१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दसैं सुरु, आज घटस्थापना

कान्तिपुर संवाददाता

काठमाडौँ — हिन्दु नेपालीहरूको प्रमुख चाड विजया दशमी अर्थात् बडा दसैंको आज (सोमबार) पहिलो दिन । आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने दसैं १५ दिन (कोजाग्रत पूर्णिमा) सम्म मनाइन्छ । 

दसैं सुरु, आज घटस्थापना

नवरात्र सुरु भएसँगै विभिन्न देवालयहरूमा दर्शनार्थीको भीड देखिन थालेको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भीड छ । यस अवसरमा भद्रकाली, संकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान, पलाञ्चोक भगवतीलगायत

देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

दुर्गाको प्रतिकका रूपमा यस दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । दसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाति भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमासमेत मनाउने गरिन्छ ।

यसैबीच घटस्थापनाको उत्तम साइत १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्ष दसैंको टीका भने असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम मानिएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?