कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना : सिंह

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताएका हुन् ।

नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना : सिंह

१२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुन सक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने सिंहको भनाइ छ । आगामी शैक्षिक नीतिमा विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने उनले दाबी गरे ।

नेता सिंहले भने, ‘नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । त्यसैले अहिले शिक्षालाई हामीले वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर शिक्षलाई अघि बढाउनु पर्छ । १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ । नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ, बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’

त्यस्तै सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबीसमेत गरे । संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, कांग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ । केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्छौं । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’

नेता सिंहले राजनीति समाजसेवा गर्ने माध्यम भएको उल्लेख गर्दै हरेक वडामा स्वास्थ्य क्लिनिक हुनुपर्ने बताए ।

प्रकाशित : आश्विन ९, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?