मनास्लु हिमपहिरोका दुई जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौँ — मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेलाई कैलाश हेलिकप्टरबाट काठमाडौंमा ल्याइएको छ ।

कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेका अनुसार, गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पतालमा ल्याएको हो । ‘केहीबेरअघि हाम्रो हेलिकप्टरले दुई जना घाइतेलाई अस्पतालमा छाडेर भर्खरै काठमाडौं विमानस्थलमा फर्केको छ,’ पाण्डेले भने ।
तस्बिर सौजन्य : सनम श्रेष्ठ
गोरखा सामागाउँमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत यशोदा अर्यालका अनुसार, ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारेको थियो । त्यहाँबाट कैलाशको हेलिकप्टरमा काठमाडौं पठाइएको हो । करुणा अस्पतालले दुई जना घाइतेहरु डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेको बताएको छ । दुबैको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ ।
मनास्लुमा गएको हिमपहिरोमा परेकाहरुको खराब मौसमका कारण ५ घण्टापछि हेलिकप्टरले उद्धार गरेको हो । सम्पर्क अधिकृत अर्यालका अनुसार, हिमपहिरोमा नपरेका शेर्पाहरुले घाइतेहरुलाई उद्धार गरेर तेस्रो शिविरमा पुर्याएका थिए । त्यहींबाट हेलिकप्टरले उद्धार गरेको हो ।
प्रकाशित : आश्विन १०, २०७९ १८:१५