सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरू छलफलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दल सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा छन् । दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरूलाई दसैं अगावै सिटको भागबन्डाा टुंग्याएर उम्मेदवार चयनको छलफल गर्नुपर्ने दबाब छ ।

सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरू छलफलमा

गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएका छन् ।

कार्यदलले दिएको निचोडका आधारमा मंगलबार शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । बिहान ११ बजेदेखि बालुवाटारमा सिट बाँडफाँटको विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ले जानकारी दिए । ‘बैठक सुरू भएको एक घन्टा भयो, आज दिनभर छलफल गरेर भएपनि सहमतिमा पुग्ने भनिएको छ,’ उनले भने ।

कार्यदलका सदस्य रहेका जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङले कार्यदलले दिएको निष्कर्षमाथि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको र बेलुकासम्म सहमति हुन सक्ने बताए ।

नेताहरूका अनुसार गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये नेपाली कांग्रेसले ८०/८५, माओवादी केन्द्रले ४५/४७, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १५/१७ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमतिको प्रारम्भिक खाका तयार भएको छ । कतिपय क्षेत्रमा भने दलहरूबीचको टकराव अझै मिलिसकेको छैन ।

प्रकाशित : आश्विन ११, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?