कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

लोहनीलाई हराउँदै राप्रपाको समानुपातिक सूचीको पहिलो नम्बरमा राणा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को समानुपातिक सूचीको पहिलो नम्बरको उम्मेदवार पशुपति शमशेर राणा हुने भएका छन् । राप्रपाको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिमा भएको गोप्य मतदानमा प्रकाशचन्द्र लोहनीलाई पछि पार्दै खास-आर्य समूहको पहिलो नम्बरमा पर्न राणा सफल भएका हुन् । 

लोहनीलाई हराउँदै राप्रपाको समानुपातिक सूचीको पहिलो नम्बरमा राणा

कार्यसम्पादन समितिको बैठकमा राणाको पक्षमा ११ मत खसेको थियो भने लोहनीले ९ मत प्राप्त गरेका थिए । 'समानुपातिक सूचीको पहिलो नम्बरमा को रहने भन्ने विषयमा सोमबार चार पटक बैठक बसेको थियो । ‘त्यसमा सहमति जुट्न नसकेपछि गोप्य मतदानबाट छिनोफानो गरिएको हो‚' राप्रपाका एक नेताले भने, 'राणाले ११ र लोहनीले ९ मत प्राप्त गर्नुभयो ।'

सातै प्रदेशका अध्यक्ष पदेन सदस्य रहेको कार्य सम्पादन समिति २८ सदस्यीय रहेको छ । कार्य सम्पादन समितिका सदस्य बालाराम घर्ती स्वास्थ्यस्थितिको कारण देखाउँदै बैठकमा उपस्थित थिएनन् । एक नेताका अनुसार हरिबहादुर बस्नेत र मुकुन्दश्याम गिरीले मतदानमा भाग लिएनन् ।

'बैठकमा मतदानअघि राणा र लोहनीलाई दाबी गर्नका लागि समय दिइएको थियो‚' ती सदस्यले भने, 'अध्यक्ष लिङ्देनले हस्ताक्षर गरेर सबै सदस्यलाई कागज दिनुभयो । सदस्यहरूले त्यसमै गोप्य मतदान गरे ।’

मतदानको समयमा बैठकबाट राणा र लोहनी दुवै बाहिरिएका थिए । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका दुई वरिष्ठ नेताहरूबीच तिक्ततापूर्ण प्रतिद्वन्द्विता पञ्चायतकालदेखिकै हो । पञ्चायतकालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको ‘सेन्टर फर इकोनोमिक्स डेभ्लोपमेन्ट एन्ड एडमिनिस्ट्रेसन’ (सेडा) मा राणा निर्देशक र सह-निर्देशक लोहनी रहेका थिए ।

'उहाँहरूबीचको तिक्ततापूर्ण प्रतिस्पर्धा पञ्चायतकालदेखिकै हो । यो बीसको दशकको मध्यदेखिकै हो‚' राप्रपाका एक नेताले भने । पछि राष्ट्रिय पञ्चायतमा राणालाई उछिन्दै लोहनीको पहिलो प्रवेश भयो । तर मन्त्रिपरिषद्‌मा इन्ट्री भने राणाको रह्यो । 'पछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदै दुवै मन्त्री हुनुहुन्थ्यो‚' ती नेताले भने, 'एकले अर्कोको अस्तित्वलाई कहिले पनि स्वीकार गर्नुभएन ।'

प्रकाशित : आश्विन १०, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?