१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपाल-भारत सीमा बैठक : दक्षिणी नाकामा हेल्प डेस्क

अन्तर्राष्ट्रिय सीमानाकामा नेपाल–भारतबाट डेस्क सञ्चालन गरी सुरक्षित आउजाउको प्रबन्ध मिलाइने
मातृका दाहाल

काठमाडौँ — दक्षिणी सीमा क्षेत्रमा सर्वसाधारणमाथि हुने लुटपाट र दुर्व्यवहारजन्य घटना रोक्न नेपाल–भारतका सुरक्षा अधिकारी यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याउन सहमत भएका छन् । त्यसका लागि अन्तर्राष्ट्रिय प्रवेश/प्रस्थान बिन्दुमै नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आवश्यकताअनुसार कतै एकल र कतै संयुक्त प्रतिनिधि रहने हेल्प डेस्क सञ्चालन गर्ने भएका हुन् । 

नेपाल-भारत सीमा बैठक : दक्षिणी नाकामा हेल्प डेस्क

‘सीमा सुरक्षा, व्यवस्थापन र समन्वय’ सम्बन्धी मंगलबार काठमाडौंमा सुरु छैटौं बैठकमा यस्तो समझदारी बनेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बलका प्रमुख सुजोय लाल थाउसेन तथा दुवै देशका गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि बैठकमा सहभागी छन् । पूर्वनिर्धारित एजेन्डाअनुसार नै अन्तर्राष्ट्रिय सीमा नाकामा दुवै देशका तर्फबाट हेल्प डेस्क सञ्चालन गरी सुरक्षित रूपमा आउजाउ गर्ने प्रबन्ध मिलाइने बैठकमा समझदारी बनेको हो ।

सशस्त्र प्रहरीका एक अधिकारीले दसैं, तिहार र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई समेत मध्यनजर गरेर सीमाबाट हुने आउजाउलाई व्यवस्थित र सुरक्षित बनाउन दुवै देशका सीमा सुरक्षार्थ तैनाथ निकायले हेल्प डेस्क सञ्चालन गर्ने बताए । त्यसलाई बोर्डर आउट पोस्ट (बीओपी) तहबाट कार्यान्वयनमा लगिने उनको भनाइ छ । पहिलो दिन अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत व्यवस्थापन, सीमापार अपराध रोकथाम, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो देशका नागरिकबाट हुन सक्ने गैरकानुनी घुसपैठ नियन्त्रणसहित विषयमा छलफल भएको छ ।

रोजगारी तथा भारतीय बजारमा किनमेल गरेर फर्किएका कतिपय नेपालीमाथि नाकामै लुटपाट हुने गरेको छ । तर, त्यस्ता घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीले आलटाल गर्ने र मजदुर/किसानसँग भएका धनमाल सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन सशस्त्र प्रहरीले समन्वय नगर्ने गरेका आरोप पनि लाग्दै आएको छ । सीमा बैठकमा सशस्त्र प्रहरीको बीओपी र भारतीय काउन्टरपार्ट्स एसएसबीका संयन्त्रबाटै यस्ता अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि केही दिनअघि भारततर्फ सीमा क्षेत्रमा तैनाथ बीओपीलाई परिपत्र गरेर हेल्प डेस्क सञ्चालन गर्न निर्देशन दिएको छ ।

भारतसँग करिब १ हजार ८ सय ८० किमि लम्बाइको सीमा क्षेत्र रहेकामा सशस्त्र प्रहरीका २ सय २० बीओपी सीमा क्षेत्रमा तैनाथ छन् । तर, नेपालतर्फ भारतले ५ सय ३० भन्दा बढी ठाउँमा एसएसबीका युनिट खडा गरेर नेपाल आउजाउको निगरानी गर्छ । कतिपय ठाउँमा एसएसबी खटिएकै क्षेत्रमा नेपाली नागरिक लुटपाटमा पर्दासमेत दुवै देशका सुरक्षाकर्मी बेखबर जस्तै देखिने गरेका छन् । त्यस्ता घटना दोहोरिन नदिन नै द्विपक्षीय बैठककै एजेन्डामा यो विषय समेटिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन् । यसबाहेक खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही र इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा र सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) लगायत नाकाबाट पनि भारत हुँदै नेपाली आउने गर्छन् ।

प्रकाशित : आश्विन १२, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?