निर्वाचनमा बढीभन्दा बढी महिला सहभागी गराउँछौं : खनाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने पनि बताए । तर आफ्नो पार्टीले आगामी मंसिरमा हुने निर्वाचनमा बढीभन्दा बढी महिलाहरूलाई सहभागी गराउने उनले प्रतिवद्धता व्यक्त गरे ।
देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरू कायम रहेको भन्दै त्यस्ता विभेद्लाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेक विकल्प नरहेको बताए ।
समाजवादले मात्रै समाजमा भएका वर्गीय शोषणलाई समाप्त गर्नसक्ने उनको धारणा थियो । हालसम्म महिलाहरूले पाएको
अधिकार पूर्ण नरहेको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए । तर समाजवाद प्राप्त नहुन्जेल संघर्ष जारी राख्नुपर्ने उनको सुझाव थियो ।
‘संविधान बनाउँदा कम्तीमा पनि लैङ्गिक समानतालाई संविधानले स्वीकार गरेको छ । सिद्धान्ततः स्वीकार गरेको छ । तर अझै
व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न धेरै माइल अघि बढ्नुपर्ने हुन्छ । धेरै लामो संघर्ष गर्नुपर्ने हुन्छ । हामीले हाम्रो देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरू कायम छन्, त्यो विभेदलाई अन्त्य गर्न अब हामीले समाजवादको बाटोमा हिँड्नु बाहेक हर्को कुनै विकल्प छैन,' नेता खनालले भनेका छन् ।
समाजवादमा मात्रै समाजमा मान्छेले मान्छेमाथि गर्ने सबै प्रकारका शोषण र विभेद् समाप्त गर्नसकिने उनको तर्क थियो । कुनै पनि संगठन बनाउँदा महिलाहरूलाई प्राथमिकता दिने भन्दै आफ्नो पार्टीले हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने र जागरुक बनाउने उनको प्रतिवद्धता थियो ।
‘हाम्रासामु अहिले आमनिर्वाचन आइरहेको छ, यस निर्वाचनमा बढीभन्दा बढी महिला दिदी बहिनीहरूलाई प्रत्यक्षमा वा समानुपातिकमा खडा गर्न प्रयत्नशील छौं । तर पनि पर्याप्त मात्रामा गर्न सकिएको छैन । कुनै पनि संगठन बनाउँदा महिला दिदी बिहिनीलाई प्राथमिकता दिनेछौं,' नेता खनालले भने ।
