कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाए : अध्यक्ष नेपाल

'अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरूले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाए : अध्यक्ष नेपाल

बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी) ले दसैं, तिहार, छठ लगायत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताए ।

नेताहरूले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको उनको भनाइ थियो । अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने सुझाव दिएका थिए । देशको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनेबारे आफूले सोचिरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले भनेका छन्, 'यो कम्युनिस्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडि बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्छ । र हामीले सोचिरहेका छौं कि, कसरी यो देशको सिंगो कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरू तयार गर्न सकियोस् । समाजका परिवर्तनका बाहकहरूलाई, इमान्दार मानिसहरूलाई, स्वच्छ छवि भएका व्यक्तिहरूलाई अगाडि बढाउन सकियोस् । किनभने हामी नै सबै हिसावले अगुवा हुन सकेनौं भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन । अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरूले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ । त्यसैले हामी अरुजस्ता होइनौं भनेर हामीले देखाउन सक्नुपर्छ । जब हामी आफैं व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गर्छौं, अनि बल्ल अरुको विश्वास जित्न सक्छौं ।'

यस क्रममा उनले आफूले पटकपटक अवसर पाउँदा ठिक ठान्ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको भन्दै त्यस्तो प्रवृत्ति हटाउनु पर्ने टिप्पणी गरे ।

प्रकाशित : आश्विन १३, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?