कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बीआरआई २.०

चीनका राष्ट्रपति सीले अवधारणा ल्याएको वर्ष सन् २०१३ देखि २०१८ सम्म बीआरआई १.० र सन् २०१८–२०२२ लाई बीआरआई २.० मान्ने गरिन्छ, चिनियाँ कम्युनिस्ट पार्टीको अक्टोबरमा हुने २० औं महाधिवेशनपछि परिष्कृत रुपमा बीआरआई ३.० आउने अनुमान छ
चीनले यही बीचमा ग्लोबल डेभलपमेन्ट इभिसिएटिभ र ग्लोबल सेक्युरिटी इनिसिएटिभलाई समेत अघि बढाए पनि बीआरआईलाई निरन्तरता दिने विश्वास
जगदीश्वर पाण्डे

काठमाडौँ — भदौ चौथो साता कान्तिपुर कन्क्लेभको ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षक संवादमा प्राध्यापक महेन्द्र पी लामाले अफ्रिकी र एसियाली मुलुकमा ‘रिसोर्स न्यासनाल्जिम’ को कुरा उठाएर नयाँ किसिमको राष्ट्रवाद आउन सक्ने उल्लेख गर्दै त्यसमा चीनले के गर्न सक्छ भन्दै अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेमाथि प्रश्न तेर्स्याए ।

बीआरआई २.०

जवाफ दिने क्रममा वाग्लेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) २.० को सन्दर्भ ल्याए । उनले भने, ‘सन् २०१७ मा हामीले सही गरेपछि नेपालमा बीआरआईको चर्चा भयो । ग्लोबल आँकडा हेर्दा अफ्रिकाबाट घनीभूत सुरु गरेर यो श्रीलंका, बंगलादेश, माल्दिभ्ससम्ममा आयो । पहिलो चरणमा नेपाल बीआरआईमा पूरै छुट्यो । प्रतिष्ठा र ऋणको संकट, कोभिड–१९ लगायतका कारणले बीआरआई अहिले स्थगित छ । यो नयाँ स्वरूपमा आउने देखिन्छ, प्रविधिको क्षेत्रमा ‘२.०’ भनेजस्तै । बीआरआई २.० का रूपमा आउँछ ।’

अर्थशास्त्री वाग्लेले ‘बीआरआई २.०’ का रूपमा आउने तर्क गरिरहँदा भूराजनीतिक जानकार चन्द्रदेव भट्ट भने अहिले ‘बीआरआई २.०’ चलिरहेको उल्लेख गर्दै अब ‘बीआरआई ३.०’ आउने अनुमान गर्छन् । यस सन्दर्भमा बुझ्न बीआरआईको पृष्ठभूमिमा पनि जानुपर्छ । राष्ट्रपति सी चिनफिङ शक्तिमा आएपछि सन् २०१३ मा चीनले वान बेल्ट वान रोड (ओबीओआर) अघि सारेको थियो, जुन चिनियाँ लगानीमा विश्वभर जमिन र समुद्री मार्गमार्फत जोड्ने अवधारणा हो । उक्त परियोजनालाई सन् २०१५ मा बीआरआई नाम दिइयो । त्यसपछि सडक सञ्जालका साथै पूर्वाधार निर्माण र अन्य क्षेत्रलाई पनि समेटियो ।

भूराजनीतिक जानकार भट्ट चीनले बीआरआई ल्याउँदा सन् २०१३ देखि २०१८ सम्म ‘बिग फ्रि ह्यान्ड’ नीति अपनाएको मान्छन् । ‘सुरुआतमा चीनले बीआरआईमा विश्वभरबाट सहभागी गराउन सदस्य संख्या बढाउने काम गर्‍यो । त्यो बेला नेपालसहित धेरै मुलुक बीआरआईको सदस्य बने,’ उनले भने, ‘सुरुआतको ५ वर्ष बीआरआईका लागि सफल पनि रह्यो ।’ भट्टका अनुसार जब सन् २०१८ पछि बीआरआई कार्यान्वयनतर्फ उन्मुख भयो, तब समस्या आउन थाले । कार्यान्वयनको समयलाई चिनियाँले ‘फाइन ब्रस वर्क’ नाम दिएका छन् ।

बीआरआई कार्यान्वयनमा दुई तरिकाबाट समस्या आएको भट्ट मान्छन् । ‘पहिलो समस्या भनेको कोभिड–१९ संक्रमणबाट सिर्जित हो । दोस्रोचाहिँ चिनियाँकै नीतिका कारणले हो,’ उनले भने । भट्टका अनुसार जसरी विश्वका अन्य वित्तीय संस्थाबाट सस्तोमा ऋण पाइन्छ, त्यो बीआरआईमा पाइँदैन । साथै, श्रीलंकाको घटनाले चीनको नीतिमा प्रश्न उठेको छ ।

चार ट्रिलियन डलरभन्दा बढी बजेट रहेको बीआरआई परियोजनामा प्रश्न उठेपछि सन् २०१९ अप्रिल २५–२७ सम्म बेइजिङमा भएको ‘बेल्ट एन्ड रोड फोरम’ मा बीआरआईमाथि भइरहेको आलोचनालाई सुधार गरे जानुपर्ने सम्बन्धमा छलफल भयो । बीआरआईमा भइरहेको कमीकमजोरीलाई सुधार र परिमार्जन गर्दै विकास साझेदार र सम्बन्धित मुलुकसँग जाने सम्बन्धमा भएको त्यस छलफलपछि बीआरआई २.० पनि भनिन्छ । भट्टले २०१३ देखि सन् २०१८ सम्म बीआरआई १.० र सन् २०१८ देखि २०२२ सम्मको अवधिलाई बीआरआई २.० मान्छन् । ‘अब बीआरआई ३.० आउने अनुमान गरिएको छ । यही अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन हुँदै छ । त्यसले नेतृत्वसँगै आगामी ५ वर्ष लिने नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नेछ,’ भट्टले भने, ‘त्यसपछि बीआरआई कसरी अघि बढाइन्छ भन्ने थाहा हुन्छ ।’

नेपाल र चीनबीच सन् २०१७ मेमा बीआरआईको साझेदारीका पक्षमा हस्ताक्षर भएको थियो । नेपालका तर्फबाट बीआरआईमा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बेइजिङ पुगेर हस्ताक्षर गरेका थिए । बीआरआईमा नेपालसहित १ सय ४७ मुलुक सदस्य राष्ट्र छन् । सुरुआतमा नेपालले बीआरआईअन्तर्गत ३५ वटा परियोजनाको सूची चीनलाई पठाएको थियो । तर बेइजिङले संख्यालाई एक अंकमा घटाउन भनेपछि नेपालका तर्फबाट नौ परियोजना पठाइयो । चीनले नेपाललाई पछिल्लो समय बीआरआईका कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न आग्रह गर्दै आएको छ ।

नेपालले बीआरआईमार्फत सहुलियत ऋण र अनुदान पाउनुपर्ने सर्त राखिरहेको छ । विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ऋणभन्दा चीनबाट बढी प्रतिशत ब्याजमा ऋण लिएर अघि नबढ्ने जानकारी नेपालले चिनियाँ पक्षलाई दिइसकेको छ । श्रीलंकाले हम्बनटोटा बन्दरगाह निर्माणमा चीनसँग ऋण लिएको थियो । पछि उक्त क्षेत्र नै चीनलाई बुझाउनुपरेपछि बीआरआईमाथि थप प्रश्न उठेको छ । त्यही पृष्ठभूमिमा नेपाल सरकारले बीआरआईमार्फत सहुलियत ऋण र अनुदान मात्र लिन चाहेको हो ।

बीआरआई १.० मा जसरी बीआरआई २.० ले गति लिएको देखिँदैन । नेपालले बीआरआईको सदस्य भए पनि त्यसअन्तर्गतका कार्यक्रम प्राप्त गर्न सकेको छैन । किन त ? भट्ट भन्छन्, ‘कोभिड–१९ र चिनियाँ नीति हुन सक्छ, ऋणको ब्याजदरमा पनि अड्किएको छ ।’

बीआरआई सम्झौतालाई कार्यान्वयनमा लाने सम्बन्धमा नेपाल र चीनबीच पटक–पटक उच्च तहमै कुराकानी भएका छन् । सन् २०१८ जुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दौरान जारी संयुक्त विज्ञप्तिमा पनि बीआरआई कार्यान्वयनलाई जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सीमापार हिमालय बहुआयामिक कनेक्टिभिटीको समग्र ढाँचाभित्र बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन र सञ्चारजस्ता अत्यावश्यक अंगलाई समेटेर कनेक्टिभिटी बढाउन बीआरआईअन्तर्गत सहयोगसम्बन्धी समझदारी कार्यान्वयनलाई तीव्रता दिन दुवै पक्ष सहमत भएका छन् ।’ समझदारीमा रहेका सबै क्षेत्रमा सहयोग प्रवर्द्धन गर्नका लागि व्यावहारिक कदम चाल्न दुवै पक्ष सहमत भएको पनि विज्ञप्तिमा उल्लेख छ । तर उक्त विज्ञप्तिमा भनिएजसरी कार्यान्वयन अघि बढ्न सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१९ अप्रिलमा गरेको चीनको राजकीय भ्रमणका बेला बीआरआई परियोजनाअन्तर्गत दुई देशबीच सीमापार बहुआयामिक पूर्वाधार सञ्जाल (ट्रान्स हिमालयन मल्टिकनेक्टिभिटी नेटवर्क) लाई अघि बढाउने सम्बन्धमा सहमति भएको थियो । राष्ट्रपति भण्डारीले उक्त अवसरमा बेइजिङमा भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम’ मा सहभागिता जनाएकी थिइन् । त्यस बेला जारी संयुक्त विज्ञप्तिमा सीमापार बहुआयामिक पूर्वाधार सञ्जालअन्तर्गत सीमापार रेल सञ्जाल अघि बढाउने उल्लेख गरिएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ अक्टोबरमा नेपाल भ्रमण गरेका बेला उक्त रेल सञ्जालको विषय उठेको थियो । सीले त्यति बेला नेपाल अब भूपरिवेष्टितबाट भूजडित मुलुक भएको घोषणा गरेका थिए । त्यस बेला जारी संयुक्त वक्तव्यमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउन सहमति भएको उल्लेख थियो ।

बीआरआईलाई अघि बढाउने सम्बन्धमा नेपाल र चीनको संसद्बीच पनि सहमति भयो । सभामुख अग्नि सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुबीच गत भदौ २८ मा भएको अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी पत्रमा पनि बीआरआई परेको छ । उक्त सम्झौताको भूमिकामा ‘दुई मुलुकबीचको बीआईआईअन्तर्गत सहयोगसम्बन्धी समझदारी पत्रलाई अन्तरहिमालय बहुआयामिक अन्तरआबद्धता सञ्चालनको खाकाअन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा अन्तरआबद्धता अभिवृद्धि गर्ने र आपसी लाभको सहयोगलाई गहन तुल्याउने महत्त्वपूर्ण अवसरका रूपमा पुनः स्मरण गर्दै’ भन्ने उल्लेख छ । सम्झौता पत्रको बुँदा नं ५ मा ‘दुई सरकारबीच सहमति भएबमोजिम बीआरआईमार्फत दुई मुलुकबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्त्व दिनेछन्,’ भनिएको छ ।

बीआरआईअन्तर्गतका परियोजना नेपालमा कुन ढाँचामा सञ्चालन गर्ने र त्यसको लगानी कस्तो हुने भन्ने टुंगो नलाग्दा कार्यान्वयन अघि बढेको छैन । बीआरआईबाट ऋण लिए नेपाल पनि श्रीलंकाजस्तो आर्थिक संकटमा फस्ने हो भन्ने चिन्ता आम मानिसमा छ । त्यही कारण नेपाल सरकारले अनुदानलाई प्राथमिकता दिइरहेको छ । गत असारमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले गत असारमा नेपाल भ्रमण गर्दा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एउटा ठूलो लगानीको परियोजना अनुदानमा निर्माण गरेर उदाहरण प्रस्तुत गर्न चीनलाई सुझाव दिएका थिए ।

अर्थशास्त्री वाग्लेले बीआरआई अब प्राकृतिक सम्पदासँग जोडिएर आउने बताउँछन् । ‘एक–डेढ सय वर्ष पुरानो पश्चिमा विकास मोडललाई चुनौती दिने गरी चीन आयो । सुरुमा बेवास्ता गरिएको शक्तिका रूपमा देखियो । पश्चिमाले कच्चा आलोचना गरेर यसलाई नवउपनिवेशवाद भने । एंगोला, केन्या, तान्जानिया, जाम्बियामा चिनियाँ कामदारलाई लखेटेको पनि देखियो । यस्तो कुरामा चीन सचेत पनि देखिन्छ । बीआरआई अबको भर्सनमा यी कुरा सम्बोधन हुन्छन् जस्तो लाग्छ । उनीहरू आफैं पनि संवेदनशील देखिन्छन्,’ उनले भने ।

चीनले बीआरआईलाई बहुपक्षीय (मल्टिल्याटरल) संस्थामार्फत अगाडि लाने आकलन गर्न सकिने वाग्ले बताउँछन् । ‘यसमा जोखिम पनि कम हुन्छ । आखिर मुख्य लगानीकर्ता यी दुई बैंक (चाइना डेभलपमेन्ट बैंक र एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना) नै त हुन् । चीनको पनि असीमित स्रोत छैन । बैंकको त निष्क्रिय ऋण हुन्छ । सन् २०१० मा ५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत छ । जथाभावी ऋण लगानी भयो । ऋण लिनेले पनि दुरुपयोग गरे । जस्तो– फिलिपिन्समा देखिएको छ,’ उनले भने, ‘पोखरा विमानस्थलसम्मलाई चीनले बीआरआईअन्तर्गत राख्ला । त्यसमा २ सय १६ मिलियन हाम्रो ऋण हो । नत्र हामी यो पूरै प्रक्रियाबाटै अछुतो रह्यौं । अब बीआरआईको नयाँ भर्सनमा घनिभूत रूमा हामी पनि जोडिनुपर्छ, तर आफ्नो सर्तमा ।’

चीन मामिलालाई नजिकबाट हेरिरहेका भूराजनीतिक जानकार रूपक सापकोटा भने आगामी अक्टोबरमा हुने सीपीसीको २० औं महाधिवेशनले चीनको नेतृत्व, कार्यदिशा र कार्यक्रमलाई टुंगो लगाएपछि बीआरआईको नयाँ नीति आउन सक्ने बताउँछन् । चीनले बीआरआईलाई संविधानकै भाग भएको कारण निरन्तरता नै दिने उनको भनाइ छ । सापकोटाले दोस्रो बेल्ट एन्ड रोड फोरममा यसमाथि भइरहेको टीकाटिप्पणीबारे छलफल भएको पनि उल्लेख गरे । ‘विभिन्न मुलुकको सहभागिता, पारदर्शिता, पर्यावरण मैत्री बनाउने, सम्बन्धित देशको प्राथमिकतालाई केन्द्रमा राखेर परियोजना छनोट गर्ने विषयमा फोरममा एक प्रकारको प्रतिबद्धता व्यक्त भएको थियो ।

यिनै प्रतिबद्धता सीले आफ्नो मन्तव्यका क्रममा पनि राखेका थिए,’ उनले भने, ‘सन् २०१५ मा जब बीआरआईको ब्लुप्रिन्ट प्रकाशित भयो । त्यो ब्लुप्रिन्ट र त्यो सन् २०१९ को दोस्रो बेल्ट एन्ड रोड फोरममा भएको समीक्षा हेर्दा चीनले थप समृद्ध बनाएर बीआरआईलाई निरन्तरता दिन खोजेको देखिन्छ ।’ सन् २०१३ देखि सन् २०१५ मा जस्तो अन्तर्राष्ट्रिय परिस्थिति नभएको र विश्वमा राजनीतिक ध्रुवीकरण बढिरहेको हुनाले पनि चीनले बीआरआईलाई थप परिष्कृत बनाउने सापकोटाको आकलन छ ।

बीआरआई रहिरहेकै अवस्थामा चीनले ग्लोबल डेभलपमेन्ट इभिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई अघि बढाएको छ । राष्ट्रपति सीले सन् २०२१ अप्रिलमा ‘बोआओ फोरम फर एसिया’ लाई सम्बोधन गर्दै जीडीआई र जीएसआई घोषणा गरेका थिए । जीडीआई मानवीय सहयोगमा र जीएसआई सुरक्षा सहकार्यमा केन्द्रित छ । ‘यी दुई इनिसिएटिभलाई ल्याएपछि चीनले बीआरआईलाई फरक ढंगबाट लान्छ । बीआरआई ठूलो परियोजनाका लागि देखिन्छ,’ भूराजनीतिक जानकार भट्टले भने ।

प्रकाशित : आश्विन १२, २०७९ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?