१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
कांग्रेसको समानुपातिक सूची

प्रधानमन्त्रीपत्नीदेखि मेडिकल व्यापारीसम्म [बन्दसूचीसहित]

समानुपातिक सूचीमा पूर्वपदाधिकारीदेखि वर्तमान पदाधिकारी र मेडिकल कलेजका सञ्चालकसम्म अटाएका छन्

काठमाडौँ — शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ ।

प्रधानमन्त्रीपत्नीदेखि मेडिकल व्यापारीसम्म [बन्दसूचीसहित]

निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।

बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । बन्दसूचीको ७ नम्बरमा व्यापारी अनिल रुँगटाको नाम छ भने नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ ।

त्यस्तै ठगी मुद्दामा मुछिएका अर्का मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ । अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन् । उनीविरुद्ध ३ वर्षअघि ठगी मुद्दामा अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । पछि उनी सुटुक्क अदालतमा उपस्थित भएर १७ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

विद्रोह गर्ने शेखर पक्षको चेतावनी

त्यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन् ।

त्यसैगरी पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ । उनी गत महाधिवेशनमा मधेसी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी शेखरसमूहनिकट नै मानिन्छ । त्यसैगरी कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ । त्यस्तै नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा. केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा रहेको छ । त्यस्तै लेखा समितिका पूर्वसभापतिसमेत रहेका भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । आफूहरूले न्यायोचित सिट नपाए शेखर समूहले अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको चेतावनीसमेत दिएको छ ।

शेखर र महामन्त्री गगन थापाले गठबन्धनमा प्रत्यक्षतर्फ कांग्रेसले सय सिट लिनुपर्ने अडान सुरुदेखि राख्दै आएका छन् । शेखर यो अडानबाट अहिले पनि पछि हटेका छैनन् तर थापाले कांग्रेसले ९० भन्दा तल झेरेर सम्झौता नगर्न नेतृत्वलाई दबाब दिएका थिए । गठबन्धनमा आबद्ध माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कांग्रेसलाई ५० प्रतिशतभन्दा बढी सिट दिन तयार नभएपछि देउवाले त्यसैमा सहमति जनाउन सक्ने संकेत दिएकाले थापा बैठकमा अनुपस्थित हुन थालेका हुन् ।

हेर्नुहोस् प्रतिनिधिसभातर्फको बन्दसूची

प्रदेश १ को समानुपातिक सूची

मधेस प्रदेशको समानुपातिक सूची

वाग्मती प्रदेशको समानुपातिक सूची

गण्डकी प्रदेशको समानुपातिक सूची

लुम्बिनी प्रदेशको समानुपातिक सूची

कर्णाली प्रदेशको समानुपातिक सूची

सुदूरपश्चिम प्रदेशको समानुपातिक सूची

प्रकाशित : आश्विन ९, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?