कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हिमालमा बढ्दै आँधी र पहिरो

‘पहिला असोजमा मनसुन निख्रिन्थ्यो, जसले गर्दा मौसमी गतिविधिमा अहिलेजस्तो उथलपुथल मच्चिँदैनथ्यो । अहिले जलवायुमा विषम किसिमका गतिविधि देखिएका छन्, मनसुनी गतिविधिसँगै परेको बाक्लो हिमपात भिरालो जमिनले थेग्न नसकेपछि पहिरोको रूप लिएको हुन सक्छ ।’ -हिमताल तथा हिमनदीविज्ञ रिजनभक्त कायस्थ
अब्दुल्लाह मियाँ

काठमाडौँ — पर्वतीय क्षेत्रका बासिन्दाले पछिल्लो समय भोगिरहेका हिमपहिरो, हिमआँधीलगायत वातावरणीय समस्या समाधानका लागि हिन्दुकुश हिमालय क्षेत्र समेटिएका आठ देशका मन्त्रीहरूको क्षेत्रीय परिषद् बनाउने मुस्ताङ घोषणा भएको एक साता नबित्दै गोरखाको मनास्लु क्षेत्रमा वातावरणीय विपद् निम्तिएको छ । हिमपहिरोमा परी एक जना आरोहीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

हिमालमा बढ्दै आँधी र पहिरो

मनास्लु क्षेत्रमा हिमपहिरोबाट विगतमा धेरै हताहतीका घटना भएका छन् । त्यसलाई सम्झेर तल्लो तटीय क्षेत्र त्रसित हुन्छ । हिमपहिरो र आँधी नेपालका लागि नौलो विषय नभए पनि केही वर्षयता यस्ता समस्यामा बढोत्तरी भइरहेको जानकारहरूको विश्लेषण छ । जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रकृति रिसोर्स सेन्टरका राजु पण्डित क्षत्री जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा हिमाल आरोहण र पदयात्रामा जोखिम बढिरहेको बताउँछन् ।

‘तल्लो तटीय क्षेत्रमा हिमबाढी र पहिरोको समस्या बढिरहेको छ,’ उनले भने, ‘अहिलेको हिमपहिरो पनि गत वर्ष मंसिरमा मुस्ताङमा गएको हिमबाढीकै निरन्तरता हो ।’ मुस्ताङ र गोरखाबाहेकका हिमाली जिल्लामा पनि पहिरो, आँधी र अकस्मात उत्पन्न हुने मौसमी गतिविधिमा बढोत्तरी भइरहेको छ ।

काठमाडौं विश्वविद्यालयका हिमताल तथा हिमनदीविज्ञ रिजनभक्त कायस्थ पनि हिमआँधी र हिमपहिरोलाई जलवायुजन्य जोखिमका रूपमा व्याख्या गर्छन् । ‘पहिला असोजमा मनसुन निख्रिन्थ्यो, जसले गर्दा मौसमी गतिविधिमा अहिलेजस्तो उथलपुथल मच्चिँदैनथ्यो,’ कायस्थले कान्तिपुरसँग भने, ‘अहिले जलवायुमा विषम किसिमका गतिविधि देखिएका छन्, मनसुनी गतिविधिसँगै परेको बाक्लो हिमपात भिरालो जमिनले थेग्न नसकेपछि पहिरोको रूप लिएको हुन सक्छ ।’

केही वर्षयताका घटना हेर्ने हो भने उच्च हिमाली भागमा छिटोछिटो मौसम बदलिरहने गतिविधि बढ्दो छ । त्यस्तो गतिविधिसँगै विपद्जन्य घटनाका संख्यासमेत बढे पनि पूर्वसूचना प्रणाली भने अझै जडान हुन सकेको छैन । हरेक वर्ष हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा हिमाली क्षेत्रदेखि सामुद्रिक मुलुकले भोगिरहेका विपद्जन्य घटनाबारे चरणबद्ध बहस हुने गरे पनि त्यसको मुख्य कारक मानिएको जलवायु परिवर्तनको प्रभाव रोक्न तत्काल चाल्नुपर्ने कदम अघि बढाउन विकसित मुलुकहरूले आलटाल गर्ने गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले अहिले नै नियन्त्रण गर्नेतिर ध्यान नदिने हो भने आगामी वर्षहरूमा खडेरी, बाढी, पहिरो, हिमपहिरो, हिमआँधी, हिमताल विस्फोट, अनियन्त्रित डढेलो, अति वर्षाजस्ता घटना बढ्ने चेतावनीसमेत दिइसकेको छ । ‘नेपालले त झन् त्यस्ता घटनाहरूको बर्सेनि सामना गर्दै आएको छ,’ कायस्थले भने ।

नेपालमा वार्षिक ०.०५६ डिग्री सेल्सियसले तापक्रम बढिरहेको छ । यो जल तथा मौसम विज्ञान विभागको अध्ययन (१९७१–२०१४) हो । सन् २०१७ को अध्ययनअनुसार यो दर हिमाली क्षेत्रमा ०.०८६ डिग्रीसम्म छ । तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाल, हिमताल, हिमनदी, वनस्पति र वन्यजन्तुमा परेको छ । जलवायुजन्य जोखिमको असर बढ्दा मानवीय जीवनयापन कष्टकर बन्नुका साथै बर्सेनि ठूलो क्षतिसमेत निम्तिने गरेको क्षत्री उल्लेख गर्छन् ।

तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने क्रम बढ्दा नयाँ हिमताल बनिरहेको र पुराना ताल विस्तार हुँदा विस्फोटको जोखिम बढेको कायस्थ बताउँछन् । नेपालले सन् १९७७ पछि हिमताल विस्फोटले निम्त्याउने विपद् सामना गर्न थालेको हो । नेपालले अहिलेसम्म हिमताल विस्फोटका २६ घटना व्यहोरेको छ ।

तीमध्ये १४ वटा नेपालको भागबाटै विस्फोट भएका थिए, ११ वटा हिमतालले अन्तरदेशीय समस्या निम्त्याएका थिए । पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्र (एचकेएच) मा भने ५० वटा हिमताल विस्फोट भइसकेका छन् । चीन, नेपाल, भुटान र पाकिस्तानमा मात्र हिमताल विस्फोटका घटना भएका छन् । सन् १९४० देखि सन् २००० सम्म त्यस्ता घटना बढेको देखिन्छ ।

हिमताल विस्फोटपछि आउने आकस्मिक बाढीले मानव क्षतिसहित जलविद्युत् आयोजना, सडक, मोटर पुल, झोलुंगे पुल र मानव बस्तीलगायतमा ठूलो क्षति गर्ने गरेको छ । त्यससँगै जैविक विविधतामा पनि क्षति हुने गरेको छ ।

अहिलेकै हिसाबले कार्बन उत्सर्जन जारी रहे पृथ्वीको औसत तापक्रम सन् २०४० भित्रै १.५ डिग्री सेल्सियस बढ्ने चेतावनी गत साउनमा दिएको छ । हरितगृह ग्यास उत्सर्जन कटौती नगर्ने हो भने पृथ्वीको तापक्रम पेरिस सम्झौताले निर्धारण गरेको थ्रेसहोल्ड अर्थात् १.५ डिग्रीभन्दा माथि जाने र विश्वभर नै जलवायुजन्य उथलपुथल मच्चिने बताइएको छ ।

इसिमोडको प्रतिवेदनमा सन् २१०० मा विश्वको वायुमण्डलको औसत तापक्रम १.५ डिग्रीले बढ्ने, हिमाली क्षेत्रमा तापक्रम वृद्धि १.८ डिग्रीले हुने र विश्व वायुमण्डलको तापक्रम २ डिग्री भएमा दुई तिहाइ हिमनदी मासिने आकलन गरेको छ ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?