रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष- समाचार - कान्तिपुर समाचार

रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । 

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।

२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

यसपटक काठमाडौं-१ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए । संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुन:स्थापनाको पक्षमा खुलेका छन् ।

मिश्रले प्रकाशोन्मुख पुस्तक 'विचार भन्दा माथि देश' मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन् । मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।

यसपटक चुनावमा मिश्रले नेकपा एमालेको समर्थन जुटाउन खोजेका छन् । भदौको पहिलो साता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि कान्तिपुरसँग कुरा गर्दै मिश्रले एमालेले चुनावमा समर्थन गर्ने विश्वास लिएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : आश्विन १२, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लामा लटरम्म फुजी स्याउ

डीबी बुढा

जुम्ला — जुम्लाको स्थानीय जातको स्याउ टिपेर सकिनै लाग्दा फुजी जातको स्याउ लटरम्म फलेको छ । बगैंचा नै राताम्मे हुने गरी फलेको यो स्याउले जुम्लाको स्वरुप नै बदलिदिएको छ । फुजी स्याउको व्यावसायिक खेतीले किसानलाई आम्दानी पनि उत्तिकै छ । नयाँ जातको स्याउ भएकाले हेर्नेको पनि उत्तिकै भीड देखिन्छ । स्याउको कलर नै गाढा रातो छ । रोपेको ६ महिनामै स्याउले फल दिने भएपछि किसानले ठूलो लगानीमा फुजी स्याउको खेती आरम्भ गरेका छन् । 

जुम्लामा फुजी स्याउका ३७ बगैंचा छन् । बगैंचामा न्यूनतम एक सय बिरुवादेखि ३० हजार बिरुवासम्म रोपिएका छन् । जुम्ली माटोमा पहिलो पटक परीक्षण गरिएको यो जातको स्याउले जुम्लालाई आत्मनिर्भर बनाउन सक्ने कृषि प्राविधिक बताउँछन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोनका अनुसार जुम्लामा फुजी स्याउका ठूलठूला बगैंचा छन् । ती बगैंचामा स्याउ लटरम्म फलेको छ । जिल्लाको गुठिचौर गाउँपालिका ५ धपडामा १ लाख ५० हजार क्षेत्रफल जग्गामा ३० हजार स्याउका बिरुवा रोपिएको छ । यो बगैंचा नेपालकै ठूलो फुजी स्याउको बगैंचा हो । यो बगैंचाबाट यो वर्ष ५० हजार केजी स्याउ उत्पादन हुने अपेक्षा गरिएको छ । 

योसँगै छिडीमा २ हजार ४ सय र स्यालामा ६ हजार स्याउका बिरुवा रोपिएको छ । यी तीनवटा बगैंचामा मात्रै ६० हजार केजी स्याउ उत्पादन हुने बगैंचाधनी भीमबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले बगैंचामा स्याउ टिप्ने काम चलेको छ ।  

स्याउ हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको आउजाउ बढिरहेको छ । बगैंचामा आउने फुजी स्याउबारे अध्ययन गर्ने र बजारको अवस्था बुझ्ने किसानको संख्या पनि बढिरहेको छ । 

गत वर्ष जुम्लाका फुजी स्याउ किसानले प्रतिकेजी २५० रुपैयाँमा बगैंचामै स्याउ बेचेका थिए । स्याउमा चिनीको मात्रा र कलर पनि निकै राम्रो छ । फुजी स्याउको बिरुवाको माग राम्रो छ ।

जुम्लामा उत्पादित फुजी स्याउ पोखरा, विराटनगर र काठमाडौंको बजारसम्म पुग्छ । यो पटक दसैंअघि नै १० टन स्याउ काठमाडौंमा लैजाने गुठिचौर एग्रोफर्मका सञ्चालक भीमबहादुर भण्डारीले जानकारी दिए । उनले भने, ‘अब चाइना र भारतको स्याउसँग कडा प्रतिस्पर्धा जुम्लाको स्याउले गर्ने गरी बजारमा लैजाने तयारी छ । यहाँको स्याउ विदेशी स्याउभन्दा स्वादिलो र आकारमा ठूलो देखिने छ ।’


प्रकाशित : आश्विन १२, २०७९ १४:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×