६७ सय मिटर उचाइमा भेटियो स्की-पर्वतारोही हिलारीको शव

झोला र कपडालाई पछ्याउँदै बुधबार खोजी गर्दा मनास्लु हिमालको ६७ सय मिटर उचाइ हाराहारीमा हिलारीको शव भेटियो ।
सुरज कुँवर

काठमाडौँ — विश्वको आठौं अग्लो हिमाल मनास्लुको आरोहण सकेर स्की गर्दै फर्कने क्रममा बेपत्ता भएकी चर्चित अमेरिकी पर्वतारोही हिलारी नेल्सन दुई दिनपछि मृत अवस्थामा फेला परेकी छन् । १५ वर्षदेखिका स्की सहयात्री जीम मोरिसनसँग ४९ वर्षीया हिलारी मनास्लु आरोहण सकेर फर्किने क्रममा सोमबार बिहान हिमखाडलमा खसेकी थिइन् ।

६७ सय मिटर उचाइमा भेटियो स्की-पर्वतारोही हिलारीको शव

८ हजार १ सय ६३ मिटर उचाइ भएको मनास्लु हिमालको चुचुरोबाट ओर्लिंदा बेपत्ता भएकी हिलारीको शव लमजुङपट्टि दक्षिणतर्फ करिब ६ हजार ७ सय मिटर आसपासमा फेला परेको उद्धारमा खटिएका पाइलट सुरेन्द्र पौडेलले कान्तिपुरलाई बताए ।

हेलिकोप्टरमार्फत गरिएको खोजका क्रममा बुधबार बिहान साढे १० बजे हिलारीलाई मृत भेट्टाएको उनका साथी जिमले इन्स्टाग्राममा लेखेका छन् । जिमका अनुसार सोमबार बिहान १०:४२ मा दुवै जना मनास्लु शिखरमा पुगेका थिए । लगत्तै स्की गर्दै ओर्लिने योजनाअनुसार पहिले जिम ओर्लिए ।

आफूलाई पछ्याउँदै आइरहेकी हिलारी केही घुम्तीपछि सानो हिमपहिरोसँगै हुत्तिँदै साँघुरो हिउँको ढलानमा ठोक्किएर खोचमा खसेकी थिइन् । उनलाई जीवितै उद्धार गर्न दुई दिन मनास्लु हिमालमुनि हेलिकप्टर उडाइएको थियो । मंगलबार पहिलो दिन हेलिकप्टरका पाइलट सिद्धार्थ गुरुङ र जिमले फेला पार्न नसकेपछि दोस्रो दिन बुधबार क्याप्टेन पौडेल जिमलाई लिएर काठमाडौंबाट मनास्लुतर्फ उडेका थिए ।

क्याप्टेन पौडेल र जिम मोरिसनलाई थप मद्दत गर्न आरोही निर्मल पुर्जाले आफ्नो कम्पनीका गाइड युक्त गुरुङ र मिङ्मा तेन्जिङ शेर्पालाई मनास्लु आधार शिविरबाट हेलिकप्टरमा पठाएका थिए । हिलारीलाई खोज्न मंगलबार क्याप्टेन गुरुङले जिमलाई मनास्लु अधार शिविरबाट लगेका थिए । गुरुङका अनुसार मंगलबार घटनास्थल कपडाका आधारमा पहिचान भएको थियो तर खराब मौसमका कारण खोजी प्रभावित भएपछि हेलिकप्टर त्यहाँ अवतरण नगरी साँझ काठमाडौं फर्किएको थियो ।

‘हिजो (मंगलबार) क्याप्टेन गुरुङ र जिमले आकाशबाट हेर्दा झोला र लुगा देखिएको रहेछ, बुधबार त्यही ठाउँ खोज्दै बिहान काठमाडौंबाट उड्यौं,’ क्याप्टेन पौडेलले कान्तिपुरसँग भने, ‘झोला र कपडालाई पछ्याउँदै बुधबार खोजी गर्दा मनास्लु हिमालको ६७ सय मिटर उचाइ हाराहारीमा हिलारीको शव भेटियो । तीन जना उद्धारकर्ताले शव खोजेर हेलिकप्टर भएको स्थानमा ल्याए । त्यहाँबाट मैले शव र दुई जना उद्धारकर्मी गाइडलाई मनास्लुको आधार शिविरमा झारें । दोस्रो खेप उडेर अर्का उद्धारकर्मीलाई आधार शिविरमा ल्याएँ ।’

स्की सहयात्री जिम मोरिसनसँग हिलारी नेल्सन ।

आरोहण दलका लागि पर्यटन विभागले तोकेका सम्पर्क अधिकृत सचिन्द्रकुमार यादवका अनुसार सांग्रिला नेपाल ट्रेक्स प्रालिको व्यवस्थापनमा हिलारी नेल्सन र जिम मोरिसन मनास्लु आरोहण गर्न भदौ १७ मा काठमाडौंबाट गएका थिए । केही वर्षयता मोरिसन हिमाल आरोहणमा हिलारीसँगै जाने र स्कीमा साथ दिँदै आएका थिए । उनीहरूलाई उचाइमा सघाउन सांग्रिलाले ५ जना शेर्पा गाइड पठाएको थियो ।

दुई दशकयता नेपालसहित १६ वटा मुलुकमा ४० बढी हिमाल आरोहण गरेकी कोलोराडो निवासी दुई सन्तानकी आमा हिलारीले सन् २०१२ मा विश्वकै अग्लो हिमाल सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से १२ घण्टाभित्र आरोहण गर्ने विश्वको पहिलो महिलाको रेकर्ड बनाएकी थिइन् । सन् २०१८ मा मोरिसनसँगै उनले ल्होत्सेको चुचुरोबाट स्कीको प्रयोग गरी अवतरण गर्ने कीर्तिमान बनाइकी थिइन् । अमेरिकी मासिक म्यागजिन मिन्स जर्नलले हिलारीलाई २५ वर्षयताकै सबैभन्दा साहसिक महिला घोषणा गरेको थियो भने नेसनल जियोग्राफीले २०१८ मा उनलाई साहसी खेलाडीको सूचीमा पनि राखेको थियो ।

अमेरिकी आउटडोर उत्पादन कम्पनी नर्थफेसले पनि सन् २०१८ मा उनलाई एथ्लेटिक क्याप्टेन बनाएको थियो । अमेरिकालगायत पश्चिमा मुलुकमा हिलारी र जिम अग्ला हिमालका लागि सबैभन्दा ठूला र सफल स्की खेलाडी मानिन्छन् ।

जिमले हिलारीलाई गुमाउनुपर्दा अवर्णनीय क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अबका दिन आफू उनका दुई सन्तानको हितमा केन्द्रित रहने भनेका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार हिलारीको परिवारका सदस्य बिहीबार काठमाडौं आउँदै छन् । पोस्टमार्टमपछि हिलारीको शव अमेरिका लैजाने वा नलैजाने निर्णय परिवारले गर्नेछ । यस घटनामा अमेरिकी दूतावासले पनि सघाइरहेको छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?