कांग्रेसमा समान अवसर र न्यायको माग, सानेपामा कोइराला समूहको धर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले बुधबारदेखि आन्दोलन थाल्दैछ । कोइराला समूहका नेताहरुले बुधबार सानेपास्थित पार्टी मुख्यालयमा पार्टीका उम्मेदवार चयनमा समान अवसर र न्यायकोलागि धर्ना दिन लागेका हुन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।

त्यसैको विरोधमा बुधबार दिउँसो १२ बजे सानेपास्थित पार्टी कार्यालय पुगेर दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको नेता गुरुराज घिमिरेले बताए । सोमबार बसेको गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो ।

उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन् ।

प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भयले कोइराला समूह त्रसित छ । नेता कोइराला सहित पार्टीका पदाधिकारी रहेका कोइराला समूहका नेताहरु भने आन्दोलनका कार्यक्रममा सहभागी भएका छैनन् । दोस्रो तहका नेताहरुले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।

कोइराला समूहको दबाबपछि सभापति देउवाले समानुपातिकतर्फ बन्द सूची सच्याउन तयार भएका छन् । नेता घिमिरले समानुपातिक सूची नसच्याइएसम्म आन्दोलन र विरोधका कार्यक्रम निरन्तर हुने बताए ।

प्रकाशित : आश्विन १२, २०७९ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता खेलाडी म्यादी प्रहरीमा भिड्दै 

कमल पन्थी

बर्दिया — गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि शारीरिक र लिखित परीक्षामा उत्तीर्ण भएका अन्तर्राष्ट्रिय स्तरका खेलाडी मधुवन नगरपालिका-४ का माधवकुमार चौधरी मौखिक परीक्षामा फेल भए । कक्षा १२ पढेका एथलेटिक्सका खेलाडी चौधरी त्यस वेला निराश भएर घर फर्के ।

अहिले उनी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा म्यादी प्रहरीमा निवेदन दिन छाडेका छैनन् । उनले भने, ‘हिम्मत हारेको छैन, प्रयास गरिरहेको छु ।’ २२ वर्षीय चौधरी मुक्तकमैया परिवारमा जन्मेका हुन ।

साउथ एसियन जुनियर एथलेटिक्समा सन् २०१८ मा श्रीलंकामा सहभागी भएका थिए । उनी त्यसबेला १५ सय मिटर दौडमा चौथो स्थान हासिल गरेका थिए । त्यसैगरी सन् २०१९ मा जापानको राजधानी टोकियोमा भएको नेपालको प्रतिनिधत्व गरी समूहमा प्रथम भएका थिए । उनले ८ सय मिटर दौड ३ मिनेट १९ सेकेन्डमा पार गरेका थिए ।

०७४ सालमा उनी राष्ट्रिय च्याम्पियनसिप एथलेक्टिसमा ८ सय र १५ सय मिटर दौडमा प्रथम भएका थिए । चौधरीले एथलेटिक्समा विभिन्न प्रतियोगितामा उपाधिसमेत जितेका छन् । उनका आमाबुवा अर्काको घरमा कमैया बस्न बाध्य भएका थिए । उनीहरूसँग एक कठ्ठाको बरबासबाहे केही र्छन । बुवाआमा पनि मजदुरी नै गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको उनले भने,‘म्यादी प्रहरीमा हुनुपर्ने सबै गुणले सम्पन्न भए जस्तो लाग्छ तर भनसुन गरिदिने कोही छैन ।’

उनीजस्तै गुलरिया नगरपालिका—१ कि २२ वर्षीया एथलेटिक्स खेलाडी पूजा चौधरी पनि यसपटक म्यादी प्रहरीमा भर्ना हुन आएकी छिन् । एसईई उत्तीर्ण चौधरी गत स्थानीय तहमा मौखिक परीक्षामा फेल भइन् ।

अहिले भने उनी आफू छनोट हुनेमा ढुक्क देखिन्छिन् । उनी ०७२ सालदेखि हालसम्म जिल्लादेखि प्रदेशस्तरीय एथ्लेटिक्स प्रतियोगितामा सहभागिता जनाइरहेकी छिन् । २०७६ सालमा दाङको बेलझुन्डीमा आयोजित खुला नेसनल ट्रिपल जम्पमा उनले तेस्रो स्थान हात पारेकी थिइन् ।

त्यतिबेलै नेपाली आर्मी क्लबले भर्ना गर्ने भन्दै बोलाए पनि लिखित परीक्षामा उनी उत्तीर्ण भइनन् । आफूलाई जानजान छनोट नगरिएको उनको गुनासो छ । ‘मन मरिसक्यो खेलमा । म्यादीमा पनि पहिलो पटक मौखिकमा फेल भएँ,अहिले त्यसो होला जस्तो लाग्दैन ।’

प्रकाशित : आश्विन १२, २०७९ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×