कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘ब्ल्याकमेल’ गरेको भन्दै युवतीले गरिन् पूर्वशिक्षकको ‘हत्या’

कुम्भराज राई

ओखलढुंगा — बिहीबार बिहान चिशंखुगढी–४ लेकखर्कका खड्गबहादुर राईले दूध दोएर तताए । सदाझैँ घरमा डेरा गरी बसेका शिक्षक दीपक ठाकुरलाई एक गिलास दूध दिन उनको कोठामा पुगे । ‘दीपक सर, उठ्नुस दूध लिनुस्’ भने । तर ठाकुरले ढोका खोलेनन् । उनले ढोकाको बाहिरबाट ह्यान्डिल लगाइएको देखे । 

ठाकुर सोही बिहान दसैं बिदा लिइ घर जान्छु भनेका थिए । ढोकामा ताल्चा नलाई शिक्षक घर गए कि भनेर राईले ढोका खोले । भित्रको दृश्य देखेपछि उनी तर्सिए । शिक्षक ठाकुर ओछ्यानमा अर्धनग्न अवस्थामा मृत थिए । लगत्तै उनले वडाध्यक्ष र प्रहरीलाई सम्पर्क गरे । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको टोली पठायो । प्रहरी निरीक्षकले शिक्षकको हत्या भएको अनुमान गरे । थप अनुसन्धान गर्न डीएसपी सुकदेव खनाललाई अनुरोध गरे ।

डीएसपी खनाल अनुसन्धानका लागि टोली लिएर शुक्रबार राति घटनास्थलमा पुगे । घटनाको अनुसन्धान सुरु भयो । शनिबार साँझ सिद्धिचरण नगरपालिका–८ सल्लेरीबाट २२ वर्षीया छलमाया धमला पक्राउ परिन् । सुरुमा उनले घटना आफूलाई थाहा नभएको बताइन तर प्रहरीको केरकारपछि उनले आफैले हत्या गरेको स्वीकार गरिन् ।

‘ब्ल्याकमेलिङ’ ले हत्या

मृतक ठाकुर केही वर्ष सल्लेरीकै विद्यालयमा अस्थायी शिक्षकका रूपमा कार्यरत थिए । आरोपी युवती धमला उनकी विद्यार्थी थिइन् । ठाकुर र युवतीबीच त्यतिबेलादेखि चिनजान थियो । उनीहरूबीच टेलिफोनमा संवाद हुन्थ्यो । सप्तरी विष्णुपुरा गाउँपालिका–५ घर भएका ३३ वर्षीय ठाकुरले तीन वर्षअघि शिक्षक सेवा आयोग उत्तीर्ण गरे । उनको पोस्टिङ सुरुमा चिशंखुगढी–४ सेर्नास्थित कालिमाटी विद्यालयमा भयो । २०७७ मा सरुवा भई हाल कार्यरत लेकखर्क पुगेका थिए ।

शिक्षक ठाकुर विवाहित हुन् । उनका तीन छोराछोरी र श्रीमती छन् । उनले हत्या आरोपित युवती धमलालाई बारम्बार फोन गरी व्यक्तिगत स्वतन्त्रतामा आँच आउने गरी धम्क्याउने गरेको प्रहरी बताउँछ । फोन नउठाए अपशब्दसहितको गाली गर्दै म्यासेज गर्ने गरेको युवतीले प्रहरीसँगको बयानमा भनेकी छिन् । सहनै नसक्ने किसिमको व्यवहार हुन थालेपछि युवती मानसिक तनावमा थिइन् ।

युवतीले उनको श्रीमतीलाई समेत टेलिफोन गरी श्रीमान्लाई ‘सम्झाउनु, नसुध्रिए मार्दिन्छु’ भनेकी थिइन् । तर ठाकुरकी श्रीमतीले उल्टै आफ्नो श्रीमान् त्यस्तो नभएको जवाफ दिइन् । त्यसपछि युवतीले परिवारका सदस्यलाई ती शिक्षकको म्यासेज देखाइन् । तर त्यो म्यासेज गर्ने शिक्षक दीपक ठाकुर नभएर अरु कोही युवक भएको बताइन् । किनभने ठाकुर त्यस्ता शिक्षक हुन् भनेर गाउँका कसैले पत्याउँदैनथे ।

परिवारकै एक सदस्यको सल्लाहमा एक पटक भेटेर राम्रोसँग सम्झाउने कुरा भयो । सोही निधोअनुसार उनी बुधबार सदरमुकामको हाट बजार जान्छु भनी घरबाट निस्किइन् । तर बजार नगई उनी सदरमुकामदेखि करिब ५ कोस टाढा रहेको लेकखर्क पुगिन् । गएको दिन उनी शिक्षक बस्ने घरनजिकैको जंगलमै रात बिताइन् । भोलिपल्ट बिहप्बार शिक्षक ठाकुर स्कुलबाट छिट्टै बिदा लिएर दुईबजे तिर डेरा फर्किए । शुक्रबार नै दसैंका लागि घर बिदा जान लागेकोले तयारीका लागि छिटो बिदा मागेर निस्किएका थिए ।

ठाकुरले युवतीलाई डेरामा बोलाए । घरमा कोही नभएको सुनेपछि युवती शिक्षकको डेरामा पुगिन् । उनीहरूबीचमा विवाद भयो । एकअर्काको मोबाइलको सिम भाँचे । ठाकुरले युवतीसँग बिहे नगर्ने कुरा दोहोर्‍याए । उल्टै युवतीको भविष्य समाप्त पार्दिने ‘धम्की’ दिए ।

शिक्षक झ्यालमा अडेस लगाएर बसेका थिए । युवतीले उनको टाउको समातेर झ्यालको चौकसमा ठोक्काइदिइन् । त्यसपछि उनले ठाकुरलाई हिर्काइन् । शिक्षक चिच्याउन खोजे । उनले गम्छाले शिक्षकको मुख बाँधिदिइन् । त्यसपछि त्यही गम्छाले हल्का घाँटीमा बेरिदिइन् । ओछ्यानमा सुताइन् । अनि आफ्नो मोबाइलमा ठूलो आवाजमा गीत बजाएर छोडिन् । बाहिरबाट ढोकाको ह्यान्डिल लगाइन् र करिब दिउँसो चारबजेतिर त्यहाँबाट भागिन् ।

बिहीबार बेलुकी आठ बजे उनी सल्लेरीस्थित घरमा पुगिन् । प्रहरीले उनलाई पर्सिपल्ट पक्राउ गर्‍यो । डीएसपी सुकदेव खनालका अनुसार युवतीको बयान र घटनास्थलसँग सम्बन्धित सबै प्रमाणहरुले हत्या तिनै युवतीले गरेको देखिन्छ । तर त्यस घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धान जारी राखिएको छ । डीएसपी खनालले ती युवती एकदमै डिप्रेसनमा गएर हत्या गर्ने निधोमा पुगेको हुनसक्ने बताए ।

प्रकाशित : आश्विन ११, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?