आरोहणयाममै हिमपहिरो

मनास्लुमा एक आरोहीको मृत्यु, ६ जना गम्भीर घाइते, ७ वर्षयताकै ठूलो

काठमाडौं, गोरखा — मनास्लुमा सोमबार अपराह्न गएको हिमपहिरोमा परी एक नेपाली आरोहीको मृत्यु भएको छ भने कम्तीमा ६ जना गम्भीर घाइते भएका छन् । उत्तरी गोरखामा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल आरोहणमा रहेको टोलीका १३ जना नेपाली शेर्पा र एक भारतीय महिला आरोही पहिरोमा परेका हुन् । 

आरोहणयाममै हिमपहिरो

आरोहण व्यवसायीका अनुसार मनास्लुको हिमपहिरो क्षतिका हिसाबले २०७२ वैशाख १२ मा सगरमाथामा भूकम्पसँगै गएको हिमपहिरोपछिको ठूलो हो । सात वर्षअघि सगरमाथाको हिमपहिरोमा २२ जनाको मृत्यु भएको थियो । मनास्लुमा आरोहण बढी हुने शरद्याममा यसपटक हिमपहिरो गएको हो । नेपालका हिमालमा बढीजसो हिमपहिरो वसन्तयाममा जाने गर्छ ।

मनास्लुनजिक सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालका अनुसार अपराह्न १२ बजे आसपास मनास्लुको तेस्रो र चौथो शिविरबीच पहिरो खसेको हो । तेस्रो शिविर ६ हजार ८ सय मिटर उचाइमा छ भने चौथो ७ हजार ४ सय ५० मिटर उचाइमा छ । उक्त पहिरोमा आरोहीका लागि बन्दोबस्तीका सामग्री ओसार्ने क्रममा रहेका शेर्पा र एक आरोही परेको जानकारी आएको उनले बताइन् । मृत्यु भएकाको परिचय विभागले खुलाएको छैन । पहिरोमा परेकाहरू सेभेन समिट ट्रेक्स प्रालि, इम्याजिन नेपाल ट्रेक्स सातुरी एडभेन्चर प्रालि र एटके एक्सपिडिसनमा आबद्ध शेर्पा तथा आरोहण दल सदस्य रहेको खुलेको छ ।

चारवटा आरोहण कम्पनीका पहिरोमा परेका १३ मध्ये कम्तीमा ६ जना गम्भीर घाइते भएको सातुरीका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले कान्तिपुरलाई बताए । गोरखा प्रहरीका अनुसार घाइतेमध्ये संखुवासभाको मकालु–१ का २७ वर्षीय सुकुबहादुर तामाङ र दोलखाको गौरीशंकर–५ का ४४ वर्षीय जितबहादुर शेर्पालाई ५ घण्टापछि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो । उनीहरूलाई कैलाश एयरको हेलिकोप्टरबाट बूढानीलकण्ठमा रहेको करुणा अस्पतालमा ल्याइएको छ । अस्पतालले दुवै जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

सातुरीका प्रबन्ध निर्देशक भण्डारीले आफ्नो कम्पनीका पहिरोमा परेका तीनमध्ये दुई शेर्पा घाइते भएको र एक जनाको मृत्यु भएको बताए । यसैबीच हेली एभरेस्टको हेलिकोप्टरले सोमबार बेलुकी तेस्रो शिविरबाट उद्धार गरेका घाइते एक शेर्पालाई खराब मौसमका कारण काठमाडौं ल्याउन सकेन । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार बेलुकी ५ बजेपछि तेस्रो शिविरबाट उडेको हेलिकोप्टर ५२ सय मिटर उचाइमा अड्किएको छ । ‘हिउँ नै हिउँ भएको धरातलमा हेलिकोप्टर, पाइलट, बिरामी र एक जना बिरामी स्याहार्ने शेर्पा अड्किएका छन्,’ गुरागाईंले भने, ‘मंगलबार मौसम खुलेर हेलिकोप्टर स्टार्ट भए बिरामीलाई काठमाडौं ल्याउँछौं । चिसोले हेलिकोप्टर स्टार्ट नभए अर्को हेलीमा इन्जिन स्टार्ट गर्ने ब्याट्री लैजानुपर्ने हुन सक्छ ।’

शरदयाममा मनास्लु आरोहणका लागि पर्यटन विभागले शुक्रबारसम्म ३८ वटा आरोहण दलका ४ सय ४ जनालाई अनुमति दिएको थियो । सहयोगी गाइडसमेत गरेर करिब ४ सय जना यो साता चुचुरोमा पुग्ने तयारीमा थिए । सोमबारको घटनाले आधारशिविरमा रहेका उनीहरूको तालिकालाई फेरि प्रभावित पारेको व्यवसायीहरूले बताएका छन् । यस सिजनका लागि भदौ ३० गते मनास्लु शिखरसम्मैको बाटो डोरी टाँगेर बनाइएको थियो । तर, प्रतिकूल मौसमका कारण आरोहण प्रभावित हुँदै आइरहेको थियो ।

गोरखा प्रहरी प्रमुख लीलाराज लामिछानेले मौसम प्रतिकूलताका कारण अबेरसम्म घटनाबारे यकिन जानकारी प्राप्त गर्न कठिनाइ भएको बताएका छन् । यो घटना भएको केही घण्टामै उद्धारका लागि काठमाडौंबाट सिम्रिक, कैलाश र हेली एभरेस्टका तीनवटा बीथ्रीई हेलिकोप्टर घटनास्थलनजिकै सामागाउँ पुगेका थिए । हिमपात र खराब मौसमका कारण ती हेलिकोप्टर आधारशिविरदेखि चार घण्टा वरको गाउँमा अवतरण गर्नुपरेको काठमाडौंबाट पुगेका सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले बताए । कैलाशको हेलिकोप्टर फर्केको छ भने हेली एभरेस्ट र सिम्रिकको हेलिकोप्टर मनास्लु र सामागाउँमै राखिएका छन् । मंगलबार मौसममा सुधार आएमा बिहानै उद्धार कार्य थालनी अपरेटर्स एसोसिएसनले जनाएको छ ।

यस सिजनमा मनास्लुमा लगातार हिउँ परेकाले डोरी टाँग्ने काम (रोप फिक्सिङ) मा अवरोध झेल्नुपरेको युक्त गुरुङले बताए । ‘५/६ फिट नयाँ हिउँ छ, हिउँ दिनदिनै परेको पर्‍यै छ,’ उनले भने । गोरखा लाप्राक घर भएका गुरुङका अनुसार हिमपहिरोमा फसेकाको नजिकै क्याम्पमा रहेको शेर्पा गाइडहरूले उद्धार गरेर तेस्रो शिविरमा ल्याएका थिए ।

प्रकाशित : आश्विन ११, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?