वैकल्पिक राजनीतिलाई ‘धोका’

सम्भावना बोकेका बाबुराम भट्टराई र रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिलाई अघि बढाउन खोजे, तर व्यक्तिगत महत्वाकांक्षा सम्बोधन गर्ने संगठन बनाउन नसक्दा पुरानै शैली र एजेन्डामा स्थापित दलको शरणमा पुगेका हुन्
रवीन्द्रजीको मनभित्र एउटा रहेछ, बाहिर अर्को कुरा गर्नुभयो, बाबुरामजी आत्तिनुभयो, डराउनुभयो, बुढेसकाल लाग्यो, ४–५ वर्ष कोसिस गर्दा भएन भन्ने निराशा उहाँमा देखियो । - डम्बर खतिवडा
वैकल्पिक राजनीतिक दल बनाउने भन्दै भट्टराई र मिश्र दुवैले ढाँट्नुभयो, सँगै काम गर्दै जाँदा रवीन्द्रजीमा दक्षिणपन्थी अवसरवाद देखापर्‍यो, बाबुरामजीले माओवादी लगाब छाड्न सक्नुभएन । - केशव दाहाल
मणि दाहाल

काठमाडौँ — नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र राप्रपाका नवनियुक्त वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमा एउटा समानता छ– ट्वीटरमा फलोअर्स संख्या १० लाखभन्दा बढी । नेपालका थोरै मात्र नेताको मात्र ट्वीटरमा ‘१० लाख’ फलोअर्स छन् ।

वैकल्पिक राजनीतिलाई ‘धोका’

अर्को पनि समानता बनेको छ– अन्य पेसामा संलग्न हुँदा पनि राम्रो सम्भावना बोकेका भट्टराई र मिश्रले वैकल्पिक राजनीतिलाई अघि बढाउन खोजेका थिए ।केही वर्षकै प्रयासपछि भट्टराई र मिश्र दुवै पुरानो राजनीतिक दलको शरणमा पुगेका छन् ।

भट्टराई आफ्नो पुरानो दल माओवादीको चुनाव चिह्न लिएर चुनाव लड्दै छन् । भूकम्पले भत्किएर बस्न नहुने घर भन्दै माओवादी छाडेका भट्टराई त्यसकै शरणमा पुगेको एक महिना नपुग्दै मिश्र बुधबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो समूहसहित पूर्वपञ्चहरूको राजनीतिक राप्रपामा विलय भएका छन् ।

मिश्र यसलाई एकता गरेर राप्रपाको वरिष्ठ उपाध्यक्ष भएको भन्न रुचाउँछन् । ‘दुवै (भट्टराई र मिश्र) ले वैकल्पिक राजनीतिलाई अवसरका रूपमा उपयोग गर्न खोज्नुभयो । संसारमा कहिले पनि राजनीति अवसर मात्रै बन्दैन । त्यसमा प्रतिबद्धता र दुःख पनि जोडिएर आएको हुन्छ,’ लेखक तथा टिप्पणीकार डम्बर खतिवडाले भने, ‘यहाँ चकाचौध हुन्छ, सबै मानिसले नयाँ कुरा खोजेका छन्, हामी सफल भइहाल्छौं भन्ने तरिकाले उहाँहरू आउनुभयो ।’

२०७२ सालमा संविधान जारी भएपछि नयाँ परिस्थिति निर्माण भएको भन्दै माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गर्दादेखि भट्टराईसँग खतिवडा जोडिँदै आएका थिए । नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता भएर बनेको समाजवादी पार्टी, समाजवादी पार्टी र जनता राष्ट्रिय जनता पार्टी एकतापछि बनेको जनता समाजवादी पार्टी (जसपा) सम्म भट्टराई र खतिवडा सँगै थिए ।

भट्टराईले जसपासमेत छाडेर नेपाल समाजवादी पार्टी खेल्ने निर्णय गरेपछि खतिवडाले केही महिनाअघि उनको साथ छाडेका थिए । मिश्रले भने २०७३ फागुनमा आफ्नो नेतृत्वमा साझा पार्टी गठन गरेका थिए । २०७४ को स्थानीय निर्वाचनको परिणामबाट उत्साहित साझा पार्टी र विवेकशील नेपाली दलले २०७४ साउन ११ मा एकता गरे ।

त्यसलगत्तैको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ मा उम्मेदवार बनेका मिश्र कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग ८ सय १८ मतको झिनो अन्तरले पराजित भएका थिए । एकताको १७ महिनापछि २०७५ पुसमा विवेकशील साझा पार्टी फुट्यो । दुई वर्ष नपुग्दै २०७७ मंसिर २४ मा एकता भयो । त्यसको एक वर्ष पनि नपुग्दै मिश्रले राजनीतिको वैकल्पिक मार्गचित्र ल्याएपछि विवेकशील साझा पार्टीमा अन्तरसंघर्ष चर्कियो । आम निर्वाचनको संघारमा मिश्र विवेकशील साझा छाडेर राप्रपामा मिसिएका छन् ।

राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा मिश्रसहितको टोलीको राप्रपामा स्वागत गर्दा शंख र घण्ट बजाइएको थियो । योसँगै मिश्रले वैकल्पिक राजनीतिको धार औपचारिक रूपमा विसर्जन भएको संकेत पनि गरेका छन् । राप्रपा २०६२–६३ सालको राजनीतिक परिवर्तनका प्रमुख उपलब्धिहरू संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विपक्षमा छ । एक वर्षअघि नै धर्मनिरपेक्षता र संघीयतामाथि जनमत संग्रह माग गरेका मिश्रले बुधबार पनि संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षताले देशलाई अघि लैजान नसक्ने टिप्पणी गरेका थिए ।

खतिवडा मिश्र दक्षिणपन्थी अवसरवाद र भट्टराईको भूमिका वामपन्थी अवसरवादी रहेको टिप्पणी गर्छन् । ‘यो काम सम्भव छैन भन्ने लागेको भए नयाँ शक्ति पार्टी खोलेर ७–८ वर्ष मानिसलाई किन झुलाउनुपर्थ्यो । माओवादी पार्टीभित्र रहेर देशलाई योगदान गरेको भए भइहाल्थ्यो,’ उनले भने ।

भट्टराई र मिश्र दुवैको दलमा काम गरेका लेखक तथा टिप्पणीकार केशव दाहाल दुवैले वैकल्पिक राजनीतिक दल निर्माण गर्दा ढाँटेको बताउँछन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएसँगै मोटामोटी रूपमा राजनीतिक परिवर्तनको कोर्स सकियो भन्ने थियो । सामाजिक, आर्थिक बदलावको युग आयो, परिवर्तनलाई संस्थागत गर्ने जनताको सपना पूरा गर्ने बेला आयो, त्यसका लागि नयाँ युगको नेतृत्व गर्ने नयाँ दल बनाऔं भन्नुभएको थियो । त्यसमा उहाँहरूले ढाँट्नुभयो,’ दाहालले भने, ‘सँगै काम गर्दै जाँदा रवीन्द्रजीमा दक्षिणपन्थी अवसरवाद देखापर्‍यो । बाबुरामजीले माओवादी लगाब छाड्न सक्नुभएन ।’

मिश्रले साझा पार्टी गठन गर्दा ‘कल्याणकारी प्रजातन्त्र र उदार कल्याणकारी अर्थतन्त्र’ अंगाल्ने बताएका थिए । त्यतिबेला बुद्धिजीवी, पूर्वप्रशासक, विभिन्न क्षेत्रमा काम गर्दै आएका व्यक्ति र पत्रकारलाई उनले आकर्षित गरेका थिए । पार्टी गठनलगत्तै २०७४ वैशाखमा स्थानीय चुनावमा साझाले काठमाडौं महानगरपालिकामा नजिते पनि राम्रो मत ल्याएको थियो ।

महानगरको चुनावमा प्रशंसनीय मत पाएको अर्को ‘वैकल्पिक राजनीतिक शक्ति’ विवेकशील नेपालीसँग एकता गरेर बनाइएको विवेकशील साझा पार्टीले २०७४ सालको आम निर्वाचनमा पनि राम्रै मत पाएको थियो । प्रतिनिधिसभामा कुनै सिट नजिते पनि प्रदेशसभामा प्रतिनिधित्व गराउन विवेकशील साझा सफल भयो । कांग्रेसको परम्परागत गढ काठमाडौं–१ मा मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहलाई ठूलै चुनौती दिए ।

मिश्रले गत वर्ष राजनीतिको वैकल्पिक मार्गचित्र ल्याएपछि विवेकशील साझामा अन्तरकलह चर्किएको थियो । उनले नितान्त व्यक्तिगत भन्दै करिब साढे १० हजार शब्दको ‘मार्ग परिवर्तन : विचारभन्दामाथि देश’ शीर्षकको दस्ताबेज ल्याएका थिए । उनले सार्वजनिक गरेको धारणाको मुख्य बुँदा स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्ने तथा संघीयता खारेज गर्नुपर्ने भन्ने थियो । धर्म निरपेक्षतालाई जनमत संग्रहबाट निष्कर्षमा पुर्‍याउनुपर्ने पनि मिश्रले दस्ताबेजमा उल्लेख गरेका थिए ।

पार्टी अध्यक्ष मिश्रको प्रस्तावको विपक्षमा संयोजक मिलन पाण्डेले अर्को प्रस्ताव ल्याए । पार्टीभित्र ठूलै विवाद चर्कियो । एकले अर्कोमाथि कारबाही गर्ने शृंखला सुरु भयो । आन्तरिक विवाद नसल्टाई गत वैशाखको स्थानीय तह चुनावमा भाग लिँदा विवेकशील साझा पार्टीले खराब प्रदर्शन गर्‍यो । त्यसको जिम्मेवारी लिँदै मिश्रले अध्यक्ष पद छाडे । त्यसको चार महिनामै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् ।

टिप्पणीकार खतिवडा मिश्रले वैचारिक बेइमानी गरेको बताउँछन् । ‘मिश्रजी पहिलेदेखि नै राजावादी हो भन्ने हल्ला थियो । मनुज चौधरी छद्म नाममा पनि लेखहरू आएकै हुन्,’ उनले भने, ‘उहाँको विचार दक्षिणपन्थी थियो भने सुरुमै राप्रपा गएको भइहाल्थ्यो, किन साझा पार्टी खोलिरहनुपर्थ्यो !’ मिश्रले बुधबारको पार्टी प्रवेश कार्यक्रममा आफ्ना पुराना लेखको पनि स्मरण गरे । नारायणहिटी दरबारलाई भत्काएर दिल्ली दरबार स्थापना गर्न नहुने भनेर त्यसै समयदेखि आफूले लेखेको उनको भनाइ थियो ।

‘बदलिँदो भूराजनीतिक परिवेश, क्षय हुँदै गएको संस्था, नेपालभित्रको विकृत वामपन्थले मिलेर बसेका समुदायलाई चिराचिरा पारे । संसारमा सबैभन्दा बढी धर्मान्तरण भइरहेको छ,’ मिश्रले भने, ‘ममा विचलन आएको भन्ने कांग्रेसका नेताहरूलाई सोध्न चाहन्छु २०४६ मा कांग्रेसमा बढी विचलन आयो कि ममा ?’ कांग्रेसले पहिले अपनाउँदै आएको ‘मोडरेट कन्जरभेटिभ’ धार राप्रपाले बोक्ने र पहिलो पार्टी बन्ने दाबी उनले गरेका छन् । सोमबार विवेकशील साझा पार्टीबाट सदस्यतासमेत छाड्दा मिश्रले राजधानीमा दुई ध्रुव र तीन दल रहने दाबी गरेका थिए । कांग्रेस र एमालेको वामपन्थी कित्ता र राप्रपाको ‘कन्जरभेटिभ’ कित्ता मात्रै रहने उनको भनाइ थियो ।

टिप्पणीकार खतिवडा वैकल्पिक राजनीतिक दल बनाउनुका पछि एउटा प्रगतिशील प्रजातान्त्रिक पार्टी निर्माण उद्देश्य रहेको बताउँछन् । ‘साम्यवाद वा पुँजीवाद जस्तो जार्गन वा भ्रमवाद वा राजावादी, रुढिवादबाट मुक्त भएको एउटा आधुनिक मानवतावादी पार्टी बनाउने खोजिएको हो । पार्टीको आन्तरिक प्रजातन्त्र निकै सशक्त होस्, स्वतन्त्र होस् र सबै कुरा पारदर्शी होस्, राज्यमा विधिको शासनभन्दा बाहिर गएर कुरै नगर्ने होस् भन्ने थियो,’ उनले भने, ‘सबै मानिस बराबर हो भन्ने विचार राख्ने अल्ट्रा मोर्डनिस्ट पार्टी बनाउने, विकास सुशासन र समृद्धि त्यसले दिनुपर्छ भन्ने सोच थियो । त्यो सोचलाई कहाँबाट कहाँ पुर्‍याइदिए !’ खतिवडाले भारतको आम आदमी पार्टी (आप) वा अमेरिकाको डेमोक्य्राटिक पार्टी जस्तो राजनीतिक दल बनाउने सपना त्यति बेला रहेको सुनाए ।

मिश्रसँगै काम गरेका दाहाल भने वैकल्पिक पार्टी बनाउँदाको सोच फरक रहेको बताउँछन् । ‘दुवैले वैकल्पिक, प्रजातान्त्रिक, सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने पार्टी बनाउने बताउनुभएको थियो । जनआन्दोलनले जुन राजनीतिक परिवर्तन दियो, त्यसलाई स्थापित गर्ने र अघि जाने भन्ने थियो,’ उनले भने, ‘राजनीति फेरियो, अब जनताको आर्थिक सामाजिक अवस्था फेर्ने, त्यसका लागि उदार पार्टी बनाउने सोच थियो ।’

खतिवडा र दाहाल भट्टराई र मिश्र दुवैको अवसरवादले वैकल्पक राजनीति गजोलिएको बताउँछन् । ‘व्यक्तिलाई धोका भयो वा भएन भन्दा पनि नेपाली राजनीतिमा नयाँ सम्भावनाको अवस्था बन्दै गएको थियो उहाँहरूले त्यसलाई गिजोल्नुभयो,’ दाहालले भने, ‘नयाँ विचार, कस्तो लोकतन्त्र भन्ने विषयमाथि बहस गर्ने, आजका एजेन्डा के हुन् भन्ने विषयमा बहस गर्ने, त्यो बहस गरेर नयाँ सम्भावनालाई अझ मुखर बनाएर जाने एउटा युगीन अवसर थियो, उहाँहरूले त्यो अवसरलाई धोका दिनुभयो ।’

माओवादीको चिह्न लिएर चुनाव लड्ने घोषणा गरेका भट्टराईले पुष्पकमल दाहालसँगको सहकार्य चुनावको मात्रै नभएको बताउँदै आएका छन् । खतिवडा भन्छन्, ‘रवीन्द्रजीको मनभित्र एउटा रहेछ, बाहिर अर्को कुरा गर्नुभयो । बाबुरामजी आत्तिनुभयो, डराउनुभयो । बुढेसकाल लाग्यो, ४–५ वर्ष कोसिस गर्दा भएन भन्ने एक प्रकारको निराशा देखियो ।’

प्रकाशित : आश्विन १३, २०७९ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?