काठमाडौंमै चराको अवैध किनबेच

गैरकानुनी रुपमा बिक्रीका लागि राखिएका ७ सय चरा नियन्त्रणमा, बेचबिखन गर्नेहरु तारिखमा छुटे
गोविन्द पोखरेल

काठमाडौँ — अनुगमन संयन्त्र फितलो भएको मौका छोप्दै काठमाडौंमा उपत्यकामा चराको अवैध कारोबार बढेको पाइएको छ । काठमाडौंको स्वयम्भू, लाजिम्पाट, पानीपोखरी क्षेत्रमा अवैध रूपमा चरा बिक्रीवितरण हुने गरेको पाइएको हो । 

काठमाडौंमै चराको अवैध किनबेच

बारम्बार सूचना आउन थालेपछि नियन्त्रणका लागि जिल्ला वन कार्यालय काठमाडौंले गरेको अपरेसनबाट विभिन्न स्थानमा ७ सयभन्दा बढी चराहरू नियन्त्रणमा लिइएको छ । वन कार्यालयसहित, प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो र पन्छी संरक्षण संघले ग्राहक बनेर अनुगमन गर्दा दर्जनौं पसलबाट अवैध रूपमा बेच्नका लागि ठिक्क पारिएका १५ प्रजातिका ६ सयभन्दा बढी चरा बरामद गरिएको सहायक वन अधिकृत धनमाया सुनुवारले बताइन् ।

अनुगमनका क्रममा स्ट्रबेरी फिन्च, जेब्रा फिन्च, बेंगोली फिन्च, डायमन्ड डोभ, बज्री, काकातिल, लभबर्ड, रेड ब्रेस्टेड प्याराकिट, तोपचरा, कन्ठे सुगा, लक्का पिजन, जाभा फिन्ज, ग्रीन चिट प्याराकिट, स्केली ब्रेस्टेड मुनिया, प्लम हेडेड प्याराकिट प्रजातिहरूको अवैध रूपमा बिक्रीवितरण भइरहेको पाइएको थियो ।

नियन्त्रणमा लिइएका चराहरूलाई जावलाखेलस्थित सदर चिडियाखाना पठाइएको छ । बरामद गरिएका चराहरूमध्ये काग भेला सुगा, बाया तोपचरा, कोटेरो मुनिया र सुगा प्रजाति नेपालका वन जंगलहरूमा पाइने संघका पन्छीविद् सन्तोष बजगाईंले बताए । तीमध्ये भेला सुगा आईयूसीएन नेपालको रातो पुस्तिकामा संवेदनशील अवस्थामा रहेको भन्ने सूचीकृत प्रजाति हो । साइटिसको अनुसूची–२ मा समेत यो प्रजाति सूचीकृत छ । स्वीकृतिबिना यो चरा ओसारपसार गर्न नपाइने बजगाईंले बताए ।

अनुगमन टोलीले १ सय ९४ वटा बेंगोली फिन्च चरा स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । यस्तै, १८ वटा भेला सुगा, २ सय ४० वटा बज्री चरा नियन्त्रणमा लिइएको थियो । स्वयम्भू क्षेत्रबाट १ सय ७६ वटा र लाजिम्पाटबाट ६५ वटा कोटेरो मुनिया चरा बरामद भएको सुनुवारले जानकारी दिइन् ।

नेपालमा चराको व्यापार गर्न निषेध छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ (साइटिस ऐन) अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तुको वा वनस्पतिको वा सोको नमुना अनुमतिबिना खरिदबिक्री गर्न, आफूसँग राख्न, किनबेच गर्न गराउन पाइँदैन । चरा बिक्री गर्न राख्ने पसलेहरूमध्ये ४ जनालाई बयान लिएर छाडिएको छ । उनीहरूले अवैध तरिकाबाट भारतका विभिन्न ठाउँबाट चराहरू काठमाडौं भित्र्याउने गरेको खुलेको छ । अनुगमनका क्रममा चराको अवैध व्यापार तथा व्यवसाय मुख्यतः काठमाडौंको स्वयम्भू क्षेत्रमा हुने गरेको पाइएको छ । अनुगमन टोलीले ती क्षेत्रमा ग्राहक बनेर पसलहरूमा छापा मारेको थियो ।

पन्छी संरक्षण संघका अनुसार नेपालमा पाइने चराहरूको अवैध चोरीसिकार हुने चराको प्रजाति संख्या ३५ छन् । अनलाइन तथा पसलहरूमा चराको व्यापारका लागि ग्राहकहरू आउने गरेका छन् । बिक्रीवितरणका लागि राखिएको चराको मूल्य २५० देखि १७ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । बोल्ने सुगाको मूल्य सबैभन्दा बढी हुने गरेको अनुगमन टोलीले जनाएको छ । यस्तै, नेपालमा पाइने कण्ठे सुगा पनि विभिन्न ठाउँमा बिक्री हुँदै आएको छ ।

वन्यजन्तुको अखेटोपहार तथा अवैध व्यपार सम्बन्धमा अनुसन्धान गरिरहेका सन्देश न्यौपाने मानिसको संस्कृतिसँग पनि जोडिएकाले चराहरूको अवैध कारोबार सजिलै नियन्त्रणमा आउन नसक्ने बताउँछन् । ‘मानिसहरूले घरघरमा परेवा, सुगा पाल्ने गरेका छन् । धार्मिक कार्यका लागि मयुरको प्वाँख प्रयोग गर्छन्,’ उनले कान्तिपुरसित भने, ‘नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय बोर्डर खुला भएकाले चरा लुकाएर ल्याउन सजिलो भएको छ ।’ सरोकारवाला निकायले गम्भीर रूपमा लिने र सीमानाकामा कडाइ गर्ने हो भने नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले अवैध रूपमा चरा बिक्रीवितरण गर्न नपाइने बताए । संलग्नलाई १० लाख रुपैयाँ जरिवाना वा १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने कानुन छ । नेपालमा चरा पालन गर्नका लागि कानुनी व्यवस्था पूर्ण रूपमा नभएको उनले बताए । चरा पाल्नेको स्रोत खुलाउनुपर्ने, प्रजाति र स्रोत खुलाउन नसके कारबाहीको व्यवस्था रहेको उनले जानकारी दिए ।

‘कानुनतः चराचुरुंगीको बिक्रीवितरण गर्न पाइँदैन,’ ढकालले भने, ‘भइरहेको खुल्यो, हामी अनुगमन गरिरहेका छौं । विदेशबाट ल्याइएको हो भने प्रक्रिया पूरा गरे/नगरेको हेर्नुपर्ने हुन्छ । खुलेआम किनबेच कानुनको उल्लंघन हो ।’

प्रकाशित : आश्विन १०, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?