कांग्रेसमा समान हक र न्यायका लागि कोइराला समूहले घोषणा गर्‍यो आन्दोलन

कान्तिपुर संवाददाता

काठमाडौँ — समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै नेपाली कांग्रेसको विद्रोही पक्षले आन्दोलनको घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रूपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरेको हो ।

कांग्रेसमा समान हक र न्यायका लागि कोइराला समूहले घोषणा गर्‍यो आन्दोलन

सोमबार ठमेलस्थित एक होटेलमा बसेको कोइराला समूहका दोस्रो तहका नेताहरूको भेलाले आन्दोलनको घोषणा गरेका हुन् । बन्दसूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै उनीहरूले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिने बताएका छन् ।

भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलनको घोषणा गरेको नेता गुरुराज घिमिरेले बताए ।

‘पार्टीभित्र सबैलाई समान हक र न्यायकालागि हाम्रो संघर्ष हो, त्यसैकालागि निरन्तर दबाबका कार्यक्रम गर्दै आएका हौँ,’ उनले भने, ‘अब बुधबार दिउँसो १२ बजेबाट पार्टी कार्यालयमा धर्ना बस्छौँ । बिहीबार खबरदारी सभासहित शुभकामना अदान प्रदान कार्यक्रम गर्छौ, र त्यसपछि पनि समानुपातिकको सूची सच्याइएन भने हामी कठोर ऐतिहासिक निर्णय लिन बाध्य हुनेछौँ ।’

उनका अनुसार पार्टी कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम छ । यसबीचमा नेता कोइरालासहित पदाधिकारीहरूसँग छलफल गर्ने भेलाको निष्कर्ष छ ।

नेता भुपेन्द्रजंग शाहीले पार्टीले समान अवसरको वितरण नहुने अवस्था भए विद्रोहको विकल्प छैन भने भेलाको निष्कर्ष रहेको बताए ।

कोइराला समूहले पार्टीको टिकट वितरणमा ४० प्रतिशत सिट दाबी गरिरहेका बेला संस्थापन पक्षले करिब १० प्रतिशतमात्रै सिट दिएपछि कोइराला समूहका नेता थप आक्रोसित भएका हुन् ।

प्रकाशित : आश्विन १०, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?