२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
कांग्रेसमा शेखर समूह

‘हामी भित्र लड्दैछौं, बाहिर तपाइँहरू संघर्ष गर्नुस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि न्यायोचित ढंगले टिकट वितरण हुनुपर्ने भन्दै नेपाली कांग्रेसमा संघर्ष गरिरहेका नेताहरूले बुधबार नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल गरेका छन् ।

‘हामी भित्र लड्दैछौं, बाहिर तपाइँहरू संघर्ष गर्नुस्’

दिउँसो सानेपास्थित कांग्रेस मूख्यालयमा धर्ना दिएर फर्किएका नेताहरूले अपराह्न नेता कोइराला र महामन्त्री थापालाई भेटेर पार्टीभित्र समान अवसर र न्यायोचित रुपमा टिकट वितरणका लागि सशक्त अडानसहित भूमिका निभाउन आग्रह गरेका हुन् ।

नेता कोइराला तथा महामन्त्री थापा र सहमहामन्त्री बद्री पाण्डेले नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीसहित संघर्षमा रहेका नेताहरूसँग अलग–अलग छलफल गरेका थिए । यस क्रममा नेता कोइरालाले पार्टीभित्र समान रुपमा अवसरको वितरण गर्ने विषयमा आफूले सभापति शेरबहादुर देउवालाई विगतदेखि भन्दै आएको र टिकट वितरणको विषयमा पनि सोही कुरा आग्रह गरेको बताएका थिए ।

महामन्त्री थापाले भने आफूले पदाधिकारीभित्र संघर्ष गरिरहेको भन्दै बाहिरबाट संघर्ष जारी राख्न आह्वान गरेका छन् । ‘हामी भित्र संघर्ष गरिरहेका छौं । बाहिर तपाइँहरूले जुन संघर्ष गरिरहनुभएको छ, त्यसलाई निरन्तर गर्नुस्,’ थापाको भनाइ उदृत गर्दै एक नेताले इकान्तिपुरसँग भने, ‘समानुपातिकको बन्द सूची बनाउने निर्णय प्रक्रियामा हाम्रो सहमति थिएन, जुन सूची छ, बाहिर तपाइँहरूको आन्दोलन र संघर्षका कारण अहिले सभापतिजी सच्याउन तयार हुनुभएको छ । त्यो सच्याइनुपर्छ ।’

महामन्त्री थापाले प्रत्यक्षतर्फको उम्मेदवार चयनमा समेत पार्टीले सबै ढंगले सक्षम र योग्य उम्मेदवारहरूलाई न्यायोचित रुपमा टिकट वितरण हुनुपर्ने विषयमा आफूहरू संघर्ष गरिरहेको बताएका थिए ।

कोइराला समूहले समानुपातिकतर्फको बन्द सूचीमा आफ्नो समूहका नेताहरूको नाम समावेश नगरिएको, गरिएकाहरूको नाम पनि निर्वाचित हुने गरी समावेश नगरिएको र सभापति देउवाले एकलौटी रुपमा आफ्नो समूहका नेताहरूको मात्रै नाम राखेको आरोप लगाउँदै आएको छ ।

कोइराला समूहका नेताहरूले विरोधकै कार्यक्रम स्वरुप बिहीबार बिहान अर्को सभा राखेका छन् । सभामा नेता कोइराला र महामन्त्री थापासहित शीर्ष नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : आश्विन १२, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?