दलका घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलका घोषणापत्रमा मानव अधिकारका विषयमा समावेश गर्न आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने क्रममा रहेका दलहरूलाई घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह गरेको हो ।
आयोगले सबै राजनीतिक दललाई आफ्नो प्रतिज्ञापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि प्रतिबद्धता समावेश गर्न आग्रह गरेको हो ।
‘दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्त्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः विशेष आग्रह गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
आयोगले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनसमेतको माध्यमबाट मात्रै समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको स्मरण गराउँदै त्यसका लागि राजनीतिक दलहरूको प्रमुख भूमिका हुनेतर्फ ध्यानाकर्षण गराएको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भयरहित, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न आग्रह गर्दै त्यस सम्बन्धमा आयोगले गरेका सिफारिसहरूको कार्यान्वयनका लागि समेत सचेत गराएको छ ।
‘विगतमा राजनीतिक दलहरुले तयार गरेका घोषणापत्रहरूलाई आयोगले नजिकबाट नियालिरहेको छ । दलहरूले विगतमा आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरी मानव अधिकारप्रतिको आफ्नो प्रतिबद्धताको कार्यान्वयन गरेकोमा त्यसको सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुने छन् भन्ने आयोगले विश्वास लिएको छ,’ आयोगले भनेको छ ।
प्रकाशित : आश्विन १२, २०७९ १६:५६