'एकै घर र दम्पत्तीबाट एकभन्दा धेरै उम्मेदवार नबनाइयोस्'- समाचार - कान्तिपुर समाचार
देउवालाई कोइरालाको खुलापत्र

'एकै घर र दम्पत्तीबाट एकभन्दा धेरै उम्मेदवार नबनाइयोस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले आगामी निर्वाचनमा पार्टीले एकै घरका सदस्य र दम्पत्तीबाट एक जनामात्रै उम्मेदवार बनाउने नीति लिन आग्रह गरेका छन् । सभापति शेरबहादुर देउवा र केन्द्रीय संसदीय समितिका सदस्यहरूलाई खुलापत्र लेख्दै नेता कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एकै घर-परिवार तथा दम्पत्तीबाट एक जनाभन्दा धेरैलाई अवसर नदिन ध्यानाकर्षण गराएका हुन् ।

जबकि डडेलधुराबाट सातौँ पटक चुनाव लड्ने तयारीमा रहेका सभापति देउवा आफैँले पत्नी आरजु राणालाई समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् । गृहमन्त्री बालकृष्ण खाँण प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् भने उनकी श्रीमती मन्जु खाँण पनि समानुपातिकतर्फ उम्मेदवार छिन् ।

नेता कोइरालाले एकै घरबाट एक जनाभन्दा बढी उम्मेदवार हुन नपाउने र उम्मेदवारको रुपमा प्रस्ताव भएकाहरुले आफ्नो नातागोता पार्टीभित्र को-को छन् भन्ने विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । 'जिम्मेवार पदमा बसेका नेताहरूले आफ्नो परिवार तथा वंशलाई आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरेर अवसर दिने दिलाउने काम नगर्ने सार्वजनिक प्रतिबद्धता गरून्,' नेता कोइरालाको आग्रह छ ।

उनले समानुपातिकतर्फ उम्मेदवारी चयनमै आर्थिक चलखेल भएको गुनासो आएको भन्दै त्यसको छानबिनका लागि कार्यदल बनाउन माग गरेका छन् । 'प्रस्तावित कैयन उम्मेदवारहरूले अर्थबलमा समानुपातिकमा नाम पार्न सफल भएको भनी जनस्तरमा आक्रोश व्यक्त भइरहेको छ । समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको सम्बन्धमा एक स्वतन्त्र आयोग बनाएर छानबिन गरियोस्,' कोइरालाले माग गरेका छन् ।

आगामी निर्वाचनमा टिकट वितरणलाई लिएर कांग्रेसभित्र विवाद चर्किएको छ । नेता शेखर कोइराला समूहले टिकट वितरणमा समान अवसर र न्यायपूर्ण वितरण नभए विद्रोह गर्ने चेतावनी दिँदै आएको छ ।

यस्तो छ कोइरालाले लेखेको पत्र :

सभापतिज्यू

नेपाली कांग्रेस

तथा सदस्यहरु, संसदीय बोर्ड

महोदयहरु

नेपाली कांग्रेस अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ । कांग्रेसलाई समाप्त पार्ने षडयन्त्र अहिले विकराल रुपमा सतहमा देखा परेको छ । पूरै देशलाई ठूलो संकटतर्फ धकेल्ने कुप्रयास भइरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास र विकास दिएर संकटबाट बाहिर ल्याउन अगुवाई गर्नुपर्ने थियो । तर नेतृत्व सचेत र गंभिर नदेखिनु अत्यन्तै दुःखलाग्दो परिस्थिति हो ।

कांग्रेस समाप्त पार्न र देशलाई संकटमा होम्नका लागि अहिले षडयन्त्रमूलक,, अप्राकृतिक कुकर्महरु भइरहेको छ । यो अवस्था कुनैपनि देशभक्त नागरिक तथा नेपाली कांग्रेसका इमानदार कार्यकर्ता टुलुटुलु हेरेर बसिरहन सक्दैछ ।


नेपाली कांग्रेसले आगामी आमचुनावमा संघ तथा प्रदेशहरुमा बहुमत ल्याउन आवश्यक छ । बहुमत ल्याउने गरी चुनावी तालमेल गर्न केन्द्रीय समितिको बैठकले निर्देश दिएको तथ्य म नेताहरुलाई स्मरण गराउन चाहन्छु । आमचुनावमा कांग्रेसलाई बहुमत ल्याउन नदिने गरी तालमेल गरिँदैछ । कांग्रेसले सय सीट भन्दा थोरैमा प्रत्यक्ष चुनाव लडेर कसरी बहुमत ल्याउन सक्छ ? आम जनताको तर्फबाट उठिरहेको यो प्रश्नको जवाफ मुखबाट नभएर व्यवहारबाट पार्टी नेतृत्वबाट आउन आवश्यक छ ।

हामी आधा सीट अन्य पार्टीहरुलाई दिइरहेका छौं, बाँकी रहेको आधा सीटमा कस्तालाई उम्मेदवार बनाउँदैछौं ? यो गम्भीर प्रश्न भएको छ । पार्टीले समानुपातिकका लागि प्रस्ताव गरेका नामहरु परिवारवाद, वंशवाद, नातावाद, आसोपासेवाद र अर्थवादबाट प्रेरित भएको स्पष्ट देखिन्छ ।

समानुपातिक सूची आरक्षित सीट हो । आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरुलाई समानुपातिक उम्मेदवारका रुपमा प्रस्ताव गरिनुपर्ने हो । त्यस विपरित समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरुलाई प्रस्ताव गरिएको देखिन्छ । समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरुको तावेदारीहरुलाई प्राथमिकता दिइएको छ । समानुपातिक सीट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सीट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रुपमा दिनुपर्ने अवस्थामा त्यस विपरित काम गरिएको छ ।

समानुपातिकतर्फ अंश, वंश र अर्थ प्रेरित उम्मेदवारहरुलाई प्रस्ताव गरिँदा त्यसको दुष्प्रभाव प्रत्यक्षमा लड्ने उम्मेदवारहरुलाई समेत पर्ने देखिन्छ ।

तसर्थ, निम्न नीति अपनाइयोस्–

१, संघ तथा प्रदेश संसद्मा एकाघर परिवार तथा दम्पत्तिबाट एकजनाभन्दा धेरैलाई अवसर नदिइयोस् ।

२, उम्मेदवार प्रस्ताव गरिएकाहरुले पार्टीभित्र जिम्मेवार पदमा आफ्नो नातागोता कोको छन् भन्ने सार्वजनिक रुपमा खुलाउने व्यवस्था गरियोस् ।

३, प्रत्यक्षमा उम्मेदवार बन्ने सामर्थ्य भएका, विगतमा संसद्मा प्रतिनिधित्व गरिसकेकाहरुलाई समानुपातिकमा उम्मेदवार नबनाइयोस् ।

४, जिम्मेवार पदमा बसेका नेताहरुले आफ्नो परिवार तथा वंशलाई आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरेर अवसर दिने दिलाउने काम नगर्ने सार्वजनिक प्रतिवद्धता गरुन् ।

५, प्रस्तावित कैयन उम्मेदवारहरुले अर्थबलमा समानुपातिकमा नाम पार्न सफल भएको भनी जनस्तरमा आक्रोश व्यक्त भइरहेको छ । समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको सम्बन्धमा एक स्वतन्त्र आयोग बनाएर छानविन गरियोस् ।

६, उम्मेदवार चयन गर्दा वर्गीयतालाई पनि आधार बनाइयोस् । अर्थात्, समानुपातिक उम्मेदवार चयन गर्दा आर्थिक रुपमा विपन्नलाई प्राथमिकता दिइयोस् ।

यी केही नीतिहरु मैले सुझावका रुपमा प्रस्तुत गरेको छु । यी सुझाव मेरो मात्र नभएर नेपाली कांग्रेसका तमाम निष्ठावान, इमानदार कार्यकर्ताहरुको पनि हो र आम नेपाली जनताको पनि हो भन्ने तथ्यवोध गरियोस् । यी नम्र सुझावहरुलाई वेवास्ता गरेर पार्टी नेतृत्व अगाडि बढेको अवस्थामा आम कार्यकर्ता तथा जनताले गर्ने विद्रोहको जिम्मेवारी अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुबेका नेताहरुले नै लिनुपर्ने हुन्छ।

धन्यवाद, जय नेपाल

दिनेश कोइराला

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रकाशित : आश्विन १२, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपासँग एकतापछि मिश्रले भने- 'पार्टीभित्र बखेडा झिक्दैनौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व र विवाद गर्न नहुने सिकाइ भएको उनले संकेत गरेका थिए ।

साथै क्यानडा, अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताएका थिए । 'हामी पार्टीमा बखेडा झिक्दैनौं । मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ । जहिले पनि विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन,' नेता मिश्रले भनेका छन् ।

नेता मिश्रले आफैंले स्थापना गरेको पार्टी ठूलो पीडा र अप्ठ्यारोले छाडेको गुनासो गरेका थिए । यस क्रममा उनले पार्टीलाई भन्दा नेताको व्यक्तित्वलाई प्रचार गर्नु पर्ने तर्क गरेका थिए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रसंग निकाल्दै उनले नेताको व्यक्तित्वलाई प्रचार गर्नु आवश्यक रहेको बताएका थिए ।

विवेकशील साझा पार्टीबाट निस्किएका नेता तथा कार्यकर्ताहरू र राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन् । यस क्रममा उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए । यस

यसैबीच नेता मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको बताएका दाबी गरेका छन् । जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । नेपाल कमजोर भएकैले विदेशीहरूले 'ल्यान्ड पावर' भन्ने गरेको उनको भनाइ थियो ।

मिश्रले नेपालको पछिल्लो राजनीति विकृत बन्नुको पछाडि 'वामवाद' र धर्मान्तरको प्रमुख भूमिका रहेको आरोप लगाएका थिए । 'वामवाद'ले गर्दा सौहार्दपूर्ण रुपमा बसेको समाजलाई विकृत बनाएको र जातजातिलाई विभाजित गर्ने काम गरेको पनि उनले आरोप लगाए ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा शंख-घण्ट बजाउँदै राप्रपा र मिश्र समूहबीच एकता भएको छ । विवेकशील साझा पार्टी बाट राजीनामा दिएपछि मिश्रले आफू निकट समूहलाई राप्रपासँग एकता गराएका हुन् । बुधबार एकता घोषणा सभाबाट मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रकाशित : आश्विन १२, २०७९ १५:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×