुग्दा नेपालबाट भने उच्च तहको सहभागिता हुन सकेन । नेपाललाई ठूलो आर्थिक सहयोग गर्ने र अत्यन्तै सुमधुर सम्बन्ध भएको जापानका पूर्वप्रधानमन्त्री आबेको अत्येष्टिमा जापानका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले मात्र सहभागिता जनाएका छन् ।

नेपालको प्राथमिकतामा परेन आबेको अन्त्येष्टि

जापानमा लामो समय प्रधानमन्त्री बनेका आबेको जुलाई ८ मा मृत्यु भएको थियो । उनलाई चुनावी प्रचार–प्रसारका क्रममा सभालाई सम्बोधन गर्ने क्रममा गोली हानिएको थियो । राजधानी टोकियोको प्रसिद्ध निप्पन बुडाकोन भवनमा बुधबार आयोजित अन्त्येष्टि समारोहमा ४५ सयभन्दा बढी स्वदेशी तथा विदेशी विशिष्ट अतिथि सहभागी थिए । समारोहमा राजदूत सुवेदीले गएर आबेको शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गरेका थिए ।

आबेको अन्त्येष्टि समारोहमा अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोली अल्बानिज र दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सु पनि सहभागी भए । यस्तै, जोर्डन, बहराइन, कुवेत र कतारका राष्ट्राध्यक्षहरू र राजपरिवारका सदस्यहरूसहित विभिन्न मुलुकका उच्च पदाधिकारी उपस्थित थिए । जापानस्थित नेपाली दूतावासका अनुसार अन्त्येष्टि समारोहलाई सम्बोधन गर्दै जापानका प्रधानमन्त्री फुमियो किसिदाले जापानको राजनीतिक इतिहासमा सबैभन्दा लामो अवधि प्रधानमन्त्री रहेका आबेले जापानको समृद्धि र प्रगतिका साथै कूटनीति र प्रतिरक्षा शक्तिलाई सुदृढ बनाएको उल्लेख गरेका थिए । ६७ वर्षीय आबे सन् २००६ देखि सन् २००७ सम्म र सन् २०१२ देखि २०२० सम्म प्रधानमन्त्री पदमा रहेका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै आफैं प्रधानमन्त्री पद छाडेका थिए । प्रधानमन्त्री किसिदाले आबेले एक राजनेताका रूपमा जापान र यस क्षेत्रकै स्थायित्व, एकता र आर्थिक विकासमा योगदान गरेको विचार व्यक्त गरे ।

यही सेप्टेम्बर १९ मा भएको बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा भने परराष्ट्रमन्त्री नारायण खड्काले सहभागिता जनाएका थिए । जापानका लागि अर्का पूर्वराजदूत केदारभक्त माथेमाले जापानी पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टिमा पनि उच्च तहको सहभागिता भएको भए राम्रो हुने उल्लेख गरे । ‘जापान हाम्रो घनिष्ठ मित्र हो । उच्च तहबाट सहभागिता हुन सकेको भए राम्रो हुन्थ्यो । तर पूर्वप्रधानमन्त्री भएका कारणले राजदूतलाई नै सहभागी हुन भनिएको जस्तो लाग्यो,’ उनले भने, ‘राजदूत पनि शक्तिशाली पद हो ।’ पूर्वपरराष्ट्र सचिव तथा जापानका लागि नेपालका पूर्वराजदूत मदन भट्टराईले यस विषयमा परराष्ट्र मन्त्रालयले नै निर्णय गर्ने बताए ।

परराष्ट्र मामिला जानकार तथा कूटनीतिज्ञ दिनेश भट्टराईले नेपालबाट उक्त समारोहमा उच्च सहभागिता भएको भए राम्रो सन्देश जाने बताए । ‘जापानले नेपाललाई कुनै स्वार्थबिना नै लगातार रूपमा सहयोग गर्दै आएको छ । हाम्रोतर्फबाट उच्च तहमा सहभागिता भएको भए फरक पर्‍थ्यो । राजदूतले सहभागिता जनाउँदा पनि ठीकै छ,’ उनले भने । परराष्ट्र मन्त्रालयले भने आबेको अन्त्येष्टिका लागि नेपाली राजदूतलाई नै सहभागिता हुन निर्देशन दिइएको जनाएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?