अन्तर्राष्ट्रिय प्रणालीमा बलियो ऐक्यबद्धता र सहकार्य आवश्यक : परराष्ट्रसचिव पौड्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रसचिव भरतराज पौड्यालले अन्तर्राष्ट्रिय प्रणालीमा अन्तर्राष्ट्रिय समुदायबीच बलियो ऐक्यबद्धता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय प्रणालीमा बलियो ऐक्यबद्धता र सहकार्य आवश्यक : परराष्ट्रसचिव पौड्याल

नेपाली प्रतिनिधिमण्डलका प्रमुखको रुपमा संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका सचिव पौड्यालले सोमबार सम्बोधन गर्दै कोभिड–१९ को महामारी, भू–राजनीतिक तनाव, असमानता र जलवायु संकटबाट उत्पन्न विषयले विश्व शान्ति र समृद्धिमा पर्नसक्ने खतराबारे उल्लेख गरे । उनले त्यसलाई पार गर्न अन्तर्राष्ट्रिय प्रणालीमा मजबुद ऐक्यबद्धता र सहकार्यमा हुनुपर्ने बताए ।

उनले महामारी नियन्त्रणलाई विश्वभर उच्च प्राथमिकतामा राख्दै जीवन बचाउन खोपमा समानता र खोपलाई विश्वव्यापी बनाउन पनि आह्वान गरे । उनले नेपालका ९६ प्रतिशतभन्दा बढी जनसंख्याले खोप लगाएको बताए । उनले भने,‘नेपालले यो कोसेढुंगा हासिल गर्न सहयोग गरेकोमा छिमेकी, भारत र चीनलगायत विकास साझेदारलाई धन्यवाद छ ।’

उनले नेपाललाई कम विकसिम मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न विकास सहायता, वैदेशिक लगानी, ऋण राहत, व्यापारमा सहयोग र प्रविधि हस्तान्तरणको स्तर बढाउन पनि आह्वान गरे । विकासोन्मुख देशहरूले सामना गर्ने जलवायु संकटलाई सम्बोधन गर्न जलवायु वित्त लक्ष्यहरू तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

परराष्ट्रसचिव पौड्यालले शान्ति, सुरक्षा र निशस्त्रीकरणमा नेपालको सैद्धान्तिक अडान रहेको पनि दोहोर्‍याएका थिए । यस्तै उनले मानव अधिकारप्रति नेपालको लगातार प्रतिबद्धता रहेको बताएका थिए । नेपालको संविधानले विश्वव्यापी मान्यता प्राप्त मानव अधिकार र मौलिक स्वतन्त्रताको प्रत्याभूति गर्दै समावेशी र सहभागिताको सिद्धान्तलाई प्रत्याभूत गरेको पनि उनले उल्लेख गरे ।

‘पीडितका सरोकारलाई सम्बोधन गर्दै, सर्वोच्च अदालतको निर्देशनको पालना गर्दै, बृहत् शान्ति सम्झौताको भावना र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको पालना गर्दै संक्रमणकालीन न्याय सम्पन्न गर्ने नेपालको प्रतिबद्धता रहेको छ,’ पौडेलले भने ।

सचिव पौड्यालले युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, यमन र मध्यपूर्वको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका थिए । उनले शान्ति, सुरक्षा र स्थायित्व सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका थिए ।

नेाल संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा दोस्रो ठूलो संख्यामा सेना र प्रहरी सहभागी गराउने देश हो । परराष्ट्र सचिव पौडेलले उक्त कुरा स्मरण गराउँदै शान्ति अभियानलाई सुधार गर्ने पहलप्रति समर्थन व्यक्त गरेका थिए ।

प्रकाशित : आश्विन ११, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?