कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
कांग्रेस विवाद

टिकट नपाउने त्रास

प्रकाश धौलाकोटी

काठमाडौँ — आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाए, अब प्रत्यक्षतर्फ उम्मेदवार चयनको रस्साकस्सी चलिरहेको छ । यही बेला सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा भने उम्मेदवार चयनले आन्तरिक विवाद र संघर्ष उत्कर्षमा पुगेको छ ।

टिकट नपाउने त्रास

१४ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका शेखर कोइराला पक्षका नेता-कार्यकर्ताले समानुपातिकतर्फ पार्टीले बुझाएको सूची सच्याउनुपर्नेदेखि प्रत्यक्षतर्फको टिकट वितरण न्यायोचित हुनुपर्ने सम्मका माग राखेर संघर्ष जारी राखेका छन् ।

दुई सातायता दिनहुँजसो गुटगत बैठक, छलफल र विरोधसभा गरिरहेका नेता कार्यकर्ताले बुधबार केन्द्रीय कार्यालयमै पुगेर धर्ना दिए, बिहीबार पनि नेता कोइरालासहित पदाधिकारीहरूले चियापान समारोह गर्दै खबरदारी गरेका छन् । पार्टीभित्र अवसरको बाँडफाँड र वितरण गर्दा सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफूलाई भोट हाल्नेलाई प्राथमिकता दिएको, र प्रतिस्पर्धा गर्नेलाई नियतवश पाखा लगाएर अघि बढ्ने प्रयास गरेको कोइराला समूहका नेताहरूको आरोप छ ।

‘पार्टीभित्र सधैं दुई लाइन संघर्ष हुँदै आएको हो । तर, अहिलेजस्तो एकलौटी भएको थाहा छैन,’ नेता गुरुराज घिमिरेले भने, ‘लोकतान्त्रिक पार्टीभित्र चुनावमा टिकट बाँड्ने बेला नेतृत्वले महाधिवेशनमा यसले मलाई भोट हाल्यो कि हालेन भन्ने कुरालाई बिर्सिएर जनताको बीचमा को लोकप्रिय छ ? कसलाई उम्मेदवार बनाउँदा न्यायपूर्ण हुन्छ ? भनेर तौलिनुपर्छ, अहिले त्यो भइरहेको छैन ।’

नेता कोइरालाले सभापति देउवासँग आफूले निश्चित प्रतिशत वा सिट संख्या पाउनुपर्ने भनेर भागबन्डा भने मागेका छैनन् । तर, उनीनिकट टिकटका आकांक्षी नेताहरू भने भाग नमाग्दा टिकट नै नपाउने भयले त्राही-त्राही बनेका छन् । जसकारण पार्टीभित्र संघर्षमा उत्रिएका उनीहरू भागबन्डा मागेर जानुपर्ने भन्दै नेता कोइरालामाथि दबाब बनाइरहेका छन् ।

कांग्रेसको विवादले सत्ता गठबन्धनमासमेत सिट बाँडफाँटको गाँठो खुकुलिएको छैन । चुनावी तालमेल गर्दा कांग्रेसले १०० सिट राख्नुपर्ने दाबी गरिरहेको कोइराला समूहले गठबन्धनमा ८०/८५ सिट मात्रै लिएर तालमेल भएको अवस्थामा पार्टीभित्र आफू पक्षीय नेताहरूको उम्मेदवारीको सुनिश्चितता खोजिरहेको छ ।

टिकटका लागि ७७ वटै जिल्ला र सबै संघ र प्रदेश क्षेत्रहरूमा कोइराला समूहका नेताहरू लबिङ गरिरहेका छन् । तर, महाधिवेशनमा प्रतिस्पर्धी भएकै कारण टिकट वितरणमा सभापति देउवाले भेदभावपूर्ण व्यवहार गर्ने विषयले कोइराला समूहका नेता भयभित देखिन्छन् ।

‘हामीलाई टिकट नदिने गरी सिट बाँडफाँटमै षड्यन्त्र भइरहेको छ, सभापतिजीको व्यवहारले चुनावको मुखमा साथीहरू ढुक्क भएर जनताको बीचमा जान सक्नुभएको छैन,’ नेता जगदीश्वरनरसिंह केसीले भने, ‘जहाँ कोइराला समूहको नेताको राम्रो सम्भावना छ, त्यो क्षेत्र नै गठबन्धनको अर्को दललाई दिने, र जहाँ आफूनिकट कार्यकर्ता उठ्न चाहान्छ, त्यो सिटमात्रै कांग्रेसले लिने गरी सिट बाँडफाँटको षड्यन्त्र रचिएको छ । अहिले त हाम्रो खबरदारीमात्रै हो, यदि व्यवहारमै त्यस्तै भयो भने हामीले अप्रिय निणर्य लिनुपर्ने हुनसक्छ ।’

१४ असोजसम्म समानुपातिकतर्फको बन्दसूची सच्याउन माग गरिरहेका नेताहरू प्रत्यक्षतर्फ पनि आफ्नो पक्षका नेताहरूको टिकटको सुनिश्चितता गर्नुपर्ने भनिरहेका छन् ।

कोइराला समूहबाट नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डेलगायत केही नेताबाहेक सबैजसो नेताहरूको टिकट जोखिममा परेको छ । महाधिवेशनमा कोइरालालाई सभापति बनाउने अभियानमा लागेका र कोइराला समूहबाट उम्मेदवार बनेर पराजित भएकाहरू टिकट नपाउने त्रासमा छन् ।

कोइराला समूहका वरिष्ठ नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत नेताहरू नै टिकट नपाउने त्रासमा छन् । केसीद्वय हाल केन्द्रीय सदस्य छन् ।

०४० सालमै नेपाल विद्यार्थी संघको सभापति बनेका बलबहादुर केसी सभापति देउवाको उमेर समूहका नेतामध्येमा पर्छन् । तर, उनको क्षेत्र सोलुखुम्बुबाटै उनको नाम सिफारिस भएर आएको छैन । ०७४ मा माओवादी केन्द्रका हेमकुमार राईसँग पराजित केसी पुनः प्रत्यक्षमै चुनाव लड्न चाहन्छन् । तर, गठबन्धनमा सिट बाँडफाँट हुँदा सोलुखुम्बु कांग्रेस वा माओवादी केन्द्र कसको भागमा पर्ने ? निश्चित छैन ।

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको नाम पनि जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएको थियो । त्यसमा उनले असहमति जनाएका थिए । तर, निर्वाचन आयोगमा बुझाइएको सूचीमा उनको नाम छैन । उनी नुवाकोट-२ बाटै चुनाव लड्न चाहन्छन् ।

महाधिवेशनमा कोइराला समूहबाट उपसभापतिको प्रत्यासी रहेका भण्डारी र महामन्त्रीका प्रत्याशी रहेका रिजाल पार्टीको केन्द्रीय समितिमै छैनन् । उपसभापतिमै पराजित विजयकुमार गच्छदारदेखि पदाधिकारीमा पराजित अधिकांश नेता केन्द्रीय सदस्य मनोनीत भए, तर सभापति देउवाले रिजाल र भण्डारीलाई केन्द्रीय सदस्यमा ल्याउन चाहेनन् ।

०७४ मा वाम गठबन्धन हुँदा समेत मोरङ-२ बाट निर्वाचित भएका रिजाल फेरि त्यहीँबाट उम्मेदवारका आकांक्षी हुन् । तर, सो क्षेत्रबाट नेता सुजाता कोइरालाको समेत दाबी छ । अब सभापति देउवाले मोरङ-२ मा महाधिवेशनमा सहयोगी बनेकी कोइरालालाई रोज्लान् वा रिजाललाई नै टिकट देलान् ? कोइराला समूहका नेताहरू सशंकित छन् । भण्डारी भने गुल्मी-१ बाट आकांक्षी छन् ।

महाधिवेशनमा कोइराला समूहबाट सहमहामन्त्रीका प्रत्याशी रहेका रामकृष्ण यादव फेरि धनुषा-२ बाटै उम्मेदवार बन्न चाहन्छन् । तर, गठबन्धनमा सो क्षेत्र कांग्रेसले लिने वा माओवादी केन्द्रलाई दिने भन्ने निश्चित छैन ।

कोइराला समूहबाटै टिकटका लागि जोडबल गरिरहेका नेताहरू अर्थशास्त्री स्वर्णिम वाग्ले, नेपाल क्रिकेट संघका अध्यक्ष भइसकेका चतुरबहादुर चन्द, केन्द्रीय सदस्यहरू सरिता प्रसाईं, राजीव कोइराला, किरण यादव, मधु आचार्य, सञ्जय गौतम, अजयबाबु शिवाकोटी, गोविन्द पोखरेललगायत नेताहरू टिकट नपाउने त्रासमा छन् ।

अर्थशास्त्री वाग्ले चितवन-१ बाट उम्मेदवार बन्न चाहन्छन् । तर, त्यहीँबाट उनीसहित अर्का अर्थशास्त्री विश्व पौडेल र राज्यमन्त्री उमेश श्रेष्ठसमेतको नाम सिफारिस भएको छ ।

त्यस्तै, बैतडीबाट जिल्ला सभापति चतुरबहादुर चन्द उम्मेदवारका आकांक्षी छन् । कोइराला समूहका नेता उनी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष भइसकेका नेता हुन् ।

०७४ मा प्यूठानबाट चुनाव लडेका केन्द्रीय सदस्य पोखरेल फेरि त्यहीबाट चुनाव लड्न आकांक्षी छन् । तर, गठबन्धनमा सो क्षेत्रमा राष्ट्रिय जनमोर्चाको बलियो दाबी छ । त्यस्तै गठबन्धनबाटै पूर्वएमाले नेता वामदेव गौतमले पनि प्यूठानबाटै चुनाव लड्ने आकांक्षा व्यक्त गरेका छन् ।

गठबन्धनकै कारण झापा-२ मा केन्द्रीय सदस्य प्रसाईं, दोलखामा केन्द्रीय सदस्य शिवाकोटी, सुनसरी-२ मा राजीव कोइराला, काभ्रे-२ मा मधु आचार्य र बर्दिया-१ मा सञ्जयकुमार गौतमलगायतले टिकट पाउने वा नपाउने भन्ने निश्चित छैन । गठबन्धनमा झापा-२ र दोलखामा माओवादी केन्द्रले दाबी गरेको छ भने बर्दिया-१ मा वामदेव गौतमको समेत चर्चा छ ।

प्रवक्ता प्रकाशशरण महत भने पार्टीले गठबन्धनमा सिट बाँडफाँटको टुंगो लागेपछि योग्य, सक्षम र बलियो व्यक्तिलाई उम्मेदवारका रूपमा उभ्याउने दाबी गर्छन् । ‘यो वा त्यो गुटको भन्ने होइन, कहाँ कसले जित्न सक्छ ? कसको राम्रो जनमत छ ? त्यो कुरा हेरेर पार्टीले उम्मेदवार चयन गर्ने हो,’ प्रवक्ता महतले भने ।

कांग्रेसको विधानअनुसार केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्छ । सो समिति २५ सदस्यीय हुने व्यवस्था भए पनि अहिले समितिमा १४ जना मात्रै छन् । सभापति देउवाले पदाधिकारीबाहेक रामचन्द्र पौडेललाई मात्रै समितिमा मनोनीत गरेका छन् । सभापति देउवाले उम्मेदवार चयनमा पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूलाई समेत बोलाएर छलफल गर्दै आएका छन् ।

विधानअनुसार संसदीय समितिले सकेसम्म सर्वसम्मत, नभए बहुमतले निणर्य गरेर उम्मेदवार छान्न सक्ने व्यवस्था छ, हाल रहेको १४ सदस्यीय समितिमा कोइराला समूहबाट उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमात्रै छन् ।

यी हुन् कोइराला समूहका दाबी रहेका निर्वाचन क्षेत्र

मोरङ- ६ - शेखर कोइराला

काठमाडौं-४ - गगन थापा

स्याङ्जा-२ - धनराज गुरुङ

गुल्मी-१ - चन्द्र भण्डारी

मोरङ-२ - मीनेन्द्र रिजाल

बाजुरा - बद्री पाण्डे

दार्चुला - दिलेन्द्रप्रसाद बडु

सोलुखुम्बु - बलबहादुर केसी

नुवाकोट-२ - अर्जुननरसिंह केसी

चितवन-१ - स्वर्णिम वाग्ले

महोत्तरी-२ - किरण यादव

दोलखा - अजयबाबु शिवाकोटी

प्यूठान - गोविन्द पोखरेल

रुपन्देही-४ - प्रमोदकुमार यादव

बर्दिया-१ - सञ्जयकुमार गौतम

काभ्रे-२ - मधु आचार्य

झापा-२ - सरिता प्रसाईं

इलाम-२ - भेषराज आचार्य

मोरङ-१ - डिकबहादुर लिम्बु

मोरङ- ३ - सुनिल शर्मा

सुनसरी- २ - राजीव कोइराला

तेह्रथुम - तुलसी सुब्बा

सर्लाही-४ - अमरेशकुमार सिंह

धनुषा-२ - रामकृष्ण यादव

सप्तरी-४ - तेजुलाल चौधरी

धादिङ - रमेश धमला/रामनाथ अधिकारी

सुर्खेत-२ - हृदयराम थानी

कालिकोट - भुपेन्द्रजंग शाही

बैतडी - चतुरबहादुर चन्द

प्रकाशित : आश्विन १३, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?