राष्ट्रपतिको गैरसंवैधानिक कदम : गृहमन्त्री खाँण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिको गैरसंवैधानिक कदम : गृहमन्त्री खाँण

माधव ढुंगाना

भैरहवा — प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटकसम्म पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरी थन्क्याउनु राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंवैधानिक कदम भएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।  

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा नेपाली कांग्रेसले स्थापना गरेको सम्पर्क कार्यालय सोमबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदमसमेत भएको आरोप लगाए । ‘सरकारले संविधानको पालना गर्दै पहिलोपटक राष्ट्रपतिबाट फिर्ता भएको विधेयक दुवै सदनमा छलफल गराई पास गरेर पुन: प्रमाणीकरणका लागि पठाएको हो,’ उनले भने, ‘फेरि पनि प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदममात्रै नभएर नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथिसमेत कुठाराघात भएको छ ।’

राष्ट्रपतिजस्तो सम्मानित संस्थाले संविधानविपरीत काम गर्नु मुलुकको लोकतान्त्रिक व्यवस्था र नागरिकले प्राप्त गरेको उपलब्धि माथिको प्रहारसमेत भएको उनले बताए ।

संविधानभन्दा माथि कोही पनि हुन नसक्ने र संविधानको पालना गर्नु सबैको दायित्व र जिम्मेवारी भएको उनले बताए ।

असंवैधानिक कदमले विधि, लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउने दाबी उनले गरे । राष्ट्रपतिले उठाएका कतिपय विषय संविधान संशोधनबिना परिवर्तन गर्न सम्भव नभएकाले प्रमाणीकरण नगर्नुको कारण भए संविधानको धारा, उपधारासमेत उल्लेख गर्न मन्त्री खाँणले राष्ट्रपतिलाई चुनौती दिए ।

प्रकाशित : आश्विन १०, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

साहित्यकार थुलुङका दुई कृति सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार चमा थुलुङ (डा. सुकराज राई) का ‘नाचीनाची बेसारा’ बाल कवितासंग्रह र ‘युम्पी’ गीतिकाव्य सार्वजनिक भएको छ । प्रदेश १ खोटाङको भौगोलिक, सांस्कृतिक, भाषिक, लोकजीवनलाई लिएर उक्त कृति सिर्जना गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोपीन्द्र पौडेल, प्राध्यापक विष्णु राई, प्राध्यापक नारायणप्रसाद गड्तौलाले तीनधारे सरोकार समाज, काठमाडौंले राजधानीमा आयोजना गरेको समारोहमा कृति सार्वजनिक गरेका हुन् ।

प्राध्यापनमा संलग्न साहित्यकार थुलुङको यसअघि ‘मेरो तर्कबहादुर’ कथासंग्रह, ‘तोयामा खियामा’ नाटकसंग्रह, ‘जमाना टेन्सन र चिन्तनको’ हास्य-व्यंग्यसंग्रह, ‘आधुनिक नेपाली निबन्धमा हास्य-व्यंग्य’ र ‘सर्जक र सिर्जना विश्लेषण’ समालोचना, ‘भाडाकी आमा’ खण्डकाव्य र ‘थुलुङ मन्दुम’ प्रकाशित छन् ।

सार्वजनिक गरिएको कृतिबारे सोइना दाहाल र साहित्यकार प्राध्यापक यादेवी ढकालले चर्चा गरेका थिए ।

प्रकाशित : आश्विन १०, २०७९ १६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×