‘भारत भाजपा र आरएसएसको नियन्त्रणमा’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भारत भाजपा र आरएसएसको नियन्त्रणमा’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राध्यापक राहुल मुखर्जीले भारत भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को नियन्त्रणमा रहेको बताएका छन् । जर्मनीस्थित हाइडलबर्ग युनिभर्सिटीअन्तर्गत साउथ एसिया इन्स्टिच्युटका प्राध्यापक मुखर्जीले ‘प्रतिस्पर्धात्मक अधिनायकवादतर्फ उन्मुख भारत’ शीर्षकमा विचार व्यक्त गर्दै भारतमा नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारले संविधानमाथि आक्रमण गरेको समेत उल्लेख गरे ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) द्वारा पाटनढोकामा आयोजित एक कार्यक्रममा प्राध्यापक मुखर्जीले भारतमा विपक्षी दल कंग्रेस आई कमजोर भएकाले पनि भाजपा बलियो भएको बताए ।

‘जुन हिसाबमा कंग्रेसमा राहुल गान्धीको कमजोर नेतृत्व रह्यो । र, जसरी राहुलले क्रियाकलापहरू गरे; त्यसले भाजपालाई सहज भयो,’ उनले टिप्पणी गरे ।

अमेरिकाका लागि नेपालका पूर्वराजदूत सुरेश चालिसेसँगको संवादमा प्राध्यापक मुखर्जीले भारतमा दुईवटा मात्र राष्ट्रिय पार्टी रहेको उल्लेख गर्दै अहिले भाजपा बलियो देखिएको र कंग्रेस निकै कमजोर भएको प्रस्ट पारे ।

उनले पछिल्लो समय भारतीय संसद्‌मा भजपा बलियो भएपछि विधेयकहरूमाथि छलफलसमेत हुन छाडेको उदाहरण दिए । उनले किसान विधेयकपछि विरोध भएपछि मोदी सरकारले फिर्ता लिए पनि त्यसलाई सुरुवातमा कसैले पनि छलफल नगरेको बताए ।

उनले थपे, ‘उक्त विधेयकलाई लिएर विपक्षी दलहरू‚ जुन हिसाबले एजेन्डा बनाएर अघि बढ्न सक्थें, त्यो गरेनन् । त्यहाँ विपक्षीहरू कमजोर सावित भए ।’

प्राध्यापक राहुलले भारतमा मोदी सरकारले गैरसरकारी क्षेत्रमा विदेशी लगानीका सम्बन्धमा कडाइ गर्ने, विदेशी गैरसरकारी संस्थालाई कानुनद्वारा कस्ने, संविधानबाट ३७० धाराको संशोधन गरी जम्मु र कश्मिर राज्यलाई दुई भागमा विभाजन गरी केन्द्रबाट शासन गर्ने ‘युनियन टेरिटोरी’ बनाएको उल्लेख गरे । उनले भाजपाले तीन हिसाबमा काम गरेको बताए ।

‘पहिलो तरिका पहिले भइरहेका कुराहरुलाई आफ्नै हिसाबमा व्याख्या गर्ने हो । दोस्रो, पहिले भइरहेका कानुनमा केही परिवर्तन गर्ने हो । तेस्रो, भइरहेका संस्थाहरूलाई पूर्ण रुपमा भत्काउने हो,’ उनले भने ।

प्रकाशित : आश्विन १०, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठ कांग्रेसमा प्रवेश

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गरेकी छन् । सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीको सदस्यता दिएर स्वागत गरेका हुन् ।

श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट संघीय संसद् सदस्यमा चुनाव लडेकी थिइन । उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेका बताइन् । त्यस क्रममा कांग्रेस नेता भीमसेनदास प्रधान पनि सहभागी थिए ।


प्रकाशित : आश्विन १०, २०७९ १९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×