१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डेंगीमुक्त भएकामा कपाल झर्ने समस्या 

अतुल मिश्र

काठमाडौँ — डेंगी निको भइसकेकाहरूमा कमजोरी, हाडजोर्नी तथा मांसपेशी दुखाइ, कपाल झर्नेलगायत समस्या देखिएको छ । संक्रमणमुक्त भए पनि रोग प्रतिरोधक क्षमता कम भएका वा दीर्घरोगीमा यसको असर लामो समय रहने विज्ञ बताउँछन् । ६ महिना वा त्योभन्दा बढी समयसम्म त्यस्ता स्वास्थ्य समस्या देखिन सक्ने उनीहरूको भनाइ छ ।

डेंगीमुक्त भएकामा कपाल झर्ने समस्या 

हालसम्म ७७ जिल्लामै २७ हजार ५ सय ६९ जनामा डेंगी संक्रमण देखिएको छ भने ३६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगी संक्रमण निको भएपछि देखिएका स्वास्थ्य समस्या र जटिलताबारे क्लिनिकल विज्ञसँग बसेर आवश्यक निर्णय लिइने बताए । त्यसपछि डेंगीमुक्त भएपछि देखिने समस्या र त्यसमा अपनाइने सावधानीबारे दिशानिर्देश गरिने उनको भनाइ छ ।

डेंगी निको भइसकेका व्यक्तिहरूको शरीरमा पहिलो स्तरमा तागत फर्किन बढी समय लागिरहेको देखिएको छ । ‘निको भइसकेकामध्ये धेरैजसो अत्यधिक कमजोरीको समस्या लिएर आइरहेका छन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुस्थित डेंगी क्लिनिकका डा. राजेश साहले भने, ‘रोग निको भइसकेपछि सामान्यतया चार साता वा कसै–कसैमा योभन्दा बढी समयसमेत कमजोरीको समस्या देखिएको छ ।’ उनका अनुसार कमजोरी मात्र नभई, जोर्नीलगायत शरीर दुख्ने, खाना नरुच्नेलगायत समस्या बढी पाइएको छ ।

डेंगी निको भएका केही महिला कपाल झर्न थालेको समस्या लिएर आउन थालेका वरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले बताए । ‘संक्रमणपछि सामान्यतया एक–डेढ महिनासम्म छाला सुक्खा हुने, चिलाउने, बिमिरा देखिने हुन सक्छ,’ उनले भने, ‘तर कपाल झर्ने समस्या स्थायी भने हुँदैन । छाला र कपालसँग सम्बन्धित समस्या सामान्यतया एक डेढ महिनापछि आफैं निको हुन्छ ।’ यस्तो अवस्थामा पौष्टिक आहार र झोलिलो पदार्थ पर्याप्त सेवन गर्नुपर्ने उनले बताए ।

नेपाल प्रहरी अस्पताल हाडजोर्नी विभाग प्रमुख डा. गोपेशकुमार ठाकुर संक्रमितमा हाडजोर्नी वा मांसपेशीको दुखाइ ६ महिना वा त्योभन्दा बढी समयसम्म देखिन सक्ने बताउँछन् । यस्तो समस्याको निश्चित उपचार नरहेको र समयक्रममा आफैं निको हुने उनको भनाइ छ । ‘हाडजोर्नी, मांसपेशी दुखाइ भएमा गह्रौं वस्तु उचाल्नु हुँदैन,’ डा. ठाकुरले भने, ‘यस्तो समस्या देखिए नियमित योग र सामान्य ‘स्ट्रेचिङ’ गर्दा हुन्छ ।’

अघिल्ला वर्षजस्तै यस पटक पनि डेंगी संक्रमणबाट निको भएकामा महिनौंसम्म कमजोरी, हाडजोर्नी र मांसपेशी दुखाइ, कपाल झर्नेलगायत समस्या देखिएको मेडिसिन विशेषज्ञ डा. अनुप बाँस्तोलाको भनाइ छ । निद्रा नलाग्ने, मुटुको चाल बढ्ने, स–साना कुरामा झिँझो लाग्ने, रिंगटा लाग्ने, आँखाको गेडी दुख्ने, मानसिक समस्या, चिन्ता, काममा मन नलाग्ने, आत्तिने, छालामा बिमिरा देखिने, चिलाउने जस्ता समस्या लामो समयसम्म देखिन सक्ने विभिन्न अध्ययनले देखाएको उनले बताए ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?