ढाकामा नेपाल-बांग्लादेश ऊर्जा सहकार्यका लागि छलफल

काठमाडौँ — नेपाल र बांग्लादेशबीच ऊर्जा सहकार्यका लागि छलफल भएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका ऊर्जा राज्यमन्त्री नसरुल हमिदसँग मंगलबार भएको भेटवार्तामा दुई मुलुकबीच ऊर्जा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार बैठकमा ऊर्जा सहकार्यको सम्भावनालाई उपयोग गर्ने सम्बन्धमा राजदूत भण्डारी र राज्यमन्त्री हमिदबीच कुराकानी भएको हो ।
पछिल्लो समय बांग्लादेशले नेपालबाट विद्युत् लैजान चाहिरहेको छ । केही समयअघि बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमणका क्रममा नेपालबाट विद्युत् लैजाने विषयमा छलफल गरेकी थिइन् । नेपालबाट बांग्लादेशमा विद्युत् पुर्याउन भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले त्यसका लागि त्रिपक्षीय सहकार्य आवश्यक हुन्छ ।
यसैगरी राजदूत भण्डारीले बांग्लादेशका गृहमन्त्री असदुजमान खानसँग पनि भेटवार्ता गरेका छन् ।
