राप्रपामा प्रवेश गर्न मिश्रले छाडे विवेकशील साझा- समाचार - कान्तिपुर समाचार

राप्रपामा प्रवेश गर्न मिश्रले छाडे विवेकशील साझा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्न लागेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै मिश्रले आफूले उठाउँदै आएको विषयलाई प्राप्त गर्न पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् । उनले राप्रपा प्रवेश गरेर काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताएका छन् ।

'झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ । अन्ततोगत्वा सो प्रयासको पहिलो महत्त्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ,' मिश्रले राजीनामापत्रमा लेखेका छन्‚ 'त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले आजकै मितिदेखि लागू हुने गरी मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।'

उनले विवेकशील साझा पार्टी छाड्ने निर्णय जीवनकै सबैभन्दा कठिनतम भएको बताए । मिश्रले दुईवटा ध्रुवको तीनवटा राजनीतिक दलमात्रै रहने दाबी गरेका छन् ।

'नेपाली राजनीतिमा अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुने छ,' उनले भने‚ ‘यी दुईबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ । तर समयक्रममा त्यो कि साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ ।'

प्रकाशित : आश्विन १०, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा दलित र ब्राह्मणको जमरा एकै स्थानमा

रासस

नुवाकोट — नुवाकोटको बेलकोटमा दलित र ब्राह्मण समुदायको एकैस्थानमा जमरा राखिएको छ । बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरञ्जना भगवतीको मन्दिरमा रहेको दसैं घरमा आज सामूहिक जमरा राखिएको हो । 

यो वर्ष १२ घर दलित समुदायको सहित एक सय ८१ परिवारले दसैं घरमा सामूहिक जमरा राखेको मन्दिरमा पुजारी नारायणप्रसाद पौडेलले जानकारी दिए । सामूहिक जमरा दलित, ब्राह्मण, क्षेत्र, नेवार, मगरले राखेका हुन् ।

मन्दिरमा गाउँमा दलितसहित सबै समुदायको सामूहिक जमरा राख्ने चलन धेरै वर्ष पुरानो भएको मन्दिरका उपासे मानबहादुर रानाले बताए । 'यो परम्परा पृथ्वीनारायाण शाहकै पालादेखिको चलन भएको बुढापाकाले बताउने गरेका छन्,' रानाले भने, 'दलित र गैरदलितको जमरा एकै स्थानमा राख्ने चलनले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।'

दसैं घरको वैधिक विधिपूर्वक दसैं दिन पूजा हुने गरेको छ । सामूहिक जमरा राखेकाले विजया दशमीको दिन मन्दिरमा जमरा पूजा गरी घरघरमा लैजाने चलन रहेको निरञ्जना भगवती गढी क्षेत्र विकास संरक्षण समितिका पूर्वअध्यक्ष कालीबहादुर तिवारीले बताए । मन्दिरको पुजारी पौडेल खलकका र उपासे मगर समुदायका रहेका छन् ।

प्रकाशित : आश्विन १०, २०७९ २१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×