शेखर-गगन समूहको चियापान कार्यक्रम : टिकट माग्नेको 'लर्को'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेता शेखर कोइराला  र महामन्त्री गगन थापाको समूहले दसैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस खबरदारी अभियानको ब्यानरमा गरिएको चियापान कार्यक्रममा शुभकामना आदानप्रदानभन्दा पनि टिकटको चर्चा बढी भएको थियो ।

शेखर-गगन समूहको चियापान कार्यक्रम : टिकट माग्नेको 'लर्को'

संस्थापन पक्षले आफूहरूलाई पेलेरै समानुपातिक बन्दसूची तयार गरेको र प्रत्यक्षतर्फ पनि टिकट खोस्न खोजेको गुनासो गर्नेहरू चियापानमा धेरै थिए ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित चियापान कार्यक्रममा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतकाका नेता उपस्थित थिए ।

पार्टीका पूर्वपदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू पनि सहभागी भएको उक्त कार्यक्रममा कोइराला र थापा औपचारिक सम्बोधनबिनै निस्किएका थिए ।

उनीहरू टिकट माग्ने नेता/कार्यकर्ताले घेरिएका थिए । उनीहरूले कार्यकर्ताको गुनासो सुन्दै भने, 'त्यही नाम नपरेर तपाईं-हामी सबै यहाँ भेला भएका छौं । नत्र त आफ्नै पार्टीमा न्यायका लागि लड्नै पर्दैन थियो नि ।' नेताहरूले नेतृत्वसँग आफूहरूका मागबारे छलफल भइरहेको भन्दै कार्यकर्तालई आश्वस्त पार्न खोजेका छन् ।

कोइराला समूहले समानुपातिकतर्फको बन्द सूचीमा आफ्नो समूहका नेताहरूको नाम समावेश नगरिएको, गरिएकाहरूको नाम पनि निर्वाचित हुने गरी समावेश नगरिएको र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा आफ्नो समूहका नेताहरूको मात्रै नाम राखेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित : आश्विन १३, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?