कहाँ गइन् जेरुसा ?

आमा र बहिनीलाई सम्बोधन गरेको ‘नोट’ फेला
वाग्मती किनारमा ६ प्रहरी परिचालन

काठमाडौँ — अघिल्लो बिहीबार बेलुका ७ बजेतिर गायिका जेरुसा राईले परिवारसँगै बसेर खाना खाइन् । तर, उनको अनुहारको भाव अन्य दिनभन्दा भिन्न थियो । मौन रहेकाले आमाले वातावरण रमाइलो बनाउन अनेक प्रसंग निकाल्दै बोल्ने प्रयास गरिरहिन्, उनले कुनै प्रतिक्रिया जनाइनन् ।

कहाँ गइन् जेरुसा ?

‘बिहानदेखि नै छोरीको अनुहार अँध्यारो थियो,’ आमा चम्पा घिमिरेले कान्तिपुरसँग भनिन्, ‘बेलुकासम्म पनि त्यस्तै थियो । चुपचाप खाना खाएर कोठातिर सुत्न गइन् ।’

चम्पाका अनुसार ८ बजेतिर सुत्ने तरखर गर्दैगर्दा जेरुसाको कोठामा हेर्दा उनी त्यहाँ देखिइनन् । घर वरपर खोजी गर्दा नभेट्टाएपछि परिवारले राति १० बजेतिर सानेपास्थित प्रहरी प्रभागमा निवेदन दिए । प्रहरीले खोजी कार्य जारी राखेको जनाए पनि सातायता जेरुसाको अवस्था अज्ञात छ । ‘उनका साथी, आफन्त र चिनजान भएका ठाउँ सबैतिर खोजिसकेका छौं, अहिलेसम्म केही पत्ता लागेको छैन,’ उनले भनिन्, ‘हामीले हराएकै राति प्रहरीलाई खबर गरेपछि तुरुन्तै बाहिर जाने सबै नाकामा खबर गरेको भए हुन्थ्यो होला । तर, उहाँहरूले त्यस्तो गर्नुभएको छैन रहेछ ।’ छोरी उपत्यकाबाहिर पनि जान सक्ने आशंका गर्दै उनले प्रहरीले उपत्यका र नदी किनारमा मात्र खोजी सीमित राखेको बताइन् । ‘दसैं आइसक्यो, घरमा छोरी छैन । हामीलाई कति गाह्रो भएको होला,’ उनले भनिन्, ‘प्रहरी अझ सक्रिय र संवेदनशील भएर खोज्ने हो भने छोरी भेटिन्छिन् भन्ने आशा छ ।’

प्रहरीका अनुसार हराएको बेलुका ७:४० बजे जेरुसा वाग्मती पुलतिर गइरहेको सीसीटीभी फुटेजमा देखिएको थियो । ‘उहाँको परिवारले पनि सीसीटीभी फुटेजका आधारमा पहिचान गर्नुभएको हो । अन्तिम पटक धोबीघाटमा देखिनुभएको छ,’ ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले भने । धोबीघाट वरपर देखेपछि प्रहरी परिचालन गरेर सम्भावित स्थानमा खोजी तीव्र पारिएको प्रहरी दाबी छ । परिसरले प्रहरी प्रभाग सानेपा, भैंसेपाटी र प्रहरी वृत्त कीर्तिपुरबाट पनि प्रहरी खटाएर खोजी गरिरहेको जनाएको छ । वाग्मती नदीको दुईतिरकै किनारमा ३/३ जना प्रहरी परिचालन गरेको एसपी शाहीले बताए । ‘उहाँलाई सकुशल उद्धार गर्ने गरी खोज्दै छौं, जस्तोसुकै अवस्थामा भए पनि फेला पार्छौं,’ उनले भने, ‘उहाँको विगतको इतिहास पनि विश्लेषण गरेर खोजी कार्य अघि बढाएका छौं ।

केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रबाट कुकुरको सहयोग लिएर सम्भावित स्थानमा खोजी गरेको प्रहरीले जनाएको छ । कुकुरले जलविनायक चोभारतिर संकेतमात्र गरेको थियो । त्यसपछि ललितपुर प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा चोभार क्षेत्रका सम्भावित स्थानमा खोजी गर्‍यो । काठमाडौं उपत्यका तथा मकवानपुर र सर्लाहीमा समेत जेरुसाको हुलिया सर्कुलर गरेको प्रहरीको भनाइ छ । उनले प्रयोग गर्ने मोबाइल घरमा नै छाडेकाले मोबाइलको प्राविधिक पक्षबाट अनुसन्धान गर्ने पाटो भने बन्द भएको एसपी शाही बताउँछन् । ‘उहाँ हराउनुभन्दा केही दिन अगाडिबाट नै मोबाइलमा सम्पर्क भएको देखिँदैन । मोबाइल घरमा नै छोडेर जानुभएको छ,’ उनले भने ।

जेरुसाका परिवार, आफन्त र साथीभाइसमेत फोटो बोकेर सम्भावित स्थानहरूमा खोजीमा लागेका छन् । सामाजिक सञ्जालमा पनि स्वस्फूर्त जेरुसाको खोजी अभियान नै चलेको छ । स–सानो टोली नै बनाएर युवाको समूहले ड्रोन उडाएरसमेत उनको खोजी गरिरहेका छन् ।

प्रहरीले जेरुसाको घरबाट आमा र बहिनीलाई सम्बोधन गरेर लेखेको ‘नोट’ भने फेला पारेको छ । नोटमा उनले आफू हराएको कारण समेत खुलाएकी छन् । आफूले सम्पूर्ण जीवन बाँचिसकेको र आफ्नै खुसीले निर्णय गरेको नोटमा उल्लेख छ । त्यसमा वाग्मतीसमेत उल्लेख गरिएको एसपी शाहीले बताए । प्रहरीलाई जेरुसा वीरगन्जको गाडी चढेर गएको समेत जानकारी आएपछि ललितपुर, मकवानपुर, सर्लाही र पर्सा प्रहरीले सम्भावित गाडी रोकेरसमेत खोजी गरेको थियो ।

अध्ययनकै क्रममा जेरुसा बेलायतमा ४ वर्ष र अमेरिकामा ५ वर्षदेखि बस्दै आएकी थिइन् । त्यस क्रममा नेपाल आउने–जाने गरिरहन्थिन् । पछिल्लो पटक उनी तीन महिनाअघि आएर धोबीघाटमा बसिरहेकी थिइन् । बेलायत र अमेरिकामा गीत गाउने उनी नेपाल आउँदा कन्सर्ट गर्ने गर्थिन् । ३१ वर्षीया जेरुसाका बारुद, सुनसान, लाटोकोसेरोलगायत नेपाली र अंग्रेजी गीत चर्चित छन् ।

प्रकाशित : आश्विन १३, २०७९ २३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?