डेंगी संक्रमित २८ हजार नाघे, मृत्यु हुनेको संख्या ३८ पुग्यो - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगी संक्रमित २८ हजार नाघे, मृत्यु हुनेको संख्या ३८ पुग्यो 

२४ घण्टामा ५४० जना संक्रमित, २ जनाको मृत्यु
कान्तिपुर संवाददाता

काठमाडौँ — देशैभर फैलिएको डेंगीबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को २४ घण्टाको तथ्यांकअनुसार थप ५४० जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ । यो संख्या थपिएसँगै २८ हजार १०९ वटा केस पुगेको छ ।

तथ्यांकअनुसार प्रदेश १ मा ८ सय २९, मधेसमा ४ सय १३, वाग्मतीमा २१ हजार ९ सय ७५, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १ सय २५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ५ सय ५० वटा केस देखिएका छन् ।

डेंगीबाट मृत्युको संख्या पनि बढ्दै गएको छ । हालसम्म यसबाट ३८ जनाको मृत्यु भइसकेको ईडीसीडीको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : आश्विन १३, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

बस्तीको ढल सिधै खोलामा, प्रशोधन केन्द्र अलपत्र

‘मृत’ छन् काठमाडौंका खोला
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट)की वैज्ञानिक डा.टिस्टा प्रसाईंलाई धोबी खोलामा पौडी खेल्ने, नुहाउने लुगा धुने गरेको अझै याद छ । घट्टेकुलोमा बाल्यकाल बिताएकी वैज्ञानिक प्रसाईंले धोबी खोलामा असला माछा, अन्य स–साना जलीय जीवहरु देखेको अझै याद छ ।

जब जब उनी काठमाडौंको अनामनगर भाटभाटेनी करिडोर सडक पुग्छिन् उनलाई बाल्यकालको सम्झना आउँछ ।

समयक्रमसँगै धोबीखोला ‘मृत’ अवस्थामा पुगेको उनले बताइन् । धोबीखोलामा असला माछामात्रै हैन जलीय जीवहरु पाउनै मुस्किल छ । कुनै पनि जीवहरु अहिले नरहेको उनले बताइन् । ‘धोबीखोला मात्रै हैन काठमाडौंका सबै खोला सफा थिए । जब नदीमा घरयासी,औद्योगिक ढलहरु हाल्न थालियो । नदी नदी रहेन, मृत बन्यो,’ उनले कान्तिपुरसित भनिन् ।

सानैदेखि नदीसँग नजिक रहेकी वैज्ञानिक प्रसाईं नास्टमा पानीको परीक्षण, रसायनिक गुण तथा पानीमा हुने धातु, खनिजलगायतमा अनुसन्धान गरिरहेकी छन् ।

गत वर्ष उनले सुन्दरीजल हुँदै चोभार क्षेत्रसम्म बग्ने वाग्मती नदीको अवस्थाको अध्ययन गरिन् । नास्टमा रहेको उनको ल्याबमा कार्यरत एक जना विद्यार्थीले त्यसक्षेत्रमा पानीको रसायनिक अवस्थाबारे अनुसन्धान गर्दा पानीमा जीवित वस्तु बाँच्न निकै नै कठिन हुने देखियो ।

पानीको केमिकल अक्सिजन डिमान्ड (सीओडी)को अध्ययन गर्दा धेरै नै मात्रामा देखियो । यो भनेको पानीले जैविक वस्तुलाई गलाउनका लागि आवश्यक पर्ने अक्सिजनको मात्रा हो । पशुपति हुँदै तीलगंगा करिडोरमा सीओडीको मात्रा धेरै नै देखियो । यो क्षेत्रमा सीओडीको मान ६४४ मिलिग्राम प्रति लिटर देखियो । यस्तै सुन्दरी घाटमा ५७९ देखियो । सुन्दरीजल क्षेत्रमा भने ४० मिलिग्राम प्रतिलिटर देखिएको थियो । प्रसाईंले भनिन्, ‘पानीमा सीओडीको मात्रा जति कम भयो त्यति राम्रो हो ।’

सुख्खा समयमा काठमाडौंका खोलाहरुबाट धेरै नै दुर्गन्ध आउने गर्छ । पानीमा सल्फरको मात्रा धेरै हुँदा बिरो नुन जस्तो गन्ध आउने गरेको उनले बताइन् । गर्मी महिना (धेरै घाम लागेको बेला) जैविक वस्तु कुहिने दर धेरै नै हुने भएकाले दुर्गन्ध आउने गरेको उनले सुनाइन् । काठमाडौंको मुख्य क्षेत्र हुँदै बग्ने धोबी खोला, वाग्मति, विष्णुमति नदीबाट बेलाबेला आउने दुर्गन्ध यही कारणले भएको उनले सुनाइन् ।

काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक एवं पानी विज्ञ डा. रामदेवी तचामो शाह सहरी क्षेत्रका नदीलाई साँघुरो बनाएर च्यानलाइज गर्दा प्राकृतिक बहाब र प्राकृतिक बासस्थान(सब्स्ट्रेट) नहुँदा मृत अवस्थामा पुगेका बताउँछिन् । नदीको बगर नहुने, कंक्रिट संरचनाले च्यानलाइज गर्दा नदी छेउछाउ उम्रने बिरुवाहरु नहुँदा नदीमा पानी मात्रै बग्ने र ढल मिसिदा झन् प्रदूषण बढेको उनले बताए ।

‘काठमाडौंमा मात्रै हैन नेपालका सहरी क्षेत्रका धेरै जसो नदीहरुको अवस्था मृत छ । पोखराको फिर्के खोला, काठमाडौंका वाग्मति,हनुमन्ते,मनोहरा खोलाहरु मृत छ । नदीको सिरानमा राम्रो हुन्छ,सहरी र ढल मिसिँदै गएपछि नदी मृत बनिन्छ । तल्लो तटीय क्षेत्रमा नदी फैलन थालेसँगै सफा हुँदै जान्छ,’ उनले भनिन् ।

०००

अधिकार सम्पन्न वाग्मती एकीकृत समितिका पूर्व बोर्ड सदस्य राम साहले धोबी खोलामा जडान गरिएको घरयासी ढलको भिडियो केही सातादेखि निरन्तर रुपमा सामाजिक सञ्जालमा हालिरहेका छन् । हरेक साताजसो उनले फलोअप गरेर सहरका ढल खोलामा हालिएको भन्दै नियन्त्रण गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि कसैले चासो देखाएको छैन ।

धोबीखोलामा मात्रै हैन, विष्णुमति, टुकुचा, वाग्मतिमा सहरका ढल सिधै खन्याइन्छ । उपत्यकाका अधिकांश ढल प्रशोधन नगरी सिधै खोलामा हालिदिँदा नदी प्रदूषित भएको हो । साह भन्छन्,‘नदीको बहाब क्षेत्र अतिक्रमण गरेर सानो बनाइएको छ । त्यसमा सिधै ढल मिसाउँदा नदीको प्रदूषण बढेको छ ।’ उनले काठमाडौंको मात्रै नभएर देशका अधिकांश खोलामा ढल प्रशोधन नगरी खोलामा सिधै मिसाउने गरिएको बताए ।

केन्द्रीय तथ्यांक विभागले दुई साताअघि सार्वजनिक गरेको फोहोर मैला व्यवस्थापन सम्बन्धीका प्रतिवेदनमा पनि नेपालमा उत्पादन हुने कूल फोहोरको ३० प्रतिशत नदी किनारमा व्यवस्थापन भइरहेको उल्लेख छ ।

खोलामा सिधै ढल र नदी प्रदूषण हुँदा यसको प्रत्यक्ष असर जलीय जैविक विविधतालाई मात्रै हैन,कृषि प्रणालीलाई सिधै परेको छ । ख्वप कलेजकी उपप्राध्यापक एवं अनुसन्धानकर्ता डा‍. निलकमल कोजू पानी प्रशोधन केन्द्रहरु सञ्चालनमा नआउँदा यो समस्या झनै बढिरहेको बताउँछिन् । खोलामा सिधै ढल फाल्दा त्यसले कृषि क्षेत्रको उब्जनीमा असर गरिरहेको उनले बताइन् । उनी भन्छिन्,‘पानीमा धेरै नै मात्रामा प्रदूषक तत्वहरु पाइएको छ । घरयासी र औद्योगिक ढललाई प्रशोधन नगरी खोलामा मिसाउँदा गह्रौं धातु र जैविक प्रदूषकको मात्रा धेरै नै बढेको छ । ’ उनैले गरेको अनुसन्धानले पनि बालाजु औद्योगिक क्षेत्रबाट निस्कने ढल प्रशोधन नगरी विष्णुमतिमा छाड्दा धेरै नै मात्रामा प्रदूषक तत्व भेटिएको थियो । नुवाकोट र धादिङ हुदै बग्ने कोल्पमा खोलामा गरिएको अनुसन्धानमा पनि पानीमा प्रदूषक तत्वको मात्रा धेरै नै पाइएको थियो ।

यस्ता खोलाकै पानी प्रयोग गरेर कृषि गर्दा उत्पादनमा कमी आउने,माटोको उर्वराशक्ति हराउने जस्ता समस्याहरु देखिने उनले बताइन् । प्रदूषित पानीले समग्रमा कृषि प्रणाली र खाद्यन्न उत्पादनमा पनि असर गरिरहेको कोजूले जनाइन् । वाग्मतिको विभिन्न ठाउँमा पानीको परीक्षण गर्दा पनि घूलित अक्सिजनको मात्रा पनि धेरै नै कम रहेको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत एवं वातावरण स्वास्थ्यका विज्ञ डा. मेघनाथ धिमालले नदीमा ढल मिसाउँदा पानीसँग सम्बन्धित रोगहरु बढ्ने बताए । माथिल्लो तटीय क्षेत्रबाटै प्रदूषित भएर तराई झर्ने वाग्मति नदीको पानी प्रयोग गर्दा टाइफाइड, ज्वरो, झाडापखलाको जोखिम उच्च रहेको उनले बताए । प्रदूषित पानीका कारण हैजाका घटनाहरु पनि बढ्न सक्ने उनले बताए । अनुसन्धान परिषद्ले उपत्यकामा देखिएको हैजाको विस्तृत अध्ययन गरिरहेको छ ।

काठमाडौं उपत्यकामा प्रयोग हुने पानीमध्ये ८० प्रतिशत ढलको रुपमा बग्ने गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले जनाएको छ । वितरण भएको पानीमध्ये ८० प्रतिशत प्रयोग भएपछि ढलको रुपमा निस्कने गरेको केयूकेलका आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । काठमाडौं उपत्यकामा दैनिक रुपमा २२ करोड लिटर ढल निष्काशन हुने गरेको केयूकेएलको तथ्यांक छ । सन् २०३० सम्म यो बढेर ४० करोड ढल बग्ने प्रक्षेपण गरिएको श्रेष्ठले बताए ।

निष्कासन हुने ढलमा फेकल(मलमूत्र),समावेश गरिएको छैन । कतिपय स्थानहरुमा सिधै मलकोमूल जडान गर्ने गरिएको छ । धोबिघाट,बालकुमारी र गुहेश्वरीमा ७५ मिटर क्युब प्रतिदिन प्रशोधन हुने गरी प्लान्ट निर्माणको सुरु गर्ने तयारी भएपनि काम नभएको उनले बताए । ढल निकासको व्यवस्था नभएको ठाउँमा सेफ्टी ट्यांक बनाउने र फाल्ने योजना रहेको उनले बताए ।

औद्योगिक रुपमा डिस्चार्ज हुने ढलको हकमा सरकारले तोकेको मापदण्ड अनुसार पानी प्रशोधन गरेर खोलामा छाड्नुपर्ने नियम भएपनि त्यो गर्ने गरिएको छैन । खोलामा सफा पानी देख्नका लागि समयमा नै प्रशोधन केन्द्र निर्माण गरिनुपर्ने विज्ञहरु बताउँछन् । घरायसी र औद्योगिक क्षेत्रबाट निस्कने ढलको उचित व्यवस्थापन र प्रशोधन नभएसम्म नदीका सफा पानी देख्न सम्भव नहुने विज्ञहरुको भनाइ छ ।

अलपत्र प्रशोधन केन्द्र

नदी क्षेत्रमा ढल मिसाउँदा प्रदूषणलगायत अन्य विविध समस्या देखिन थालेपछि पहिलो पटक गुहेश्वरीमा फोहोर पानी प्रशोधन केन्द्रको स्थापना भएको थियो । काठमाडौं उपत्यकामा ढल प्रशोधनका लागि गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र मात्रै पूर्ण रुपमा सञ्चालनमा छ । गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा दैनिक रुपमा २ करोड लिटर पानी प्रशोधन गरेर वाग्मतिमा छाडिन्छ ।

एउटा निर्माणको चरणमा र ३ वटा प्लान्ट अलपत्र अवस्थामा छन् । यी प्रशोधन केन्द्रको क्षमता १४ करोड लिटर प्रतिदिन पानी प्रशोधन गर्न सक्ने श्रेष्ठले बताए । भक्तपुरको सल्लाघारीमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्र ।

धोबीघाटमा ३ करोड ७० लाख लिटर क्षमताको प्लान्ट निर्माण सम्पन्न हुने क्रममा छ । यो वर्षको डिसेम्बरमा निर्माण सम्पन्न हुने आयोजना निर्देशनालयले जनाएको छ । डीबीओ(डिजाइन, बिल्ट र ओपरेट) मोडलमै चिनियाँ कम्पनी सीजीसीओसी र अटल जेबीलाई पीआईडीले ठेक्का दिएको हो ।

यो परियोजना पूर्ण रुपमा कार्यान्वयनमा जाँदा धोबीखोला करिडोरको ढल व्यवस्थापन केही हदसम्म कम हुने उनले बताए । धोबी खोला क्षेत्रमा सिधै जडान भएका ढल व्यवस्थापनका लागि आयोजनाले ‘इन्टरसेप्टिङ सिवर’ निर्माण गरेको छ । धोबीखोलाको करिडोरको दुवै क्षेत्रमा सिवर निर्माण गरेर बस्तीबाट आउने ढललाई धोबीघाटमा निर्माणाधीन रहेको प्रशोधन केन्द्रमा लगिने तयारी छ । यसलाई एकीकृत प्रणालीमा लगेर ढललाई सिधै प्रशोधन केन्द्रमा पुर्‍याइने उपनिर्देशक समेत रहेका श्रेष्ठले बताए ।

यस्तै,भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोबीघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको ठेक्का सम्झौता रद्द भएको छ । यी प्रशोधन केन्द्रका क्षमता प्रतिदिन ५ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने उल्लेख छ । केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले फोहोर पानी प्रशोधन गर्नका लागि चीनको साफबोन वाटर सर्भिस (होल्डिङ) इन्कसँग बीडीओ मोडलमा सम्झौता गरेको थियो । तर उक्त सम्झौता अनुसार काम नगरेपछि ठेक्का रद्द गरेको हो ।

पाँचपटकसम्म पीआईडीले म्याद थप गर्दा पनि निर्माण सम्पन्न नगरेपछि सम्झौता रद्द गरिएको श्रेष्ठले कान्तिपुरलाई बताए । उनका अनुसार उक्त कम्पनीले करिब २७ प्रतिशत मात्रै काम गरेको थियो ।

२ वर्ष ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म सञ्चालन गर्ने गरी सन् २०१७को जनवरीमा सम्झौतामा भएको थियो । केन्द्र निर्माणका लागि पीडीआईले ३ अर्ब ९२ करोड रुपैयाँमा उक्त कम्पनीसँग सम्झौता गरेको थियो । प्रशोधन केन्द्रको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

समयमा नै प्रशोधन केन्द्र निर्माण कार्य सम्पन्न हुन नसक्नुमा ठेक्का सम्झौता गर्दा कम मूल्यमा कबुल गर्ने परिपाटी रहेको श्रेष्ठले बताए ।

नयाँ प्रशोधन केन्द्र निर्माणको तयारी

सम्झौता रद्द गरिएका प्रशोधन केन्द्र निर्माणका लागि पीआईडीले नयाँ टेन्डरको थालनी गरेको छ । यस्तै, दुई वटा प्रशोधन केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ । हनुमान घाटमा १० लाख लिटर क्षमताको र गोकर्णेश्वर क्षेत्रमा ३० लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्र निर्माणको डिजाइन भइरहेको छ ।

गुहेश्वरको फोहोरपानी प्रशोधन केन्द्र ।

यी प्रशोधन केन्द्रका डिजाइन टिम्स बीसीपीएल जेभीले ठेक्का पाएको छ । यसको डिजाइन सन् २०२२ को मार्चमा भएको थियो । सम्झौता भएको मितिदेखि १८ महिनाभित्रमा सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

ढललाई व्यवस्थापन गर्नका लागि सरकारले गुहेश्वरीमा १ करोड ६० लाख लिटरको क्षमताको प्रशोधन केन्द्र निर्माण गर्ने तयारी पनि गरिरहेको छ । यस्तै, बालकुमारीमा अर्को १ करोड ७५ लाख लिटर क्षमताको अर्को प्लान्ट बनाउने योजना चलिरहेको छ । धोबीघाट क्षेत्रको क्याचमेन्टमा पनि अर्को प्लान्ट बनाउने योजना बनिरहेको पीआईडीले जनाएको छ ।

प्रशोधन केन्द्र नै समाधान हो त ?

त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. छत्रमणि शर्मा पानी प्रशोधन निर्माण गरेकै भरमा मात्रै नदी सफाइ नहुने बताउँछन् । उनी भन्छन्, ‘जबसम्म घरयासी र औद्योगिक ढललाई सिधै खोलामा फाल्छौं तबसम्म नदी सफाइ हुन सक्दैन । प्रशोधन केन्द्र निर्माण गर्ने र भएभरको ढल हालिदिदा क्षमताले नधान्न पनि सक्छ । ट्रिटमेन्ट प्लान्टहरुलाई अझ व्यवस्थित गर्न सक्नुपर्छ ।’ उनले ढलका पाइपलाई एकीकृत प्रणालीमा राखेर ट्रिटमेन्ट प्लान्टमा जडान गरेर फोहोरपानी प्रशोधन गर्न सकिने बताए ।

उनले काठमाडौंका नदीहरु माथिल्लो र तल्लो तटीय क्षेत्रमा जिवित देखिएपनि सहरको मुख्य क्षेत्रमा मृत अवस्थामा रहेको बताए । उनले मुख्य क्षेत्रकाका नदीलाई पुर्नजीवन दिन सकिने बताए ।

गुहेश्वरको फोहोरपानी प्रशोधन केन्द्र ।

प्राध्यापक शर्माले नदी सफाईको नाममा कनिका छरे जसरी नै कार्यक्रम तथा योजनाहरु ल्याउँदा त्यसले ठोस नतिजा दिन नसकेको बताए । उनले नदी पुर्नस्थापना र सफाइका लागि एकीकृत रुपमा काम गर्न सुझाव दिए । ‘नदी सफाईका लागि सबैले एक ठाउँमा उभिएर काम गरेका छैनन् । सानो सानो काम गर्दा कसैको कामको नतिजा देखिएको छैन । थोरै थोरै पानीबाट पखाल्छु भन्दा ढिला हुन्छ तर त्यही थोरै पानीलाई जम्मा गरे पखाल्न सकिन्छ,’ उनले भने ।

सहरी क्षेत्रमा नदी आएपछि जैविक प्रदूषण र फोहोरको मात्रा धेरै हुँदा नदीको तल्लो भाग भेटिँदैन । तल्लो भागमा हुने बालुवा,ढुंगालगायतको स–सना गिटीहरुलाई प्रदूषकले छोप्दै जादा लेदो धेरै बढ्ने तचामोले बताइन् । प्राकृतिक रुपमा नदीमा हुनुपर्ने पानीको प्रशोधन हुन नपाउँदा प्रदूषण झनै बढेको उनको भनाइ छ ।

प्रशोधन केन्द्र पूर्ण रुपमा सञ्चालन नआउँदा समस्या भएको उनले बताइन् । ‘प्रशोधन केन्द्र आवश्यकता हो । पानी शुद्ध बनाउने है प्रशोधन केन्द्रले हो । तर काठमाडौंका नदीमा अहिले धेरै नै लेदो जम्मा भइसकेको छ । सफा पानी हालेपनि नदीमा पानी मात्रै बग्छ । तर नदीको तल्लो तह(सब्स्ट्रेट) सफा नगरेसम्म समस्या समाधान हुँदैन,’ उनले भनिन् ।

प्रकाशित : आश्विन १३, २०७९ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×