कांग्रेसले छाडेको 'स्पेस' लिएर राप्रपा पहिलो दल बन्छ : मिश्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले छाडेको 'स्पेस' लिएर राप्रपा पहिलो दल बन्छ : मिश्र

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसले छाडेको विचार बोकेर आफूहरूको दल अब पहिलो (ठूलो) दल बन्ने बताएका छन् । उनले कांग्रेसले छाडेको 'मोडरेट कन्जरभेटिभ' धारलाई राप्रपाले समात्ने बताए ।

पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले विकृत वामपन्थीकरण भएको बताए । 'कांग्रेस विकृत वामपन्थीकरण र प्रचण्डिकरण भएको छ,' मिश्रले भने, 'कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको मोडरेट कन्जरभेटिभ धार छाडेको छ । त्यही स्पेस लिएर राप्रपा पहिलो पार्टी बन्छ ।'

विवेकशील साझाबाट राजीनामा दिएको आफ्नो समूहलाई राप्रपासँग एकता गरेका मिश्रले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरिनुपर्ने बताए । उनले नेपालको भूराजनीतिक अवस्थितिको कारण पनि राजसंस्था अपरिहार्य बन्न पुगेको बताएका थिए ।

'राष्ट्रपतिको संस्था राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने हो त्यो भएन,' मिश्रले भने, 'प्रधानमन्त्री, अख्तियार अन्य संस्थाहरूले त्यसअनुसार भूमिका निर्वाह गरेनन् ।' उनले अहिले संघीयताको समस्याको कुरा गर्दा आर्थिक पक्षको विषयमा मात्रै कुरा भएको पनि बताए ।

'नेपालमा संघीयताको कुरा गर्दा आर्थिक पाटोको मात्रै कुरा सुनिन्छ धान्न सकिँदैन भनेर । तर यो राजनीतिक रुपबाट पनि धान्न सकिँदैन । भौगोलिक अखण्डताको रुपमा पनि धान्न सकिँदैन,' मिश्रले भने 'अहिले सातवटा संघ छन् कसै कसैले ९ वटा माग्दैछन् । कसैले ११ वटा माग्दैछन् । सबै जातलाई हुनुपर्ने माग गर्दै छन् । कसैले आत्मनिर्णयको अधिकारसहितको संघीयताको माग गरिरहेका छन् ।'

मिश्रले संघीयताकै कारण युरोपमा देश टुक्रिएको सन्दर्भ जोड्दै नेपालमा पनि संघीयता खारेज गर्नुपर्ने तर्क गरेका थिए । 'नेपाल जस्तो भूराजनीतिक स्थिति भएको देशमा संघीयता चाँहिदैन,' मिश्रले भने ।

प्रकाशित : आश्विन १२, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

कोइराला समूहको भेला बत्तीसपुतलीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग कोइरालाले छलफल गरेका हुन् ।

बुधबार दिउँसोमात्रै कोइराला समूहले सानेपास्थित केन्द्रीय मुख्यालयमा एक घण्टासम्म मौन धर्ना दिएका थिए । धर्ना सकेलगत्तै नेता कोइरालाले धर्नामा रहेका नेता कार्यकर्तालाई बोलाएर बत्तीसपुतलीस्थित एक होटलमा छलफल गरिरहेका छन् ।

छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने छैनन् । नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायत नेताहरूसँग छलफल गरिरहेका छन् ।

पार्टीमा उम्मेदवार चयन र गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहँदा नेता कोइराला भने विराटनगर गएर बसेका थिए । कोइराला विराटनगर बसे पनि काठमाडौंमा दोस्रो तहका नेताहरूले आन्दोलन चर्काएका थिए ।

प्रकाशित : आश्विन १२, २०७९ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×