१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जहाज पर्यटक बोक्न पूर्वतिर, कर्णालीका यात्रु अलपत्र

न भरपर्दो हवाई सेवा छ न सुरक्षित सडक, चाडपर्वका बेला ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता 

मुगु, जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिका–३ का ईश्वर बुढाले दुई दिनअघि नेपालन्जदेखि जुम्लाका लागि हवाई यात्रा गर्न तारा एयरको टिकट लिए । उनी सहजै जुम्ला पुग्नेमा ढुक्क थिए तर एयरलाइन्सले एक्कासि निर्धारित उडान स्थगित गरेर जहाज पूर्वतिर गएको जानकारी दियो । बुढा नेपालगन्जमै अलपत्र परे ।

जहाज पर्यटक बोक्न पूर्वतिर, कर्णालीका यात्रु अलपत्र

‘कर्णालीका लागि न भरपर्दो हवाई सेवा छ न त सुरक्षित सडक,’ उनले भने, ‘चाडपर्वका बेला ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता छ ।’

कर्णालीमा उडान भरिरहेका निजी विमान कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि कर्णालीका अधिकांश यात्रु अलपत्र परेका छन् । चाडबाडका बेला जहाज उपलब्ध नहुँदा दुर्गमका यात्रुलाई सास्ती भएको छ । स्थानीय जगबहादुर रोकायले नेपाल एयरलाइन्सले पनि नियमित तालिकाअनुसार उडान नगरिदिँदा सास्ती भोग्नुपरेको बताए । ‘जुम्लासम्म गाडी चल्छ तर कर्णाली राजमार्गको दुरवस्थाले यात्रा गर्नै मन लाग्दैन,’ उनले भने, ‘बाटो सुरक्षित नहुँदा हवाई यातायातको विकल्प छैन ।’

निजी कम्पनीका जहाज जहिले पनि दसैं–तिहारको बेला पूर्वतिर जाने गरेको उनले बताए । कर्णालीमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्सका जहाजहरू पर्यटक ओसार्न लुक्ला, जोमसोम, पोखरालगायत ठाउँमा गएपछि जुम्लासहित मुगु, डोल्पा र हुम्लाका यात्रु अलपत्र परेका हुन् । यसअघि ताराका ३, सीताका ३ र समिट एयरलाइन्सका ४ जहाजले नेपालगन्ज र सुर्खेतमा बसेर कर्णालीका हिमाली जिल्लामा कार्गो र यात्रु उडान गर्दै आएका थिए । अहिले समिटको जहाजले मात्र नेपालगन्जदेखि कर्णालीसम्म उडान गर्दै आएको छ भने अन्य सबै जहाज पर्यटक बोक्न पूर्वतिर लागेका छन् ।

नेपालगन्जबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला जाने कर्मचारी, विद्यार्थी र स्थानीय यात्रु कर्णालीबाट सुर्खेत र नेपालगन्ज झर्न नपाउँदा अलपत्र परेका छन् भने उताका यात्रु उतै अलपत्र परेका छन् । दुर्गम क्षेत्रमा उडान गर्न कर छुट गरेर ल्याइएका निजी जहाज कम्पनीले फाइदा मात्र हेरेको मुगुको गमगढीका अहिभान शाहीले बताए ।

‘जुन बेला हामीलाई जहाज चाहिन्छ, त्यही बेला पाइँदैन,’ उनले भने, ‘यो बेला यात्रुको चाप हुने र रारामा पर्यटक आउने मौसम हो तर सबै जहाज पूर्वतिर गए ।’ उनले नाग्मा–गमगढी सडक कच्ची हुँदा सडकमार्गबाट यात्रु जान समस्या हुने गरेको बताए । उनका अनुसार पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुने समस्या छ ।

जहाज नहुँदा सडक सुविधा नभएको हुम्लामा सबैभन्दा बढी समस्या छ । जहाज नचलेपछि खाद्यान्न ओसार्नदेखि यात्रुलाई आउजाउ गर्नसमेत बाधा परेको स्थानीय व्यवसायी कमल रोकायले बताए । ‘जहाज विदेशी पर्यटक बोक्न पूर्वतिर लागे, यहाँ त दसैंको मुखमा न खाद्यान्न आएको छ न अरू सामान,’ उनले भने, ‘जरुरी कामका लागि बाहिर जानेहरू र दसैं मनाउन यहाँ आउनेहरू अलपत्र पर्न थाले ।’

अहिले मुगुमा उडान ठप्पजस्तै भएको रारा हवाई नागरिक उड्डयन प्राधिकरण प्रमुख सन्तोषकुमार गौतमले बताए । उडान नहुने भएपछि यात्रु गाडी चढेर आफ्नो गन्तव्यतर्फ लाग्न बाध्य भएको उनको भनाइ छ । ‘कर्णालीमा आन्तरिक यात्रु बोकेर त्यति फाइदा नहुने भएपछि नेपालगन्ज र सुर्खेत बस्ने सबै जहाज पूर्वतिर गए,’ उनले भने, ‘अहिले पूर्वतिर पर्यटकको घुइँचो छ, त्यसैले कर्णाली जहाज कम्पनीको प्राथमिकतामा परेन ।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले प्रत्येक दिन एउटा मात्र भए पनि उडान भर्न आग्रह गर्दासमेत निजी हवाई सेवा प्रदायक कम्पनीले बेवास्ता गरेको बताए ।

प्रकाशित : आश्विन १४, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?