हेलिकोप्टरमा आउँछन्, विपद्स्थल नपुगेरै फर्कन्छन्

मेनुका ढुंगाना

अछाम — गत भदौ ३१ को राति अछामका विभिन्न पालिकामा पहिरो खस्दा २२ जनाको मृत्यु भयो । एक जना अझैसम्म बेपत्ता छन् । एक दर्जनभन्दा बढी परिवार विस्थापित छन् । पहिरोले जनधनको ठूलो क्षति भएको सूचना पाएलगत्तै प्रदेश र संघीय सरकारका मन्त्रीहरू राहत वितरणका लागि भन्दै प्रभावित क्षेत्रमा हेलिकोप्टर चार्टर गरेर आए ।

हेलिकोप्टरमा आउँछन्, विपद्स्थल नपुगेरै फर्कन्छन्

प्रभावितहरू भने मन्त्री र नेता/कार्यकर्ताले शोकलाई राजनीतिक प्रभाव देखाउन प्रयोग गरेको गुनासो गरेका छन् । अहिले जिल्लामा कांग्रेस र कम्युनिस्ट पार्टीका कार्यकर्ताले पहिरोपीडितलाई राहत अभियान चलाइरहेका छन् ।

पहिरोपीडितलाई राहत दिन भन्दै संघीय सरकारको प्रतिनिधित्व गरेर श्रममन्त्री शेरबहादुर कुँवर र उनीसँगै सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री बलबहादुर सोडारी हेलिकोप्टरमा घटनास्थल गए । लगत्तै मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल पनि हेलिकोप्टर लिएर आए । तर, पीडितले राहत पाएको महसुस गरेका छैनन् । ‘पानी पर्न थालेपछि घर छोडेर अन्तै भाग्नुपर्ने अवस्था छ । त्रिपाल र अलिकति चामल पाएका छौं । बस्ने ठेगान नै नभएपछि त्रिपाल लिएर के गर्ने,’ ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाकी पहिरोपीडित नैनकला बुढाले भनिन्, ‘सबै आउँछन्, तपाईंहरूका लागि राहत ल्याउँछौं भन्छन् । पटक–पटक गाउँमा हेलिकोप्टर मात्रै आउँछ, राहत आउँदैन ।’ पहिरोको घटनापछि गाउँमा तीन पटक हेलिकोप्टर आए पनि आफूहरूले आवश्यक राहत नपाएको उनको गुनासो छ । ‘हाम्रो दुःख उस्तै छ । पानी पर्न थाले बालबच्चा च्यापेर घरबाट भाग्नुपर्छ,’ नैनकलाले भनिन् ।

आमनिर्वाचनको मुखमा भएको घटनामाथि दलका नेता/कार्यकर्ताले राजनीति गरेको ढुंगाचाल्नाकै पहिरोपीडित निर्मल बुढा बताउँछन् । ‘पहिरोबाट विस्थापित भएकाले राहत दिन भन्दै कांग्रेस, एमाले र माओवादीले पनि लाखौं रुपैयाँ राहत संकलन गरेको सुनिन्छ । घरबार छाडेर अर्काको घरमा बसेका पहिरोपीडित हामी हौं । खै त अहिलेसम्म हामीलाई राहत ?,’ उनले भने, ‘मन्त्रीहरू बेलाबेला आउँछन् । हेलिकोप्टर ल्यान्ड हुने ठाउँबाट एक पाइला अघि सर्दैनन् । पहिरो गएको ठाउँसम्म मन्त्री र अरू सरोकारवाला कोही पुगेका छैनन् ।’ वडा र गाउँपालिकाले भने अपनत्व दिइरहेको उनले बताए । हेलिकोप्टर चढेर गाउँ आउने जतिले आफ्नो राजनीतिक प्रभाव मात्रै देखाउन खोजेको उनको आरोप छ । ‘तीन/तीन पटक हेलिकोप्टर चढेर आउँदा लाग्ने खर्चले हामीलाई राहत दिए पनि हुन्थ्यो । अहिलेसम्म सडक अवरुद्ध छ । स्थानीय बजारमा एक किलो चामल पनि पाइँदैन । अब भोकमरी लाग्ने देखिन्छ,’ निर्मलले भने, ‘मन्त्रीहरू आउँछन् ५ मिनेटमा राहत दिन्छौं भनेर आश्वासन दिन्छन् । हाम्रा कुरै नसुनेरै जान्छन् । हामीले पीडा राख्ने ठाउँ नै पाएका छैनौं ।’

पहिरोपीडितका लागि भन्दै विभिन्न व्यक्ति, संघसंस्था र राजनीतिक दलले राहत संकलन गर्न थालेपछि एकद्वार प्रणालीबाट वितरणमा सहयोग गर्न सबैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । ‘राजनैतिक दल, संघसंस्था र व्यक्तिहरूले राहतका लागि चन्दा संकलन गरेको सूचना पाएपछि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरेर एकद्वार प्रणालीबाट जान अनुरोध गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म मनपरी राहत संकलन र वितरण गर्ने काम भने रोकिएको छैन ।’ प्रदेश र केन्द्र सरकारका मन्त्रीहरू जतिपटक आए पनि सरकारी प्रावधानअनुसार पाउने सबै सहयोग पीडितले सजिलै पाइरहेको उनको दाबी छ । कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोले ५ घर बगाएको थियो । १२ अहिले उच्च जोखिममा छन् ।

०७७ भदौ २ मा अछामको रामारोशनमा बाढीले १७ जनाको मृत्यु हुँदा पनि यसैगरी मन्त्रीको लस्कर लागेको थियो । संघीय सरकारका तत्कालीन गृहमन्त्री रामबहादुर थापा, सुदूरपश्चिम मुख्यमन्त्री भट्ट, तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा हेलिकोप्टरमा रामारोशन गाउँपालिकाको सैनीबजार पुगेका थिए । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा पैदलै पुगेका थिए । तर, बाढी गएको दुई वर्ष बित्दा पनि रामारोशनका बाढीपीडितले राहत पाएका छैनन् ।

रामारोशन–५ की मनसरा साउद नेताहरू हेलिकोप्टरमा आएर भाषण गरे पनि राहत नदिएको गुनासो गर्छिन् । त्यतिबेला उनको सैनीबजारमा रहेको लत्ताकपडाको पसल बगाएको थियो । श्रीमान्ले ३ वर्ष मलेसियामा बसेर ल्याएको कमाइ, बाख्रा र भैंसी बेचेको पैसाले व्यापार सुरु गरेकी थिइन् । पसल बगेपछि परेको पीरबाट उनी अझैसम्म तंग्रिन सकेकी छैनन् । ‘यो क्षेत्रमा सबैभन्दा ठूलो कपडाको पसल मेरै थियो । करिब ३५ लाख बढीको क्षति भयो । राहतको नाममा पाएको ३ थाल, २ कचौरा १ त्रिपाल, ५० किलो चामल र १२ वटा जस्तापाता मात्रै हो,’ उनले भनिन् । बाढीका बेला नेताहरू आएर आश्वासन दिए पनि अहिले सबैले भुलेको उनको गुनासो छ । ‘त्यो दिन ज्यान जोगियो । सबैभन्दा ठूलो कुरा त त्यही हो । तर बाँच्नेलाई त खान, बस्न चाहिन्छ । अहिले सबै रोजीरोटी गुम्यो । धनसम्पत्ति बग्यो । न राहत पाइयो । न कोही आफ्ना भए,’ उनले भनिन् । उक्त बाढीले सैनीबजारका धेरै महिला, वृद्धवृद्धा र केटाकेटीको मानसिक सन्तुलनमा असर परेको छ । ‘अहिले पनि आकाश गड्याङ्गुडुङ हुँदा केटाकेटी चिच्याउँछन्,’ उनले भनिन् ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?