१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बालुवाटारमा कांग्रेेस संसदीय समितिको बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठक बसिरहेको छ । आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा निर्वाचन आयोगमा बुझाइसकिएको समानुपातिक उम्मेदवारको बन्द सूची मिलाउने र प्रत्यक्षतर्फ उम्मेदवारहरुको विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।

बालुवाटारमा कांग्रेेस संसदीय समितिको बैठक जारी

समानुपातिक बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेको गुनासो गर्दै शेखर कोइराला समूहले आन्दोलन थालेपछि सभापति शेरबहादुर देउवाले बन्द सूची सच्याउने र प्रत्यक्षतर्फका समेत उम्मेदवार चयनबारे छलफल गर्न शीर्ष नेताहरुको बैठक राखेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित शीर्ष नेताहरु सहभागी छन् । समानुपातिक उम्मेदवारको सूचीमाथि विरोध भएपछि सभापति देउवाले त्यसलाई सच्याउन सकिने भन्दै छलफल थालेका थिए । बुधबार दिनभर नै पदाधिकारीहरुले बालुवाटारमा त्यसबारे आन्तरिक गृहकार्य गरेका थिए ।

बिहीबार बिहान बत्तिसपुतलीमा आफूपक्षीय कार्यकर्ताका लागि दसैंको शुभकामना आदान प्रदान गरेका नेता कोइराला र महामन्त्री थापा लगत्तै रणनीतिक छलफलमा जुटेका थिए । त्यसक्रममा नेता कोइरालाले उपसभापति गुरुङ, महामन्त्री थापासहित नेताहरुसँग रणनीतिक छलफल गरेका थिए भने त्यसपछि पार्टी पदाधिकारी बैठकका लागि बालुवाटार पुगेका छन् ।

बैठकले समानुपातिक सूचीलाई अन्तिम रुप दिने र गठबन्धनमा सिट बाँडफाँटमा पार्टीले लिने सिटबारे सहमति जुटाउने तयारी छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्ने समय असोज १६ गतेसम्मको सीमा तोकेको छ ।

कांग्रेसले अहिले बुझाएको १०९ जनाको सूचीमा कोइराला समूहबाट १४ जनाको मात्रै नाम छ । नेता कोइरालाले ४० प्रतिशत भागबन्डा नगरेर न्यायोचितरुपमा उम्मेदवार चयन हुनुपर्ने दाबी गरेका छन् । तर दोस्रो तहका नेताहरु भने सभापति देउवाले न्यायोचित व्यवहार गर्न नजान्ने भन्दै ४० प्रतिशत भागबण्डा हुनुपर्ने भन्दै आएका छन् ।

कोइराला समूहले विरोध जनाएपछि प्रवक्ता प्रकाशशरण महतले भने पार्टीभित्र उम्मेदवार चयनका विषयमा कुनै विवाद नरहेको बताएका थिए । उनले सर्वसम्मत प्रक्रियाबाट उम्मेदवार चयन भइरहेको बताएका थिए ।

प्रकाशित : आश्विन १३, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?