कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विद्रोह गर्ने शेखर पक्षको चेतावनी

अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना
कुलचन्द्र न्यौपाने

काठमाडौँ — गठबन्धन दलबीच चुनावी तालमेल मिलाउन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटरको बैठकमा दिनरात जुटिरहेका बेला नेता शेखर कोइराला समूहले भेला डाकेरै पार्टीभित्र विद्रोह गर्ने चेतावनी दिएको छ ।

विद्रोह गर्ने शेखर पक्षको चेतावनी

शेखर समूहले शनिबार गरेको भेलाले बालुवाटारमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटमा समझदारी बनाउन बसेको बैठकसमेत तरंगित भएको थियो । बैठकले अझै सिट संख्या र निर्वाचन क्षेत्रमै सहमति जुटाउन सकेको छैन ।

समानुपातिक सूचीमा आफ्ना समूहका नेता तथा कार्यकर्तामाथि अन्याय गरिएको र प्रत्यक्षतर्फ उम्मेदवारी चयनमा समेत एकलौटी हुन सक्ने भन्दै शेखरपक्षीय नेताहरूले आन्दोलन र निर्वाचन बहिष्कारसम्मका योजना अघि सारेर नेतृत्वमाथि दबाब बढाएपछि गठबन्धनका अन्य दलका नेता झस्किएका छन् । कांग्रेसभित्रको समस्याले विद्रोह र असन्तुष्टि बढेमा गठबन्धनलाई असर गर्ने भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । शनिबारको भेलामा शेखर, उनीपक्षीय पदाधिकारी र शीर्ष नेताहरू भने सहभागी थिएनन् । भेला आयोजकमध्येका नेता जगदीशनरसिंह केसीले समूहको नेता र पदाधिकारी तथा पूर्वपदाधिकारीलाई नडाकिएको बताए । दोस्रो तहका नेताहरूले भेलामा अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षका योजना अघि सार्दै नेतृत्वलाई तत्काल सच्चिनका लागि दबाब दिएका छन् ।

‘चालीस प्रतिशत भागबन्डाको सूत्रधार, योजनाकार र पहिलो प्रयोगकर्ता स्वयं शेरबहादुर दाइ हो, हामी उहाँको पछि लागेका हौं, समानुपातिक उम्मेदवार छनोटमा अन्याय गरिएपछि बाध्य भएर हामीले चालीस प्रतिशत भागबन्डाको सुनिश्चितता खोजेका छौं,’ गुरु घिमिरेले भने, ‘हाम्रा समूहका नेताहरूलाई चालीस प्रतिशतको सम्मानजनक हिस्सा माग्न भन्छौं । नेतृत्वले दिन चाहेन भने

संसद्को टिकट छाडेर आउनुहोस्, शेरबहादुर दाइको समूह ठूलो छ । उहाँलाई पुगेको छैन । हामी कोही पनि चुनाव नलडौं तर कांग्रेसलाई सघाऔं भन्छौं । रूखमा भोट हाल्न लगाउँछौं तर हामीहरू कोही चुनाव लड्दैनौं । समूहबाट कोही नेता चुनाव लड्न जानुभयो भने विद्रोह गर्छौं ।’

पार्टी प्रवक्ता प्रकाशरण महतले भने समानुपातिक उम्मेदवार छनोटमा भागबन्डाको प्रस्ताव नआएको र असमझदारीसमेत नभएको बताए । ‘प्रदेश–प्रदेशमा शेखरजी र उहाँका प्रतिनिधिहरू बसेरै सहमतिबाट उम्मेदवार छनोट भएको हो । निर्वाचन आयोगमा सूची बुझाउन जाँदा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र महेन्द्र यादव जानुभएको हो । एकलौटी गरिएको छैन, कुरा राख्न निषेध गरेको भए एकलौटी भयो भन्न सकिन्थ्यो, त्यस्तो छैन,’ महतले भने, ‘बालुवाटारमा एउटा कुरा गर्ने र बाहिर चालीस प्रतिशतको कुरा गर्दा निर्वाचनको मुखमा राम्रो सन्देश जाँदैन । राम्रो मान्छेलाई यसको र उसको भनेर कुरा काट्नु पनि भएन ।’

शेखर र महामन्त्री गगन थापाले चुनावी तालमेलमा कांग्रेसलाई पचास प्रतिशतभन्दा कम संख्यामा खुम्च्याउन खोजिएको भन्दै असन्तुष्टि पोखिरहेका छन् । महामन्त्री गगन थापा समानुपातिक सूची बुझाएका दिनदेखि गठबन्धनको बैठकमा सहभागी हुनै छाडेका छन् । ‘समानुपातिक सूची बुझाउँदा पनि पार्टीभित्रको शक्ति सन्तुलनलाई ख्याल गरिएन र गठबन्धनबाट प्रतिनिधिसभातर्फको सिटमा धेरै तल झरेर सम्झौता गर्न खोजेपछि महामन्त्री असन्तुष्ट भएरै बैठकमा जान छाड्नुभएको हो,’ शेखरपक्षीय एक केन्द्रीय सदस्यले भने, ‘एकातिर गठबन्धन जोगाउने नाममा सिटमा लचिलो हुने तर पार्टीभित्र भने एकलौटी गर्ने मनोवृत्ति देखिएपछि विद्रोह हुने अवस्था बन्दै गएको छ ।’

शेखर र महामन्त्री थापाले सय सिटको अडान सुरुदेखि राख्दै आएका छन् । शेखर यो अडानबाट अहिले पनि पछि हटेका छैनन् तर थापाले कांग्रेसले ९० भन्दा तल झेरेर सम्झौता नगर्न नेतृत्वलाई दबाब दिएका थिए । गठबन्धनमा आबद्ध माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कांग्रेसलाई ५० प्रतिशतभन्दा बढी सिट दिन तयार नभएपछि देउवाले त्यसैमा सहमति जनाउन सक्ने संकेत दिएकाले थापा बैठकमा अनुपस्थित हुन थालेका हुन् ।

शनिबार भेला आयोजना गर्नेमध्येका नेता जगदीशनरसिंह केसीले गठबन्धनसँग जति पनि लचिलो हुने तर पार्टीभित्र इतर समूहप्रति कठोर बन्ने नेतृत्वको व्यवहारका कारण विद्रोहको स्थिति उत्पन्न भएको बताए ।

‘असोज ३ मा समानुपातिकतर्फको सूची एकलौटी रूपमा बुझाइयो । यही गतिमा जाने हो भने प्रदेश र संघमा पनि पार्टीभित्र त्याग र संघर्ष गरेका, योग्य, क्षमतावान् र लोकप्रियलाई उम्मेदवार नबनाई एकलौटी गर्ने सम्भावना देखियो, इतरपक्षलाई न्यून उम्मेदवार दिएर आफ्नो विरोधी समूहलाई समाप्त गर्ने नियत देखिएपछि हामी विरोधमा आएका हौं,’ केसीले भने, ‘सभापतिजीले गठबन्धनका चार दललाई दिनको १८ घण्टा समय दिन सक्ने तर पार्टीभित्रको फरक विचार समूहका नेता–कार्यकर्तालाई १८ मिनेट पनि दिन सक्नुहुन्न । गठबन्धन जोगाउन जति पनि लचिलो बन्न सक्नुहुन्छ तर पार्टीभित्रै एकता खोज्न चाहनुहुन्न ।’

उनले आइतबार बस्ने बैठकले नेतृत्वको कार्यशैलीको विरोधमा धर्ना वा अनशनको कार्यक्रम घोषणा गर्ने पनि बताए । अर्का नेता घिमिरेले भेलामा आमरण अनशन, धर्ना र विद्रोहसम्मको संघर्षका प्रस्तावहरू आएको बताए । समानुपातिकमा शेखर समूहले दस प्रतिशत हिस्सा पनि नपाएको उनले दाबी गरे । तर, संस्थापन पक्ष भने शेखर समूहलाई चालीस प्रतिशत हिस्सा दिने आधार नै नभएको बताउँछ ।

नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्राप्त गर्ने हिस्सा कतातिर जोड्ने भन्दै संस्थापनपक्षीय एक नेताले भने, ‘उहाँले मात्रै चालीस प्रतिशत खोजेको हो भने तर्कसंगत हुन्न । सबैको जोड्दा ४० प्रतिशत हाराहारीमा पुगेकै होला ।’

शेखरपक्षीय भेलामा प्रदेश १ बाट घिमिरे, मधेस प्रदेशबाट अजय द्विवेदी र तेजुलाल चौधरी, वाग्मती प्रदेशबाट केसी, गण्डकीबाट शोभा अधिकारी, लुम्बिनीबाट मनोजमणि आचार्य, कर्णालीबाट भूपेन्द्रजंग शाही र सुदूरपश्चिमबाट भरत खड्काले पार्टीभित्रको न्यायिक लडाइँका लागि संघर्षबाहेक विकल्प नभएको भन्दै आफ्नो समूहका शीर्ष नेताहरूलाई समेत यसै दिशामा अघि बढ्न दबाब दिने बताएका थिए ।

प्रकाशित : आश्विन ९, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?